२ जेष्ठ २०८१, बुधबार
महोत्तरीमा भूत भगाउन ‘भूत मेला’ सुरु
  • काँचुली खबर

महोत्तरी-  महोत्तरीको औरही नगरपालिका स्थित सोनामाई शक्तिपीठमा मंगलबारदेखि भूत मेला सुरु भएको छ । औरही नगरपालिका ७ मा अवस्थित सोनामाई मन्दिर परापूर्व कालदेखि नै भूतमेलाको लागि प्रख्यात छ । हरेक वर्ष वडादशैको सप्तमीदेखि सोनामाईमा लाग्ने भूतमेला यसवर्ष पनि मंगलबारदेखि सुरु भएको हो ।

वडा दशैंको सप्तमीदेखि बिजयादशमीको दिनसम्म चल्ने यस भूतमेलामा हजारौ पीडित र दर्शनार्थीहरुको भीड लाग्ने गर्दछ । भूत प्रेत, कथित बोक्सा बोक्सी र दुष्ट आत्माले सताइएका हजारौं पीडितहरु प्रत्येक वर्ष यस मेलामा आउने बताइन्छ भने सोनामाईको असिम कृपाले यहाँबाट निको भएर जाने गरेको जनविश्वास छ ।

वर्षौदेखि भूत, पिसाच, कालो जादुटुना र कथित बोक्साबोक्सीको कुचक्रमा परेर जीवन मृत्युको दोसाधमा परेकाहरु सोनामाईको सीमाक्षेत्रमा आउने बित्तिकै को कसबाट सताइको भन्ने आफै भन्ने गरेको पुजारी नवल झाले बताए ।

उनका अनुसार देवीको शक्तिले सीमाक्षेत्रमा खुट्टा टेक्ने बेलादेखि नै लड्दै-पर्दै, रुँदै हाँस्दै र विभिन्न गतिविधिका साथ खेल्दै देवी दरबारसम्म पुग्ने गर्दछिन् । दरबारमा पुगेका पीडितहरु माताको दृष्टिपरेपछि निको भई आ-आफ्ना घर र्फकने गरेको पुजारी झाको भनाइ छ ।

सप्तमीदेखि बिजयादशमीसम्म चल्ने यस मेलामा महोत्तरी, सर्लाही, धनुषा, सिरहा, रौतहटलगायत नेपालका हेटौडा देखि भारतका पटना शहरसम्मका हजारौ पीडित महिला र पुरुष पुग्ने गरेको अर्को पुजारी झगरु झाको भनाइ छ ।

यता महिला अधिकारकर्मीहरुले भने २१ औं शताव्दीमा समेत भूत, बोक्सी लाग्ने विश्वास गर्दा मधेशमा महिलाहरु बढी पिडित हुने गरेको बताउने गरेका छन् ।

वि.स.०५८ साल साउन ३० गते महोत्तरीको सिमरदहीमा बोक्सीको आरोपमा मरनीदेवीमाथि भएको अमानवीय घटनाले महोत्तरीलगायत देश विदेशमा समेत चर्चा पाएको थियो । यस्ता भूतप्रेत जस्तो अन्धबिश्वासमा लाग्दा समाजमा भूत मेला र यस्तो घटना हुने गरेको महिला अधिकारकर्मीहरुको भनाइ छ ।

  • ३० आश्विन २०७५, मंगलवार १४:१९ प्रकाशित
  • Nabintech