७ जेष्ठ २०८१, सोमबार
घुम्ति शौचालय अब नेपालगन्जमा
  • काँचुली खबर

नेपालगन्ज – नेपालगन्जमा पर्याप्त सार्वजनीक शौचालयको नहुँदा पैदल यात्रुलाई सकस हुने गरेको थियो  । सार्वजनिक शौचालय नहुँदा स्थानीय र आगन्तुकले सास्ती खेप्दै आएका थिए । अब भने नेपालगन्ज शहरमा सार्वजनीक शौचालयको समस्या हट्ने भएको छ । 

नेपालगन्ज उपमहानगरपालिकाले रु.५९ लाखको लागतमा चार वटा घुम्ती सौचालय ल्याएसँगै सार्वजनीक शौचालयको समस्या हट्ने देखिएको हो । यसको सञ्चालन कसरी गर्ने भन्ने निर्णय भने भइनसकेको उपमहानगरपालिकाका सूचना अधिकारी शरद पौडेलले बताए । ‘अहिले नै कसरी सञ्चालन गर्ने भन्ने कार्ययोजना बनाइसकेका छैनौं,’ उनले भने, ‘भर्खरै मात्र खरिद गरेर ल्याएका छौं । नगर कार्यपालिकाको बैठकले केहीदिनमै निर्णय गरेर यसको सञ्चालनका विषयमा निर्णय गर्नेछ ।’ 

उनका अनुसार सार्वजनिक शौचालय नभएका तथा बढि भीड हुने क्षेत्रमा घुम्ती शौचालय राखिनेछ । ‘शौचालयको समस्यालाई व्यवस्थित ढंगले समाधान गर्न आवश्यकता हेरेर उपमहानगरपालिकाले थप शौचालय खरिद गर्ने योजना छ,’ सूचना अधिकारी पौडेलले भने । सार्वजनिक सौचालय नहुँदा किनमेल गर्न आउने र यात्रा गर्ने यात्रुहरुका लागि घुम्ती सौचालय प्रभावकारी हुने देखिएको छ । सार्वजनीक शौचालय नहुँदा दिसापिसाव गर्ने समस्याको अन्त्य गर्न नेपालगन्जमा पहिलो पटक घुम्ती शौचालय सञ्चालनमा ल्याइएको हो ।

घुम्ती शौचालय एक ठाउँबाट अर्को ठाउँमा सहजैै लैजान सकिन्छ । मानिसहरुको भीड भएका बेला शौचालयको अभावमा खुला ठाउँमा शौच गर्नुपर्ने बाध्यता हट्ने सूचना अधिकारी पौडेलले बताए । सौचालयबाट संकलीत मलमुत्रलाई प्राङगारीक मल बनाएर प्रयोग गरिने योजना रहेको पौडेलले जानकारी दिए  ।

  • १ मंसिर २०७५, शनिबार १४:१६ प्रकाशित
  • Nabintech