६ जेष्ठ २०८१, आईतवार
दुई छोरीलाई विष दिएर आत्महत्या
  • काँचुली खबर

विष सेवनका कारण पश्चिम नवलपरासीको सरावल गाउँपालिका-५ धनगडवामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । ३५ वर्षीया अनिता चौधरीले बुधबार राति छोरीहरू १२ वर्षीया नेहा र १० वर्षीया हेमालाई विष पिलाएर आफूले पनि पिएको अनुसन्धानमा देखिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी राजु लामाले बताए । डीएसपी लामाका अनुसार उनीहरूको उपचारका क्रममा भैरहवा मेडिकल कलेजमा बिहीबार बिहान मृत्यु भएको हो ।

उनीहरूलाई सुरुमा पृथ्वीचन्द्र अस्पताल परासी लगिएकामा त्यहाँ उपचार हुन नसकेपछि भैरहवा पुर्‍याइएको थियो । बुधबार राति १० बजेपछि चिच्याएको सुनेपछि स्थानीय बासिन्दा उनीहरूको घरको छत हुँदै च्यानल गेटको ताला फोडेर कोठामा पुगेका थिए । स्थानीयले तीनै जनालाई छटपटाइरहेको अवस्थामा भेटेको प्रहरीले जनाएको छ । कोठामा दुईवटा गिलासमा पानीजस्तो तरल पदार्थ देखिएकाले त्यसमै विष राखेर छोरीहरूलाई दिएको हुन सक्ने प्रहरीको आशंका छ । उनीहरूले बान्ता गर्ने क्रममा १०-१२ वटा विषका ट्याब्लेट ओकलेको भेटिएको थियो ।

अनिताका पति जितेन्द्र वैदेशिक रोजगारीमा छन् । चौधरी दम्पतीका दुई छोरी मात्र थिए । जितेन्द्रका बुवाआमा र दुई भाइ छन् । उनले अंशबण्डा गर्न बुवाआमासँग माग गर्दै आएका थिए। उनी पाँच वर्षदेखि पत्नी र दुई छोरीसहित छुट्टै बस्दै आएको स्थानीय बताउँछन् । बाबुआमाका साथमा दुई भाइ बस्छन् ।

वडाध्यक्ष दिनेश सहनीले अनिताले पतिसँगको सल्लाहमै अदालतमा मुद्दा दिएर १२ कठ्ठा जग्गा अंश पाएको खुलाए । सोही जग्गामा जितेन्द्रले घर बनाएर परिवार राखेका थिए । अंश झगडाकै कारण भाइहरू र बाबुआमाको जितेन्द्रको घरमा आउजाउ छैन । ‘जितेन्द्र मिलनसार र सोझा व्यक्ति हुन् । पत्नी र छोरीहरूलाई राम्रैसँग हेर्दै आएका थिए’, वडाध्यक्ष सहनीले भने, ‘कसरी घटना भयो हामी पनि अचम्भित छौं ।’ स्थानीयका अनुसार तीन दिनअघि अनिता र उनका देवरबीच सामान्य भनाभन परेको थियो । ‘दिउँसो बाटोमा हिँड्दै गर्दा मसँग रहेका २ जना साथीलाई भाउजूले गाली गर्नुभयो । साथीलाई किन गाली गरेको भनेर सोध्दा उल्टै मसँग झगडा गर्नुभयो । त्यसपछि हामी बाटो लाग्यौं’, अनिताका देवरलाई उद्धृत गर्दै प्रहरी स्रोतले भन्यो । अन्नपूर्णमा समाचार छ ।

 

  • १६ माघ २०७७, शुक्रबार १७:१८ प्रकाशित
  • Nabintech