१७ बैशाख २०८१, सोमबार
भाइटीकाको उत्तम साइत ११ बजेर ५५ मिनेटमा
  • काँचुली खबर

काठमाडौं- नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरेको छ । समितिको आज बसेको बैठकले यही कात्तिक २३ गते बिहान ११ बजेर ५५ मिनेटमा भाइटीकाको साइत उत्तम हुने निर्णय गरेको समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिनुभयो । समितिले शुभ बेलाको साइत दिएको जनाइएको छ ।

यस वर्ष यमपञ्चक अर्थात् तिहार कात्तिक १९ गतेदेखि शुरुभएको छ । कात्तिक १९ गते कार्तिक कृष्ण त्रयोदशीका दिन काग तिहार तथा आयुर्वेदका प्रवत्र्तक धनवन्तरि जयन्ती र यसै दिन भाण्ड त्रयोदशी पर्व पनि मनाईयो । कात्तिक २० गते कुकुर तिहार र नरक चतुर्दशी मनाईयो । काग र कुकुरलाई यमदूतका रुपमा मानिने गरिएको छ ।

कात्तिक २१ गते कार्तिक कृष्ण औँशीका दिन लक्ष्मीपूजा गरिन्छ । यस दिन बेलुकी दीपमालिका गरेपछि लक्ष्मीको विधिपूर्वक आराधना गरिन्छ । कुल परम्परानुसार कसैले लक्ष्मीपूजाको दिन बिहान पनि गाई पूजा गर्ने गरेका छन् । कात्तिक २२ गते कार्तिक शुक्ल प्रतिपदाका दिन बिहीबार गोरु, कृषक र गोवद्र्धन पूजा हुन्छ । यस दिन वर्षभर हलो जोत्ने हलिको समेत पूजा गर्ने संस्कृति छ ।

कार्तिक शुक्ल द्वितीयाका दिन कात्तिक २३ गते भाइटीका परेको अध्यक्ष गौतमले बताउनुभयो । तिहारको मुख्य दिन दिदीबहिनीले दाजुभाइको दीर्घायु, सुख शान्तिको कामना गरी अष्ट चिरञ्जीवी, यमराज, यमुना एवं बलि राजाको पूजा गरी त्यसको प्रसाद लगाइदिने चलन छ ।

  • २२ कार्तिक २०७५, बिहीबार ११:५१ प्रकाशित
  • Nabintech