२ जेष्ठ २०८१, बुधबार
जिल्ला स्तरीय जुनियर तेक्वान्दो प्रतियोगिता सुरु
  • काँचुली खबर

नेपाल तेक्वान्दो संघ बाँकेको आयोजनामा दोस्रो बृहत जिल्ला स्तरीय जुनियर तेक्वान्दो प्रतियोगिता सुरु भएको छ । कोहलपुरको खुल्ला मैदानमा आईतबारदेखि सुरु भएको प्रतियोगिताको कोहलपुर नगरपालिकाका मेयर लुटबहादुर रावतले उद्घाटन गरेका छन ।
सोमबारसम्म संचालन हुने प्रतियोगितामा जिल्लाका २ सय ५० बढि खेलाडीहरुले सहभागीता जनाएको नेपाल तेक्वान्दो संघ बाँकेका सदस्य नरबहादुर सुनारले जानकारी दिए ।
प्रतियोगिताको उद्घाटन गर्दै नगरपालिकाका प्रमुख रावतले खेलकुद क्षेत्रको बिकास र बिस्तारमा कोहलपुर नगरपालिका सचेत रहेको बताए । राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका खेलाडीहरु जन्माईसकेको कोहलपुरले आगामी दिनमा समेत सक्षम र दक्ष खेलाडी उत्पादन गर्नुपर्ने भन्दै रावतले त्यसकालागि कोहलपुर नगरपालिका सधैं तत्पर रहेको बताए ।
आफ्नो सिप र दक्षतालाई सदुपयोग गरी नगरका हरेक बालबालिकालाई खेलकुदको मार्गमा डोर्याउन र खेलकुदको हबका रुपमा कोहलपुरलाई बिकास गराउन खेल क्षेत्रका विज्ञहरुलाई रावतले अनुरोध समेत गरेका छन ।


कार्यक्रममा बोल्दै नेपाल तेक्वान्दो संघका केन्द्रिय सदस्य तथा बाँके जिल्ला तालिम तथा प्रशिक्षण विभाग ईन्चार्ज श्रीमान थापाले आत्मरक्षाकालागि समेत तेक्वान्दो खेल प्रभावकारी हुने बताए । बलात्कार जस्ता जघन्य अपराधिक क्रियाकलापलाई कम गर्न तेक्वान्दो खेल प्रभावकारी हुने भन्दै थापाले हरेक बालवालिकाहरुलाई आत्मरक्षा तालिम दिन आवश्यक रहेको जिकिर गरे ।
कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्रबहादुर अधिकारीले खेल क्षेत्रको विकासकालागि आफु प्रतिवद्ध रहेको बताए । उनले अन्य क्षेत्रजस्तै खेलकुद क्षेत्रलाई समेत राष्ट्रले विशेष चासोका साथ हेर्नुपर्ने धारणा राखेका थिए ।
नेपाल तेक्वान्दो संघ बाँके शाखाका अध्यक्ष नेत्र बहादुर थापाको सभापतीत्वमा संचालन गरिएको कार्यक्रममा सहभागी खेलाडीहरुले प्रतिस्पर्धाका अलावा आप्mनो खेल कौशल समेत प्रदर्शन गरेका थिए ।

  • २८ आश्विन २०७५, आईतवार १८:५२ प्रकाशित
  • Nabintech