१५ बैशाख २०८१, शनिबार
अन्तर्जातीय विवाह गर्ने फिल्मी जोडीहरु
  • काँचुली खबर

पुरातनवादी सोचका कारण अन्तर्जातीय विवाह अझै पनि नेपाली समाजका लागि पाच्य विषय बनेको छैन । विशिष्ट श्रेणीमा पुगेका र उपल्ला वर्गले पनि अन्तर्जातीय विवाहलाई सहर्ष स्वीकार्न सकिरहेको अवस्था छैन । तर, नेपाली फिल्मी तथा रंग क्षेत्रमा केही त्यस्ता जोडीहरु छन्, जसले अन्तर्जातीय विवाहलाई मज्जाले दौडाइरहेका छन् ।

समाजले बनाएको कुरिती र अन्धविश्वासलाई तोड्दै अन्तर्जातीय विवाह गर्ने जोडी धेरै भने छैनन । यस्तो विवाहमा पारिवारिक विचलन, सामाजिक बहिस्कार, मानसिक टर्चर लगायतको सम्भावना हुन्छ । तर, अन्तर्जातीय विवाहलाई सहजै स्वीकारेर अघि बढेका केही त्यस्ता जोडी छन्, जो समाजका लागि आर्दश जोडीको रुपमा स्थापित छन् ।

करिष्माले फिल्म खेल्न सुरु गर्दा आफ्नो थर केसी लेख्थिन् । तर, फिल्मी क्षेत्रमै आएपछि करिष्माले विनोद मानन्धरसँग विवाह गरिन् । करिष्मा क्षेत्री हुन् भने विनोद नेवार । करिष्माको फिल्मी करियर विनोदसँग विवाह भएपछि नै गजबसँग अघि बढेको हो । आफ्नो फिल्मी करियरको सुरुमै विनोदसँग दाम्पत्य जीवन कायम गरेर दुई अघि बढे । उनीहरुबाट सन्तानका रुपमा छोरी कविताको जन्म भयो । यो जोडीबीच कहिलकाँही हुने मतभेद बाहिर आउने गरेको छ । तर, संयमित विनोद र करिष्माले सानोतिनो मतभेदमा अलग्गिने अप्रिय निर्णय भने कहिल्यै लिएनन् । अब त उनीहरुकी छोरी पनि फिल्ममा डेब्यु गर्दैछिन् । त्यसैले अन्तर्जातीय विवाह गर्ने यो फिल्मी जोडी सफल छ ।

अभिनेता राजेश हमालको विवाह पनि अन्तर्जातीय नै भन्दा हुन्छ । मधु भट्टराईसँग विवाह गरेका हमाल क्षेत्री हुन् भने मधु बाहुनी । दुवैले करिब डेढ दशकको चिनजानलाई विवाहमा परिणत गरेका थिए ।

सन् २००० की मिस नेपाल हुन् उषा खड्गी । उनको विवाह सञ्चारकर्मी जीपी तिमल्सिनासँग भएको छ । उनीहरुको विवाह पनि अन्तर्जातीय हो । रौतहटको एक बाहुन परिवारमा जन्मिएका जीपीले नेवार परिवारकी उषासँग लगनगाँठो कसे । प्रेमलाई विवाहमा परिणत गर्न यो जोडीलाई जात नामको बनावटी पर्खालले छेकेन ।
सञ्चारकर्म गर्दा गर्दै यो जोडीबीच प्रेम झांगिएको थियो । तर, विवाहका लागि सवाल थियो जात । तर, उनीहरुले त्यसलाई नकारे र विवाह गरे । अन्तर्जातीय विवाह नगर्न परिवारबाट आएको दबावलाई झेल्दै उनीरुले दाम्पत्य जीवनलाई अघि बढाए । उनीहरुका अहिले दुई सन्तान छन् । यो जोडी पनि अन्तर्जातीय विवाह गरेर सुखी जीवन जिउने कोटीमा पर्छ ।

अन्तर्जातीय विवाह गर्ने नायक हुन् भुवन केसी । उनले पहिलो विवाह पनि नेवार समुदायकी विजया मल्लसँग गरेका थिए । तर, त्यो सम्बन्ध कानुनी रुपमा अन्त्य भइसकेको छ । दोस्रो विवाह पनि उनको अन्तरजातीय नै भयो । नायिका सुस्मिता केसीसँगैको अन्तर्जातीय वैवाहिक जीवन पनि जीवनको अनन्त कालसम्म टिकेन । सुस्मिता तामाङ समुदायकी हुन् भने भुवन क्षेत्री । यो जोडीले पनि विवाहको समयमा जातलाई कुनै महत्व दिएन । विवाहपछि उनीहरुबाट अनमोल केसीको जन्म भयो । तर, कालान्तरमा यो जोडी पनि सँगै बस्न सकेन । उनीहरु अहिले डिर्भोस गरेर छुट्टिएका छन् । उनीहरुका पुत्र अनमोल भने अहिले फिल्म क्षेत्रका उज्ज्वल नक्षत्रको रुपमा उदाएका छन् ।

यसकुमार पनि फिल्मी क्षेत्रमा अन्तर्जातीय विवाह गर्न आँट गर्ने अर्का सेलिब्रेटी हुन् । सर्लाही घर भएका यस कुमारको विवाह रीना खड्गी शाहीसँग भएको छ । संयोग नै मान्नुपर्छ जातभात विरुद्ध सशक्त गीत गाएर चर्चा कमाएका यसको प्रेम नेवार समुदायकी युवतीसँगै बस्यो ।

बागबजारमा फस्टाएको यसकुमारको प्रेमलाई पनि जातको नाममा समाजले खडा गरेको बन्धनहरुले छेक्न सकेन । विद्रोह गर्दै यो जोडीले विवाह गर्‍यो । परिवारले विवाहका लागि सहमति नदिएपछि उनीरुले भागी विवाह गरेका थिए । तर, समयक्रममा यसले दुवै परिवारलाई यो विवाहमा सहमत गराइछाडे । अहिले यो जोडी पनि सुखद् दाम्पत्य जीवन अघि बढाउँदैछ । उनीहरुको छोरा अब हुर्किसकेका छन् ।

नायक अनुप बराल र नायिका दिया मास्के पनि अन्तर्जातीय विवाह गर्ने अर्को जोडी हो । लामो समयसम्मको प्रेमलाई उनीहरुले ३ वर्षअघि विवाहमा परिणत गरेका थिए । यो जोडीलाई विवाह गर्न परिवारको रोकतोक
थिएन । पारिवारिक सहमति मै उनीहरुले लगनगाँठो कसेका हुन् । अनुप बाहुन समुदायका हुन् भने दिया
नेवार । रंगमञ्चलाई आधार बनाएर फिल्म क्षेत्रमा आएको यो जोडी पनि सुखद रुपमा पारिवारिक जीवन अघि बढाउँदैछ ।

नायिका पुजा परियार पनि अन्तर्जातीय विवाह गर्ने सूचीमा छिन् । उनको सुरज चन्दसँगको अन्तर्जातीय वैवाहिक जीवनले लामो यात्रा तय गर्न सकेन । पुजा चन्द नामले चिनिएकी यि नायिका अहिले राजु लामासँग विवाह बन्धनमा बाँधिएकी छिन् । उनले दोस्रो विवाह तामाङ समुदायका अमेरिका निवासीसँग गरिन् । उनले दुवै विवाह अन्तर्जातीय नै गरिन् ।

यसरी अन्तर्जातीय विवाह गर्ने अर्का नायक तथा गायक हुन् सत्यराज आचार्य । उनले पहिलो श्रीमतिको देहवसानपछि अनिता थापालाई भित्र्याएका छन् । अनिता मगर समुदायकी हुन् भने सत्यराज बाहुन
समुदायका । यो पनि विवाह जात हेरेर गर्ने हैन भन्ने दरिलो सन्देश दिने जोडी हो ।

नायिका मेलीना मानन्धर र नायक मुकेश ढकाल पनि अन्तर्जातीय विवाह गर्ने अर्को जोडी हो । नेवार समुदायकी मेलिना र बाहुन समुदायका मुकेशबीच प्रेम सम्बन्ध थियो । उनीहरुले आफ्नो प्रेमलाई विवाहमा परिणत गराउन जातले रोकेन । उनीहरुबाट एक सन्तान जन्मिसकेको छ । यो पनि सुखी अन्तर्जातीय जोडी हो ।

दिबंगत भएका नायक श्रीकृष्ण श्रेष्ठले पनि अन्तरजातीय विवाह गरेका थिए । नायिका श्वेता खड्का र श्रकृष्णले अन्तरजातीय प्रेम विवाह गरेका थिए । कहाँ भेटिएला फिल्म निर्माणका क्रममा नजिकिएको यो जोडीलाई जातले एक हुन रोकेन ।
श्रीकृष्ण नेवार र श्वेता क्षेत्री समुदायकी हुन् । २०७१ श्रावण २४ गते श्रीकृष्णको दुखद् निधन भयो । विवाहको लामो समय नहुँदै उनीहरुलाई दैवले अलग्गाए । अहिले श्वेता फेरि फिल्म निर्माणमा फर्किएकी छिन् । उनी आफ्नै बिजनेसमा पनि व्यस्त छिन् ।

यसरी अन्तर्जातीय विवाह गर्ने अर्की फिल्मकर्मी हुन् निशा अधिकारी । बाहुन समुदायकी निशाले शरद भेषवाकरसँग विवाह गरेकी हुन् । मारवाडी समुदायका शरदसँग लामो समयको प्रेमपछि उनले विवाह गरिन् । शरद चर्चित नेपाली क्रिकेटर हुन् । हालै उनीहरुको सन्तानको जन्म भएको छ ।

नायिका जेनिशा मोक्तानले विवाहका लागि जातको केटा हेरिनन् उनले युवा व्यवसायी डिकेश मल्होत्रासँग विवाह गरेकी छिन् । हालै उनीहरुलाई सन्तान लाभ भएको छ । डिकेश मारवाडी समुदायका व्यवसायी हुन् भने जेनिशा तामाङ समुदायकी हुन् ।

  • १४ जेष्ठ २०७५, सोमबार १३:०६ प्रकाशित
  • Nabintech