१६ चैत्र २०८०, शुक्रबार
‘महिला नै मलाई प्रेम गर्छन्, यसमा गलत के छ ?’
  • काँचुली खबर

‘यौटा मान्छे मर्दा स्वास्नी विधवा हुन्छे र छोराले बरखी बार्छ
यौटा योद्धा मर्दा राष्ट्र विधवा हुन्छ र इतिहासले बरखी बार्छ’

जब–जब देशमा कुनै पनि कुनामा मदन भण्डारीको स्मृति दिवस मनाइन्छ, उनलाई सम्झेर माथिका दुई हरफ कसैले न कसैले गाउने गर्दछ । २०५० साल जेठ ३ गते मदन भण्डारीको देहान्त भए यता यो कविता मदनलाई सम्झने एउटा बिम्ब नै बनेको छ । गएको साता एमाले–माओवादी एकीकरणका सन्दर्भमा पनि यो कविताको चर्चा भयो, यद्यपि यसका रचनाकार बारे कसैले चासो राखेन । कतिपयले त यो कविता मदन भण्डारी स्वयंले रचना गरेका हुन् भन्नेसमेत ठाने ।

यसका रचनाकार हुन्, विप्लव प्रतीक । जो नेपाली कवि समाजमा बडो शालीन र मितव्ययी शब्दाकारका रूपमा चिनिन्छन् । ‘कम्युनिस्ट’ बाबुका ‘गैरकम्युनिस्ट’ छोरा विप्लव प्रतीकले यो कविता मदन भण्डारीको देहान्तको पीडामा २०५० जेठको दोस्रो साता कुनै साप्ताहिक पत्रिकामा छपाएका थिए । कविता मदन भण्डारीकै विषयमा भएकाले यो सानो टुक्रा उनकै तस्बिर मुन्तिर छापिन थाल्यो । समय बित्दै जाँदा मदन भण्डारी र यो टुक्रा कविता एक अर्काका पूरकजस्तै हुन थाले । जब जब मदनसँग जोडिएर यो कविताको टुक्रा छापिएको देखिन्छ, उनी आनन्दले मुस्कुराउँछन् ।

उसो त विप्लव प्रतीकको ‘हर रात सपनीमा ऐँठन हुन्छ, गाउँमा सायद पहिरो गयो कि’ गीत पनि अमर छ । दीप श्रेष्ठले गाएका सयौं गीतहरूमध्ये युट्युबमा यो गीत सर्वाधिक हेरिने–सुनिने गीत हो । १५ वर्षअघि यो गीत सार्वजनिक हुँदा एफएम रेडियोहरूमा पनि यो गीत नम्बर एकमा परेको थियो । उनी पुराना पुस्तामा मात्र होइन, नयाँ पुस्तामा पनि गीतकारका रूपमा लोकप्रिय छन् । नेपाली रकस्टार अभया सुब्बाको पछिल्लो एल्बम ‘नथन’का ८ गीतमध्ये ६ वटा गीत विप्लवले नै लेखेका हुन् । ती सबै गीत युवा पुस्ताका मुख–मुखमा झुण्डिएका छन् ।

‘नहारेको मान्छे’ कविता सङ्ग्रह र ‘अविजित’ उपन्यासका यी स्रष्टाको अंग्रेजी कविता सङ्ग्रह ‘चन्द्रमालाई चुम्बन गर्ने मान्छे’  निकै चर्चित छ । उक्त कविता सङ्ग्रह फ्रेन्च र स्पेनिस भाषामा पनि प्रकाशित छ । नेपाली भाषामा पनि अनूदित भइरहेको छ ।

यस्ता स्रष्टाको जीवन भने अनौठो छ । वर्षौंअघि वैवाहिक जीवनबाट सन्यास लिएका उनी एक्लै बस्छन् । यात्रा, मदिरा र स्त्रीका सौखिनका रूपमा कवि समाजमा नाम र बदनाम दुवै कमाएका छन् । ५५ वर्ष पुग्दा पनि २५ वर्षे आकर्षण बोकेर हिँड्ने विप्लवको चकलेटी अनुहार कुनै हिरोको भन्दा कम छैन । सात्विक योगी झैँ सेतो दारी र कपाल पालेका उनी दार्शनिक झैँ गफिन्छन् र बच्चा झैँ खुला रूपमा मुस्कुराउन सक्छन् । हत्तपत्त आफ्ना कुरा नखोल्ने यिनै अनौठा गीतकार, कवि र उपन्यासकार विप्लव प्रतीकले पहिलो पटक अनलाइनखबरकर्मी अश्विनी कोइरालासँग अन्तरंग कुराकानी गरेका छन् ।

तपाईंलाई कवि, गीतकार, उपन्यासकार अथवा के भनिदिँदा सजिलो लाग्छ ?

माथिका सबै शब्द एउटा स्रष्टाका लागि वाहियात हुन् । कुनै पनि मानिस मानिस मात्रै हो । उसलाई फुर्को जोड्नुपर्ने कुनै कारण छैन । म विप्लव प्रतीक मात्रै हुँ ।

प्रतीक त तपाईंको साहित्यिक नाम होला । अरु धेरै स्रष्टा झैँ यो नाम पछाडि कुनै कथा होला ?

मानिसलाई मानिसको पछि झुन्डिएको थर ९पुच्छर० किन यति प्यारो हो म बुझ्न सक्तिन । किनभने मेरो त्यो प्राक्टिस भएन । हामी समानताको कुरा गर्छौं भने मानिसको पछाडि झुन्डिएको थर वा जात जे भन्नुहोस्, त्यसले समान हुन दिँदैन । मािनसहरू ‘घर कहाँ, कुन थरी, बुबा के गर्नुहुन्छ ?’ भन्ने प्रश्नबाटै उसलाई मानिसबाट खुम्च्याएर अरू नै कुरा बनाइरहेका हुन्छन् । मैले पनि लामो समय यही प्रश्नको सामना गर्नुपर्‍यो । धन्य, मेरा बुबा कृष्णप्रसाद सर्वहाराले मलाई आफ्नो थर बताउनु भएन । (बताए पनि त्यो थरसँग मलाई नजिक हुन दिनु भएन ।) त्यति मात्र होइन, आफ्नो सर्वहारालाई पनि आफैसँग लिएर जानुभयो ।

यसैकारण लामो समय म मेरा साथीहरूको थर लिएर कहिले विप्लव खान भएँ, कहिले विप्लव श्रेष्ठ भएँ, कहिले विप्लव थापा भएँ । अन्त्यमा म आफैंले कक्षा ८ पुगेपछि प्रतीक राखेँ । त्यही नामबाट नागरिकता लिएपछि म पूर्ण रूपमा जातविहीन मानिस भएको छु ।

हरेक मानिसलाई आफ्नो जाति पुर्खाप्रति गौरवभाव पनि हुन्छ नि, होइन र ?

के को गौरवभाव रु तपाईंलाई लाग्ला, हामी नेपाली हौँ । गलत हुनुहुन्छ । हामी नेपाली होइनौँ । हाम्रा पुर्खा अफ्रिकाको कुनै जंगलमा बाँदर थिए । बिस्तारै मानिस भएर कता कता पुगे, हामी नेपाल आइपुग्यौँ । अथवा भनौँ, हाम्रा पुर्खा यता आए र हामी जन्मियौँ । खासमा हामी अफ्रिकी हौँ । मेरो बुबा भन्नुहुन्थ्यो, मानिसका दुई जात छन्– लोग्ने मानिस र स्वास्नी मानिस । अहिले समलिङ्गी अर्को जात थपिएको छ । त्यत्ति नै हो । खासमा मानिस मानिस हुनु नै काफी छ । पुच्छर झुन्ड्याउन उसलाई आवश्यक छैन । एक अर्काका लागि बोलाउन नामको आवश्यकता पर्न सक्छ, त्यत्ति हो । नारायण गोपालजस्तो महान स्रष्टालाई ‘गुरुवाचार्य’ किन चाहियो रु प्रेमध्वजलाई ‘प्रधान’ किन चाहियो ।

लक्ष्मीप्रसादलाई ‘देवकोटा’ किन चाहियो रु उनीहरूको नाम नै काफी छ । हामी किन उनीहरूलाई जबर्जस्ती कुनै पुच्छर झुन्ड्याइदिन्छौँ  ?

यो विद्रोही स्वभाव कसरी विकास भयो भन्ने लाग्छ ?

बुबाको स्वभाव आएको हुनसक्छ । कवि पनि उहाँकै कारण भएको हुँ । उहाँ मलाई कविता लेख्न प्रोत्साहन गर्नुहुन्थ्यो । उहाँ आफै दुई–चार पुस्तकको लेखक । उहाँले नै मलाई रेडियो नेपालको बाल कार्यक्रममा रचना सुनाउन प्रोत्साहन गर्नुहुन्थ्यो । तर, यही रेडियो नेपालमा जाँदा एउटा यस्तो घटना घट्यो, जसले मभित्रको कविको हत्या भयो ।

कस्तो घटना ?

हाम्रो घरमा, सायद बुबा कम्युनिस्ट पार्टीको सदस्य भएका कारण, ‘सोभियत साहित्य’ भन्ने पत्रिका आउँथ्यो । ८ वर्षको थिएँ । त्यहिताका रेडियो नेपालमा रचना सुनाउन जाने बेला भइसक्यो तर मसँग कुनै रचना थिएन । अचानक त्यो पत्रिकाको नयाँ अङ्क मेरो हातमा पर्‍यो । पल्टाउँदा त्यसभित्र छन्दमा लेखिएको एउटा कविता देखेँ । कविताभित्रको आठ लाइन कविता सारेँ र पत्रिका कसैले नभेट्ने गरी गायब पारेँ । यसरी सारेको रचना रेडियो नेपालमा गएर सगर्व आफ्नो नाममा वाचन गरेँ । मैले त काम मात्रै टारेको थिएँ तर सञ्चालकद्वय निरोधराज पाण्डे र धना लामाले मलाई अँगालो मारेर स्वाबासी दिए । यस्तो उत्कृष्ट रचना गरेकामा जुरुक्कै बोके । जब रेडियो नेपालबाट बाहिर आएँ, मलाई त्यो घटनाले भत्भती पोल्न थाल्यो । म लाजले घर जानै सकिन । भद्रकाली मन्दिर र सिंहदरवार फन्को मार्दामार्दै रात पर्‍यो । यो घटनाले यति पीडा दियो कि मैले कविता लेख्नै सकिन ।

तर आज चर्चित कवि हुनुहुन्छ । कसरी ?

म १६ वर्षको हुँदा केही पारिवारिक दुर्घटना भए । बुबाले पुस्तक छाप्न घर नै बन्धकी राख्नुभएको कुरा पनि थाहा भयो । एउटा सुन्दर फूलबारीजस्तो मेरो घर तहसनहस भयो । यी विभिन्न कारणले म द्रवित भएँ । यस्तो बेलामा कविताका फोहोरा नै छुट्न थाले । कस्तो भने लगातार ८ वर्ष मैले दैनिक दुई–चारवटा कविता–गीत लेख्न थालेछु । यो बेला हजारौं कविता लेखियो होला । आज सम्झँदा लाग्छ, ती आठ वर्ष मेरा कवि जीवनका प्रारम्भिक दिन थिए । तीमध्ये धेरै उत्कृष्ट थिएनन् तर आजको विप्लव बनाउन त्यसले राम्रै काम गरेका थिए ।

तर जुन गतिमा तपाईंका कृति आउनु पथ्र्यो, ती आएका छैनन् । नेपालीमा जम्मा एउटा उपन्यास र एउटा कविता सङ्ग्रह मात्र प्रकाशनमा छन् । अंग्रेजीमा अर्को एउटा सङ्ग्रह पनि छ । त्यो पुस्तक फ्रेन्च र स्पेनिसमा अनुवाद भएका छन् । हो, तर यो उमेरसम्म पुग्दा यति थोरै किन ?

लेखक भएपछि धेरै पुस्तक निकाल्नुपर्छ भन्नेमा मलाई विश्वास छैन । थप दुईवटा कविता सङ्ग्रह निकाल्छु होला । त्यो पनि निश्चित कालखण्डमा लेखिएका कविताहरू तयार भएर बसेका हुनाले त्यस्तो लागेको हो । मलाई कुनै पुस्तक निकाल्नभन्दा लेखिएको कुरालाई राम्रो बनाउन बढी समय लाग्छ । जस्तो ‘अविजित’कै कुरा गरौँ । त्यो उपन्यास सन् २००८ मा लेख्न सुरु गरेँ । पूरा गर्न ५ वर्ष लाग्यो । तर नौ पटक त्यस पुस्तकमा परिभ्रमण गरेँ । यसरी परिभ्रमण गर्न ९पुनर्लेखन चाहिँ नभनौं क्यारे० थप ५ वर्ष लाग्यो । मलाई बिन्दास भएर हिँड्न नै फुर्सद छैन । कुन बेला लेख्नू ?

बिन्दासको कुरा आइहाल्यो । यस्तो स्वभाव कसरी जन्मियो होला ?

सायद कवि भएर होला ।

कवि त अरू पनि धेरै छन् नि ?

तर विप्लव प्रतीक म मात्रै छु ।

तपाईं अमेरिका पुग्नुभयो । तपाईंका भाइबहिनी र साथीहरू पनि उतै हुनुहुन्छ । तर तपाईं एक्लै फर्कनुभयो, एक्लै बस्नुहुन्छ, किन होला ?

सालमन नामको या यस्तै माछाको एउटा जात हुन्छ । त्यो माछा कुनै खोलाबाट बग्दै बग्दै समुद्रसम्म पुग्छ । जब समुद्रको गहिराइ नापिसक्छ, ऊ पुनः खोलाको विपरीत धारसँग लड्दै लड्दै पुरानै ठाउँमा मर्न आइपुग्छ । सायद म पनि त्यस्तै माछा हुँ, जो नेपालमा मर्न चाहन्छु । यसको अर्थ म मर्न मात्र नेपाल आएको होइन, ४-५ वर्ष अमेरिकारूपी समुद्रमा डुबुल्की मारेर हेरेँ, अमेरिकालाई चिनेँ, त्यसपछि फर्किहालेँ । त्यो देशमा मैले जे जे गर्नसक्थेँ, गरिसकेँ । जे जे लिनसक्थेँ, लिएँ । त्योभन्दा बढ्ता मैले पाउनुपर्ने कुरा केही थिएन ।

मैले सुनेअनुसार अमेरिकामा तपाईंले एक दिन पनि काम नगरी घुम्नु भयो रे । एउटा नेपालीलाई यसो गर्न सम्भव छ ?

सम्भव रहेछ र त घुमेँ । नत्र एउटा सहरबाट अर्को सहरसम्म नपुगी मर्ने धेरै अमेरिकी भेटिन्छन् त्यहाँ । नेपालीको त कुरै छाडिदिऊँ । मेरो विचारमा मानिसमा इच्छाशक्ति हुनुपर्छ । उसले जेसुकै पनि गर्न सक्छ । मैले पनि दुई चार महिना काम नगरेको होइन । त्यो पनि लेखन र अनुवादको । बाँकी समय यसरी घुमेँ, सायद कुनै पनि नेपाली म जसरी घुम्दैन । वा घुम्ने इच्छा राख्दैन । लरीमा, रेलमा, हवाइजहाजमा र आफैं ड्राइभिङ गरेर सबै तरिकाले अमेरिकालाई चाखेँ ।

लरीमा कसरी घुम्नुभयो ? यसरी घुम्नुको कारण के थियो ?

अमेरिकामा १८ चक्के मालवाहक लरी असाध्यै अग्लो हुन्छ । त्यसमा चढेर रोडमा हेर्दा गाडीहरू, मान्छेहरू स–साना देखिन्छन् । चिलजस्तै माथिबाट तलका गतिविधि नियाल्न सकिन्छ । म अमेरिकाका हरेक सहर, गाउँलाई चिलजस्तै माथिबाट हेर्न चाहन्थेँ, त्यसका लागि मैले एउटा लरी ड्राइभरसमक्ष आफ्नो इच्छा जाहेर गरेँ । उसले म कवि भएको थाहा पाएपछि सँगै हिँड्ने अनुमति दियो । त्यो लरीमा २ महिनासम्म लगातार हामीले २० हजार किलोमिटर भन्दा बढी यात्रा गर्‍यौं । उक्त लरी करिब करिब अमेरिकाका सबै राज्य र सहरहरूमा पुग्यो । यसबाट अमेरिकाको जनजीवन राम्रैसँग अनुभव गर्न पाएँ ।

गाडीमा आफैँ ड्राइभिङ गरेर घुम्नुको कारण के थियो ?

लरीले सम्पूर्ण अमेरिकाका सहरहरू त घुमायो तर मैले मेक्सिकोको बोर्डरदेखि क्यानडाको बोर्डरसम्म अमेरिकालाई वारपार गर्ने चाहना पूरा गर्न भने सकिन । खासमा लरीजस्तो अग्लोबाट होइन, भुइँको नजिकबाट पनि म अमेरिकालाई हेर्न चाहन्थेँ । त्यति मात्र होइन, मेक्सिकोदेखि क्यानडासम्मको यात्रालाई अरूको इसारामा होइन, आफ्नै मनमौजीमा पार गर्न चाहन्थेँ । त्यसका लागि आफंैले ड्राइभिङ गर्नुबाहेक अर्को विकल्प थिएन ।

रेलको यात्रा कति गर्नुभयो । अरू यात्राभन्दा रेलको कति फरक हुँदो रहेछ ?

रेलमा यात्रा गर्दा म भुइँमै छु जस्तो अनुभव हुन्छ । किनभने यसको प्रत्यक्ष सम्बन्ध लिकसँग हुन्छ । जुन साह्रै होचो हुन्छ । रेलमा यात्रा गर्दा म लाउन्जमा यात्रा गर्छु । लाउन्जमा दुवैतिर सिसा मात्रै लगाइने भएकाले बढी खुल्ला र प्राकृतिक हुन्छ । रुस, जर्मनी र चीनका रेल यात्रा पनि मैले यसैगरी गरेको छु । अमेरिकाको मोन्टोनोबाहेक सबै राज्य र सहरसम्म मैले रेल यात्रा गरेको छु । र, तपाईंलाई थाहै होला, यसरी रेलमा यात्रा गर्नु हवाइजहाजमा यात्रा गर्नुभन्दा महँगो हुन्छ ।

तपाईंजस्तो बेरोजगार मानिसले अमेरिकाको यस्तो महँगो यात्रा कसरी गर्नुभयो भन्ने प्रश्न मलाई मात्रै होइन, यो अन्तरर्वार्ता पढ्नेहरूको मनमा आउँदो हो । कतिपयले झुटो कुरा गर्‍यो भन्लान् ?

मैले अरूलाई बखान गरौंला भनेर त्योे यात्रा गरेको थिइन । अरूले पत्याउनु पर्छ भन्ने आग्रह पनि छैन । तर एउटा कुराचाहिँ सत्य हो, मानिसले इच्छा गरेपछि असम्भव पनि सम्भव हुँदो रहेछ । लरीको यात्रा गर्दा त्यसका ड्राइभरको साथ लिएँ । उनी एक्ला थिए, मलाई साथ लैजान गाह्रो भएन । मेक्सिकोदेखि क्यानडासम्म अमेरिकाको वारपार यात्रा गर्दा साथीको गाडी लिएँ । उनले सहयोग गरे । ट्रेनको यात्रा गर्नुअघि मैले चिट्ठा किन्न सुरु गरेँ । भाग्यवश धेरैपटक मलाई साना ठूला चिट्ठा परिरहे । अमेरिकाभरि नेपाली छरिएका छन्, त्यसमध्ये धेरैले मेरो स्वभाव चिनेर सहायोग गरे । खाना बस्न पैसा लागेन । कतिपय अवस्थामा पैसा अभाव हुँदा नेपालको साथी उत्तम कार्कीलाई फोन गरेँ । मेरो मूर्खतामा हाँस्दै उसले पैसा हालिदिन्थ्यो । यसरी असम्भव कुरा सम्भव भयो । त्यति मात्रै होइन, अमेरिकाका केही पुग्नैपर्ने भनिएका ठाउँहरूमा टेन्ट गाडेर दुई-चार दिन पनि बिताएँ, जस्तो ग्रान्ड क्यानियन ।

नेपाल पनि करिब करिब घुमिसक्नु भयो, अब यात्राको इच्छा मर्‍यो कि बाँकी छ ?

बाँकी नै छ । पैसा जम्मा गर्न नसकेर मात्र रोकिएको हुँ । खासमा म यसै वर्ष अफ्रिकाको यात्रामा जाँदै छु । अफ्रिका सायद एक–दुई वर्षमा घुमिसक्छु होला । त्यसपछि युरोप
घुम्ने इच्छा छ । मेरो यात्रा अरूजस्तै भुइँ टेक्ने मात्रै हुँदैन । जहाँ पुग्छु, म त्यहाँका सबै कुरा पूर्ण रूपमा पिउन चाहन्छु । पचाउन चाहन्छु, ताकि लेखनमा त्यसको सुगन्ध उतार्न सकियोस् । पूर्ण रूपमा त्यसको मात लागोस् ।

यात्राबाहेक तपाईं रक्सीको सौखिनका रूपमा चिनिनुहुन्छ । रक्सीको लत कसरी बस्यो ?

काठमाडौंमा जन्मे–हुर्केकाले गरिब भए पनि नेवारी संगतमा परेर रक्सी चाखियो । मलाई याद छ, १६ वर्षमा प्रवेश गर्दै जाँदा साथीको विवाहमा मैले यसरी पिएछु, भोलिपल्ट पनि म उभिन नसक्ने भएछु । त्यो बुबाले थाहा पाउनुभयो ।

बुबाले भन्नुभयो, ‘म रक्सी नखा भन्दिन तर आफ्नो कमाइले खा ।’ बुबाको यो वचन राख्न जुन दिनदेखि कमाउन थालेँ, त्यही दिनदेखि पिउन थालेँ । खासमा के भइदियो भने बुबाले यसो भनेको केही महिनामै मेरो जागीर भयो । र, मसँगै काम गर्ने साथी नामुद जँड्याहा निस्कियो । उसलाई साथ दिँदादिँदै पियक्कड भइयो ।

सबैभन्दा बढी कतिसम्म पिउनुभयो ?

६ लिटरसम्म ह्वीस्की पिएको सम्झना छ । ३ बजे अपरान्हदेखि राति दश बजेसम्म लगातार पिएको पनि सम्झना छ । ४० को दशकपछि भने पिउने क्रम घटाउँदै लगेँ र हाफ बोतलमा आएर अड्किएँ । सन् १९९२ मा आएपछि त्यसलाई तीन पेगमा सीमित गरेँ ।

तपाईं संसारका महँगोमध्ये मानिने रक्सी पिउने व्यक्तिमा मानिनुहुन्छ । एउटा बेरोजगार कविले यति महँगो रक्सी कसरी जुटाउनसक्छ ?

खासमा मेरो शरीरले बोतलका बोतल रक्सी खपत गर्न थालेपछि त्यसलाई घटाउने जुक्तिका रूपमा महँगो रक्सी खान सुरु गरेको हुँ । आखिर ३ पेग खाँदा र ३ बोतल खाँदा मेरो शरीरमा खासै भिन्नता आउँदैन । यही कारण बरु पिउँदिन तर आफ्नो ब्राण्ड घटाउँदिन । सन् १९९४ यता मैले रेगुलर स्कच सुरु गरेको हुँ । यो पनि सस्तो भयो जस्तो लागेपछि सन् २००८ देखि मैले आफूलाई प्रिमियम ब्राण्डमा बढोत्तरी गरेँ । जहाँसम्म बेरोजगार कविलाई महँगो रक्सी कसरी जुट्छ भन्ने कुरा छ, त्यो अमेरिका घुमेजस्तै हो । मान्छेले चाहने हो भने भने जसरी पनि जुट्दो रहेछ ।

तपाईं महिलाप्रेमी कविका रूपमा बदनाम हुनुहुन्छ । यस विषयमा केही भन्न मन लागेको छ ?

म महिलाप्रेमी होइन, महिलाचाहिँ मेरा प्रेमी हुन् । महिलाले मलाई माया गर्छन् । स्नेह गर्छन् । आफ्नो बनाउँदा खुसी मान्छन् । मैले उहाँहरूको खुसीको सम्मान गरेको मात्रै हुँ । कसैलाई प्रेम गर्नु, प्रेम दिनु कसरी गलत हुन्छ रु बेकारमा मेरो बदनाम ९यदि बदनामी भएको हो भने० गर्ने प्रयास भएको रहेछ ।

धेरै महिलाको संगत गर्दा अनुभव गरेको कुरा के हो ? एक महिलाभन्दा अर्को महिला कति फरक हुँदा रहेछन् ?

खासमा महिलाको जात एउटै हो । उनीहरू फरक छैनन् । फरक केमा मात्रै छ भने उनीहरूको बाल्यकाल कस्तो थियो, उनीहरूको लालनपालन कसरी भयो, उनीहरूले कस्तो संस्कार पाए, उनीहरूको शिक्षा र जीवनको दृष्टिकोण कसरी बन्यो रु यी सबै कुराले एक महिलाभन्दा अर्को महिला भिन्न हुँदा रहेछन् । मैले अनुभव गरेको कुरा के भने महिलाहरू गहिरा ज्ञान दिने पुस्तक हुन् । हरेक महिलाले मलाई एउटा नयाँ ज्ञान दिएर जाने गरेका छन् । केटीहरूको संगतमा मैले ज्ञान बाहेक अज्ञान केही पाइन ।

वैवाहिक जीवनका बारेमा केही भन्न मन लागेको छ ?

मैले आफ्नो वैवाहिक जीवन बचाउन सकिन । सायद कवि हुनुको मूल्य चुकाएँ ।

तपाईंले नेपाली महिलाहरूको पनि धेरै संगत गर्नुभयो र विदेशी महिलाको पनि । यी दुईबीच के फरक हुुँदो रहेछ ?

विदेशी महिलाहरूमा पुरुषलाई आफ्नो वशमा राख्ने बानी हुन्छ । उनीहरू पुरुषमाथि हावी हुन्छन् । नेपाली महिला भने पुरुषलाई पुरुष हुन दिन्छन् । उनीहरू विश्वास र प्रेम हुन्जेल पुरुषको सात खुन पनि माफ गर्न सक्छन् । जुन दिन विश्वास टुट्छ, चण्डीको रूप धारण गर्छन् ।

तपाईंले जस्तो जीवन बाँच्नुभयो वा बाँचिरहनुभएको छ । त्यसप्रति कुनै गुनासो वा पश्चात्ताप छ ?

पटक्कै छैन । जसरी गुलाबले काँडा बोक्नु परेकामा गुनासो गर्दैन, ठीक त्यसैगरी विप्लव प्रतीक केही कमजोरी बोकेरै पनि फूल नै हो । मलाई मेरो जीवनप्रति कुनै पश्चात्ताप छैन र ‘महान् हुँ’ भनेर गौरवबोध पनि छैन । जीवनमा जे अघि आउँछ, उत्कृष्ट गर्ने प्रयास गर्ने हो । बाँकी कुरा सोच्ने फुर्सद कसलाई छ र ?

नेपाली साहित्य, संगीत र कला क्षेत्रमा उत्कृष्ट व्यक्तिहरूको संगत गर्न रुचाउनुहुन्छ । इतिहासले गौरव गर्ने कलाकार–साहित्यकार हामीसँग छन् भन्ने ठान्नुुहुन्छ ?

अवश्य छन् । न्ह्यु बज्राचार्य नेपाली संगीतका धरोहर हुन् । सुगम संगीतमा दीप श्रेष्ठजस्तो प्रतिभा जन्मन गाह्रो छ । दीप श्रेष्ठले चाहने हो भने अहिलेसम्म नभएको तरंग ल्याउन सक्छन् । अभया सुब्बा उस्तै प्रतिभाशाली रक स्टार हुन् । तर यस्ता प्रतिभालाई पब्लिकले चिन्दैन किनभने राज्यले उनीहरूलाई चिनेको छैन । मिडियाले त झन् चिन्ने कुरा पनि आउँदैन । विदेशमा साहित्य, कला संगीतमा कलम चलाउनेलाई उत्कृष्ट मानिन्छ, नेपालमा राजनीतिक विषयमा लेख्ने लेखक–पत्रकारलाई ठूलो मानिन्छ । यी सबै कारणले हामीसँग प्रतिभा छन् तर फ्रस्टेसनमा छन् । हामीले उनीहरूको उपस्थिति महसुस गर्न नसकेको मात्रै हो । किनभने उनीहरूको प्रतिभा चिन्ने, उनीहरूको बारेमा लेखिदिने र उनीहरूलाई काम गर्ने वातावरण बनाइदिने मानिस छैनन् ।

तपाईंलाई पनि एक्लै बस्दा दिक्क लाग्दो हो । घरमा एक्लै बस्दा भविष्यको चिन्ता अथवा डर लाग्दैन ?

साधक एक्लै बस्नु राम्रो हो । डराउँछ भने ऊ साधक होइन । म खाना बनाउँछु र तरकारीसँग कुरा गर्छु । ‘ए तरकारी, तँलाई काटेर पकाउन विवश छु नरिसा है’ भनेर फकाउँछु । उसलाई भन्छु, ‘हेर प्यारी, बाहिर राम्रो खान पाइँदैन, रेष्टुराँको मूल्य बढ्यो तर गुणस्तर बढेन ।’ संगीत सुन्छु र एक्लै नाच्छु । जहाँसम्म भविष्यको कुरा छ, जुन बेला जे हुनु छ, त्यो भएरै छाड्छ । त्यसमा डराउनु पर्ने कुरा के छ रु जुन दिन जीवन र पैसाको अभाव होला, देखा जाला । अहिलेसम्म पैसा र जीवनका लागि कसैसँग भिख मागिएन, भोलि पनि मागिँदैन । सायद यही कुरा बुझेर होला, ‘युनिभर्स’ ९ब्रम्हाण्ड०ले आजसम्म पनि मेरो इच्छा पूरा गरिरहेको छ र भोलि पनि पक्कै पूरा गर्छ ।

 

सभार : अनलाईन खबर

  • १७ जेष्ठ २०७५, बिहीबार २०:०४ प्रकाशित
  • Nabintech