२३ श्रावण २०७९, सोमबार
नरकीय जिवन भोग्दै खाँ, डोरीमै बित्नेभो बाल्यकाल !
  • काँचुली खबर

बाँके | बालबालिका मनोरञ्जन चाहन्छन्, स्वतन्त्रता चाहन्छन् । त्यसमा पनि रोजाई अनुसारको क्रियाकलाप गर्न पाउँछन् उनीहरु । यहि भएर त बयस्कहरु पनि बालापना घरिघरि सम्झिन्छन् । तर बाँके जिल्लाको जानकि गाउँपालिका वडा नम्वर ४ साजदपुरका एक बालकको रोजाई त टाढाको कुरा भयो स्वतन्त्रतापूर्बक बाँच्न पाउने अधिकार समेतबाट उनी बञ्चित भईरहेका छन् ।

सामान्य मज्दुरी गरि घर खर्च टार्ने अकवाल खाँ र कलसुम खाँका ९ बर्षिय छोरा नजर खाँ हिडडुल गर्नेभएदेखिनैं पशु सरह बाँधिएका छन् । उनी बाँधिनुको एक मात्र कारण उनमा भएको अपाङ्गता हो ।

२०६६ मंसिर ५ गते जन्मिएका नजर जन्मजातनै अपाँगता भएका व्यक्ति हुन् । उनी न बोल्न सक्छन्, न त सुन्न नैं । २०७३ साउन १२ गते बौद्धिक अपाँगताको परिचयपत्र पाएका उनमा मानसिक समस्या समेत भएको घर परिवारको भनाईछ ।

आमा कलसुम खाँ का अनुसार, सानोमा छोराको उपचारका लागि बिभिन्न अस्पताल पुर्याएपनि सञ्चो नभएपछि उनलाई घरमैं बाँधेर राख्न थालिएको हो । आमा-बुवा मज्दुरी गर्न जाने, घरमा उनलाई रेखदेख गर्ने कोही नभएपछि घरबाट टाढा-टाढा गई समस्या गरिदिनेभएका कारण डोरीले बाँध्ने गरिएको छ ।

घर परिवारका अनुसार, उनी हिँड्ने भएदेखिनैं उनलाई बाँध्न थालिएको हो । नजरलाई दिउसो मात्र होईन, राती पनि बाँध्नुपर्छ नभएर भागेर कतै गईहाल्छ, आमा कलसुमले भनिन् ‘के  गर्ने बाध्यता छ हाम्रो । कहिले आफूसँग त कहिले छुट्टै खाटमा सुत्दा पनि बाँध्छौं ।’

सामान्य परिवारका उनीहरुको पहिलो सन्तान बाबु पनि नजर जस्तै अपाँगता थिए । डेढ बर्षको हुँदा उनको मृत्यु भयो । त्यसपछि जन्मिएकी छोरी ताहिदा अहिले ११ बर्षकि भईन् । उनी स्थानीय बिद्यालयमा कक्षा ४ अध्ययनरत छिन् । ६ बर्षको अर्को छोरा दिलसाद पनि पढ्न जान थालेकाछन् भने नजर भन्दा सानो छोरा गुल्जार नजर जस्तै समस्याबाट ग्रसित भएर २ बर्षमा बितेका थिए । एउटै प्रकृतिको समस्याबाट २ छोरा गुमाएका उनीहरुले सानो छोरा बचाउन घरका भैंसि, कुखुरा समेत बेच्नु प¥यो तर छोरा बचाउन सकेनन् ।

४ कठ्ठा मात्रै जमिन भएका उनीहरु मध्ये श्रीमान अकवाल ईट्टा भट्टामा दिउसो काम गर्न जान्छन् भने श्रीमती कलसुम पनि अरुको खेतमा काम गर्न जान्छिन् । १ छोरा र १ छोरी दिउसो पढ्न जान्छन्, अपाँगता भएका नजर दिउसो घर परिसरमा डोरीले बाँधिन्छन् । यहि परिवेशमा उनीहरुको घर चलिरहेकोछ ।

खुल्लै छोडेपछि यताउती हिँड्छ, छिमेकीको घरमा गएर बिगार गर्छ, नबाँधेर के गर्ने ? नजरकी आमा भन्छिन् , ‘न सुन्छ, न बोल्छ, के गरौं ? हामी समस्यामा छौं । आमा हुँ छोरालाई बाँध्नु पर्दा दुःख लाग्छ, दुःख मानेर के गर्ने ?’

छिमेकीको घरमा गएर सामान फालिदिने लगाएतका कार्य गरेपछि छिमेकीहरुका डरका कारण छोरालाई बाँध्ने गरिएको उनका वुवा अकवाल बताउँछन् । आमाको आग्रहमा नेपालगञ्ज स्थित मिलाप नामक गैससले एचआरडिसि लगाएतका संस्थामा उपचारका लागि लगेपनि मानसिक रुपमा समस्या भएकाले उपचार सम्भव नभएको संस्थाकी सहजकर्ता प्रेमा रोकायले बताईन् । उनका अनुसार, कलसुम संस्थाद्धारा स्थापित एकता समूहमा आवद्ध एकपछि उनको छोराको बारेमा थाहा भएको थियो । आमा घरमैं बस्न सक्ने भएपछि छोरालाई बाँध्न नपर्ने देखेर उनलाई सिलाई कटाई तालिम सिक्न पहल गरिदिएको रोकायले बताईन् । हाल कलसुम सिलाई कटाई तालिम सिकिरहेछिन् ।

प्रतिनिधि उनको घरमा जाँदा उनी डोरीमा बाँधिएको अवस्थामा थिए । उनलाई बाँध्नका लागि ठाउँ-ठाउँमा डोरीहरु राखिएका थिए । पशुहरुलाई बाँध्न प्रयोग हुने डोरी जस्तै उनलाई फरक-फरक ठाउँमा बाँध्ने गरिएकोछ । उनलाई खुला ठाउँमा बाँध्ने गरिएकोछ, जहाँ उनी माटोमैं सुत्ने, उठ्ने गर्दछन् । उनी भात, रोटी भन्दा बिस्कुट खान रुचाउँछन् ।

बाध्यताले बाँध्नु परेको बताउने आमा कलसुम दिउसो आफु घर नहुँदा पानी कसले दियो, खाजा कसले दियो भन्ने बिषयमा चिन्तामा हुने गरेको बताउँछिन् । तथापी उनका श्रीमान भने छोरा प्रति सकारात्मक नभएको बताईन्छ, आफुलाई श्रीमानले छोरालाई कतै लगेर छोड्देउ भन्ने गरेको घटना सम्झिन्छिन् ।  भन्छिन ‘आमा हुँ, आमाको मन कहाँ मान्छ ?’ घरमा भेटिएकि नजरकी हजुर आमा जैतुन आफुले नातीको रेखदेख गर्ने बताउँछिन् तथापी उनले नातीका कारण समस्या भएको र उनलाई कसैले लग्दिएको भए हुन्थ्यो भन्ने लागेको बताईन् । छोराको उपचार र रेखदेखका लागि सहयोग गरिदिन आमा कलसुमले सम्बद्धहरुलाई आग्रह गरेकि छिन् ।

यस बारे राष्ट्रिय अपाङ्ग महासँघ नेपालका मध्यपश्चिम अध्यक्ष भावुकजङ्ग थापाले उनको उपचारका लागि पहल गर्ने बताए ।

 

स्रोत : असलशासन

  • ४ असार २०७५, सोमबार २०:०४ प्रकाशित
  • Nabintech