जिल्ला प्रहरी कार्यालय बर्दियाको थुनुवा कक्षमा रहेका एक ब्यक्ति बिहिबार विहान अचेत अवस्थामा भेटिएका छन् । नेपाल सरकारका उप प्रधानमन्त्री एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवलाई कालो झण्डा देखाएको आरोपमा बर्दियाको गुलरियामा भाद्र ७ गते पक्राउ परेका स्वतन्त्र मधेश गठबन्धनका ४ जना कार्यकर्ता मध्यका एक जना थुनुवा कक्षमै अचेत अवस्थामा फेला परेका हुन ।
थुना कक्षमा अचेत अवस्थामा भेटिएका बाँकेको पिप्रहवा घर भएका राम मनोहर यादवलाई बर्दिया प्रहरीले तत्काल उपचारका लागि जिल्ला अस्पताल गुलरियामा भर्ना गरे पनि उपचार सम्भाव नभए पछि थप उपचारका लागि भेरी अञ्चल अस्पताल नेपालगंजमा भर्ना गरिएको छ ।
भेरी अञ्चल अस्पतालका मेडिकल सुपरीटेण्डन डाक्टर प्रकाश थापाले अचेत अवस्थामा रहेका यादवको शरीरमा एक्कासी देखिएको समस्याको पहिचानका लागि तत्काल एमआईआर गर्नुपर्ने र त्यसकालागि आईसीयूमा राख्नुपर्ने बताए । यादवको अवस्था चिन्ता जनक रहेको थापाले जानकारी दिए ।
यसैबिच मानव अधिकारका पक्षमा वकालत गर्दै आएको तराई मानव अधिकार रक्षक संजाल (थर्ड एलायन्स) उप प्रादेशीक कार्यालय नेपालगंजका प्रमुख आलम खान भेरी अञ्चल अस्पतालमा पुगी घटनाको बारेमा जानकारी लिएका छन ।
अचेत अवस्थामा रहेकका यादवलाई भेट्न अस्पताल पुगेका थर्ड एलायन्सका क्षेत्रिय प्रमुख खानले मानसिक वा शारीरिक रुपमा बिरामी परेका थुनुवा वा कैदहरुलाई सरकारी चिकित्सकद्धारा उपचार गराउनु पर्ने नियम भएको भन्दै उपचारमा लाग्ने सम्पूर्ण खर्च राज्यले नै व्यहोर्नु पर्ने बताए ।
भेरी अञ्चल अस्पतालको आईसीयू खाली नभएकोले शिक्षण अस्पताल नेपालगंजमा रिफर गरिए पनि उपचारका क्रममा यादवको मृत्यु भएमा त्यसको जिम्मेवारी परिवारले नै लिनु पर्ने भन्दै प्रहरीले अनावश्यक दवाव दिएको खानले आरोप लगाएका छन । उनले तत्काल आवश्यक उपचारकालागि ब्यवस्था मिलाउन समेत आग्रह गरेका छन ।
खानलेँले थुनुवाहरुको स्वास्थ्य प्रति गम्भीर हुन सम्बन्धीत पक्ष सँग अपिल समेत गरेका छन ।
१४ भाद्र २०७५, बिहीबार १८:३६ प्रकाशित