२६ असोज, नेपालगन्ज । नेपालगन्जको रात सधैँ रंगीन रहन्छ । दिनभरको भीडभाड, बजारको कोलाहल थामिएपछि बसपार्क वरिपरि भने अर्को संसार बाँचिरहेको हुन्छ, ‘जहाँ कानुनको आँखाले देख्न नसक्ने धेरै गतिविधि चलिरहेका हुन्छन् ।’ यही संसारभित्रको यथार्थ बुझ्ने एउटा साहसिक प्रयास थियो, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख तथा प्रहरी उपरीक्षक (एसपी) अंगुर जिसीको रातको छड्के अभियान ।
ती रात उनी कुनै ठूलो फौज लिएर होइन, सादा पोसाकमा एकजना (प्रहरी नायब निरीक्षक) सईसहित निस्किएका थिए । उनको रातो पिलेट गाडी बिस्तारै बसपार्कतिर गुड्दै थियो । सहरका अधिकांश बत्तीहरू निभिसकेका थिए, तर बसपार्क नजिकको हल्का निलोरातो बत्तीमा भने जीवन अझै जागिरहेको देखिन्थ्यो । गाडी रोकियो । केही क्षणमै दुईजना युवती गाडीको ढोका नजिक आइपुगिन् । ती युवतीहरूको आँखामा परिपक्वताभन्दा बढी संघर्षको रेखा देखिन्थ्यो । उनीहरूले सहज स्वरमा सोधिन्, ‘जाने हो ?’ कहाँ ? ‘मात्र पाँच सय ।’
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
एकछिनका लागि एसपी जिसी अचम्ममा परे । आफ्नो परिचय खुलाउने समय थिएन । उनले हल्का मुस्कानका साथ भने, ‘हामी अरु पनि छौं साथीहरू ।’ युवतीहरू पनि नबुझ्ने होइनन्, उनीहरूले थपिन्, ‘हुन्छ, अरूलाई पनि बोलाउँछु ।’ त्यसपछि एसपी जिसीले गाडीको ढोका खोल्दै भने, ‘पैसा छैन ।’ त्यो रातको त्यो संवाद त्यत्तिमै सकियो, तर त्यसले जसरी उनलाई झस्कायो, त्यसले नेपालगन्जको बसपार्क क्षेत्रबारे उनको बुझाइ नै परिवर्तन गरिदियो । प्रहरीका रिपोर्टहरू र तथ्यांकले नदेखाएको कुरो उनले आफ्नै आँखाले देखें । केही समयपछि उनले यौन कारोबार, लागूऔषध र अस्वाभाविक गतिविधि भइरहेका ठाउँहरूको सूक्ष्म अनुगमन गर्न थाले ।
केही दिनमै उनले गुप्त अनुसन्धान सुरु गरे । प्रहरीले पहिले पनि त्यस्ता ठाउँहरूमा छापा हानेका थिए, तर यसपटक कुरा फरक थियो, ‘मुख्य अधिकारी आफैं मैदानमा थिए ।’ उनले गाडीमा यात्रु बनेर हिँड्दा, सडकमा हिँड्दा, क्याफे र होटेल छेउछाउमा हेरिरहेका थिए, कसरी रातमा अपराधको व्यापार बाँचिरहेको छ । बिहीबार राति, केही साता लामो तयारीपछि, एसपी जिसीले आफ्नो टोलीलाई संकेत दिए । नेपालगन्जका विभिन्न चार क्षेत्रबाट संकास्पद स्थानहरूमा एकसाथ प्रहरी परिचालन भयो । नेपालगन्जको मिलन कटेज, भेरी कर्णाली होटेल, रिभरसाइड र दँगाली होटेलमा छापा मार्दा ३१ महिला र १४ पुरुषलाई प्रहरीले नियन्त्रणमा लियो । पक्राउ पर्नेमा आठजना भारतीय युवकसमेत छन् । प्रहरीका अनुसार होटेल तथा रेस्टुरेन्ट सञ्चालकसमेत नियन्त्रणमा छन् । ती होटेल तथा रेस्टुरेन्टमा अनैतिक गतिविधि भइरहेको अवस्थामा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो ।
कसैले गरिबी, कसैले पारिवारिक समस्या, कसैले दलालको प्रलोभनका कारण त्यस संसारमा पुगेका थिए । प्रहरी प्रमुख जिसीका लागि त्यो रात एक किसिमको खुला किताब भयो । उनले पछि भने, ‘कसैको पीडा र अपराधको जालबीच सिमाना यति धमिलो छ कि त्यसलाई बुझ्न मान्छेले आफैं त्यहीँ पुग्नुपर्छ ।’ बसपार्क क्षेत्रको समस्या पुरानो हो । भारतसँगको खुला सीमाका कारण अवैध कारोबार र यौन व्यापार यहाँ सजिलै फैलिए । बिचौलिया समूहहरूले आर्थिकरूपले कमजोर महिलाहरूलाई प्रयोग गर्न थाले । तर प्रहरीको निगरानी सीमित हुँदा समस्या मौलाउँदै गएको थियो । त्यसैले एसपी जिसीले अपनाएको ‘मैदानमै जानु, आँखा खुलाएर हेर्नु’ शैली प्रभावकारी सावित भयो । अभियानपछि प्रहरीले बसपार्क वरिपरिका होटेल र सवारी व्यवस्थापनमा पनि कडाइ गर्यो । राति ९ बजेपछि संकास्पद व्यक्तिहरूको गतिविधि नियन्त्रण गर्न ‘मोबाइल पेट्रोलिङ’ बढाइयो । होटेल व्यवसायीहरूसँग सहमति गरेर ग्राहकको परिचय अनिवार्य गर्ने नियम लागू गरियो ।
तर, यो मात्र सुरुवात थियो । एसपी जिसीले त्यसपछि पनि सादा पोसाकमा बारम्बार निरीक्षण गर्ने क्रम जारी राखे । कहिले टेम्पोमा यात्रु बनेर, कहिले चिया पसलमा साधारण नागरिकको रूपमा । उनले बुझ्न खोजेका थिए, नेपालगन्जको रात किन असुरक्षित बन्दै गएको छ । नेपालगन्जका नागरिकहरूले पनि भिन्न वातावरण महसुस गर्न थालेका छन् । रातको समयमा हुने अनावश्यक भीड घटेको छ, होटेल क्षेत्र नियमनमा आएको छ । यद्यपि, समस्या पूरै अन्त्य भएको छैन, तर एसपी जिसीले दिएको सन्देश स्पष्ट छ, ‘प्रहरीको आँखाले मात्र होइन, मनले पनि अपराध बुझ्नुपर्छ ।’ त्यो रात, जब उनले यौनकर्मीको सोधिएको ‘जाने हो रु’ भन्ने प्रश्न सुने, त्यो सामान्य संवाद थिएन । त्यो संवादले एउटा प्रणालीको नांगो यथार्थ खोलेको थियो जहाँ राज्य र समाजको नजरभन्दा पर, बेथितिहरू खुला रूपमा बाँचिरहेका थिए ।
आज पनि नेपालगन्जको बसपार्क क्षेत्र रात परेपछि जाग्छ । तर, त्यो रातपछि प्रहरी पनि त्यहीँको अँध्यारोमा उज्यालो लिएर निस्किन सिकेको छ । एसपी जिसीको सादा पोसाकको त्यो यात्रा केवल एउटा छड्के मात्र होइन त्यो अपराधविरुद्धको सन्देश थियो, कि प्रहरी जब नागरिक बन्ने हिम्मत गर्छ, तब अपराधीहरू डराउन थाल्छन् । र, नेपालगन्जको रात अब पहिले जस्तो छैन । त्यो रातदेखि, बसपार्कका अँध्यारो कुनामा पनि प्रहरीको नजरले प्रकाश खोज्न थालेको छ ।
एसपी जिसी जिल्लामा आएसँगै रातभरि सादा पोसाकमा छड्के निस्किन्छन् र योजना बनाइ अपराधमा संलग्नलाई नियन्त्रणमा लिने गरेका छन् । ‘म यहाँ कुर्सीमा बस्न मात्र आएको होइन,’ उनले भने, ‘नागरिकलाई प्रहरी छ है भन्ने सन्देश दिन पनि आएको हुँ ।’
नागरिक दैनिकबाट
२६ आश्विन २०८२, आईतवार १५:०७ प्रकाशित