तान्त्रिकबाटै प्रहरी यसरी ठगिएपछि……..
  • काँचुली खबर

माला लगाएका छन्। पहेंलो कपडा टाउकोमा बेरेका छन्। हेर्दा नै तान्त्रिकजस्ता। औंठी र त्यसको पत्थरसँगै भगवानको साना मूर्ति बोकेका छन्।

नेपालगन्जमा डुलिरहेका भारतीय ३ जना जादुगरी व्यक्तिको भेट प्रहरी जवान सुरेन्द्र चन्दसँग भयो।

भिक्षा माग्ने हिसाबले उनीहरू रोकिए। प्रहरी जवानले १० रूपियाँ निकालेर दिए। ३ जनामध्ये दिल्लीका दीपक महावतले समाते।

बाराबंकीका पवन र सुपली महावतसँगै रहेका दीपकले प्रहरी जवानलाई उनले दिएको १० रूपियाँ मुठीमा कस्सेर समात्न लगाए। चन्दले उनले भनेको जसरी १० रूपियाँमा मुठीमा कस्सेर समाते।

त्यसपछि चन्दलाई छातीमा हात राख्न लगाए। त्यो पनि गरे र छातीमै हात राखेर तिमीलाई मन पर्ने देवताको नाम लिउ भने।

चन्दले भगवान ‘शिव’ को नाम लिए। त्यसपछि मुठी खोल्न लगाए। मुठी खोल्दा त १० रूपियाँ होइन, हातमा सानो शिवको मूर्ति थियो। प्रहरी जवान अचम्ममा परे। त्यसपछि दीपकले भने, ‘तिमीले घरमा शिवको ठूलो मूर्ति राखेर आजीवन पूजा गर्नु।’

यति भनेर ३ जना आफ्नो बाटो लागे। प्रहरी जवान चन्दको आँखा हातको औंलामा पर्यो। औंलामा त सुनको औंठी नै थिएन। दौडिएर ती व्यक्तिलाई खोज्न निस्के।

अलिकति टाढा पुगेका ३ जना भारतीयलाई चन्दले समाते। अलिअलि कुटे। अनि जिल्ला प्रहरी कार्यालय पुर्याए।

जिप्रकामा भारतीयले नाटक नै गरे। हामीले लगेकै छैनौं भन्दै दीपक रोए। प्रहरी जवान चन्दले पनि ढाँटेको जस्तो देखिएन। प्रहरी अनुसन्धान अधिकृत छक्क परेका छन्।

‘भारतीयले लगेको छैनौं भन्छन्। चन्दले यिनीहरूले लगेका छन् भन्छन्। दुवैलाई राखेर छलफल गराउँदै छौं’ मुद्दाफाँटका इन्चार्ज रणबहादुर विष्टले भने ।

चन्दका अनुसार ९ हजार ७ सयमा किनेको सुनको औंठी उनीहरूले गायब बनाइदिएका छन्। दुवै पक्षलाई जिप्रकामा राखेर अबेलासम्म छलफल गराइएको छ।

भारतबाट औंठी र पत्थर तथा भगवानका साना मूर्ति बोकेर आउने यस्ता बाबा नामधारीले नेपालीलाई ठग्ने गर्दछन्। उनीहरू प्रत्येकसँग एक-एक प्याकेट औंठी र पत्थर थियो।

भारतबाट हात हेराउने, यस्ता औंठी र पत्थर बेच्ने, गहना सफा गरिदिने, घोडाको टापको औंठी भन्दै बेच्न आउनेहरूले नेपालीलाई ठग्ने गरेका घटना बेलाबेलामा आउने गर्दछ।

साभार : नेपाल समाचारपत्र

  • २९ श्रावण २०७५, मंगलवार १३:१३ प्रकाशित
  • Nabintech