१३ बैशाख २०८१, बिहीबार
लघुकथा : ‘अनुदान’ !
  • काँचुली खबर

दिनेश खेतवारीमा लटरम्म फलेका तरकारीमा नै आफ्नो भविष्य देखिरहेको छ । सानो परिवार सुखी परिवार । छोरा र छोरी खुसीले स्कुल जान्छन् भने सरला खाना बोकेर बारीमा सघाउन आउँछिन् । दिनेशले दुई जना युवालाई रोजगारी समेत दिएको छ । करिब करिब चौध-पन्ध्र कठ्ठा बारीमा विभिन्न किसिमका तरकारीको फसल तयार भैरहेछन् । बुवाको अकालमै मृत्यु भए पश्चात् एक्लो छोरो दिनेशको पढाइ छुट्यो । उसले बाबुको बिंडो थाम्नु पर्ने भयो । पढ्ने मन हुँदा-हुँदै पनि बाबुको पेसा अङ्गाल्न बाध्य भयो । अहिले यसैलाई उसले जिवीकोपार्जनको बाटो बनायो ।
मन प्रसाद ‘सुनौला ताजा तरकारी फर्म’ को मालिक हो । कृषि कार्यालय र घरेलु कार्यालयको सहयोगमा तरकारी फर्म दर्ता गरेको थियो । उसको तरकारी बारी त थिएन तर कानूनी रुपमा आधिकारिक कृषक उहीँ थियो । प्लस टु पास गरि पढाइ छोडेर विभिन्न संघ संस्था चलाएर बस्थ्यो । ऊ निकै चतुर थियो ।
प्रदेश सरकारको कृषि तथा सहकारी मन्त्रालयले कृषि अनुदानका लागि प्रपोजल आह्वान गर्यो । मन प्रसादले फुलबुट्टा भरेर प्रपोजल दर्ता गरायो । वडा अध्यक्ष, मेयर तथा कृषि मन्त्री र कर्मचारीहरुसँग सेटिङ्ग मिलायो । उसको प्रपोजल स्वीकृत भयो । प्रदेश सरकारबाट पैंतिस लाख अनुदान पाउने भयो । तीन दिनपछि अनुगमन टोली आउने योजना बन्यो । दिनेशलाई बजार पठाउने प्रपञ्च रच्यो ।
मन्त्री तथा जनप्रतिनिधि र कर्मचारीको टोली स्थलगत अनुगमन गर्न आयो । मन प्रसादले दिनेशको तरकारी बारी देखायो । सबै खुसी भए । फोटो खिचे । सेल्फी हाने । मन प्रसादको उच्च प्रसंशा गरे । टोली फर्कियो ।

 

लघुकथा :  ‘संस्कार’ !


 

छविलाल खड्का
कोहलपुर

  • ११ माघ २०७७, आईतवार १८:०५ प्रकाशित
  • Nabintech