सांसद पुन : छोरीलाई संसारमा ल्याईन, आफू बिदा भइन्
  • काँचुली खबर

१५ भदौ, नेपालगन्ज । एक वर्षअघि बिहे गरेकी नेकपा एमालेकी समानुपातिक सांसद सरिता पुनले तीन साताअघि आफ्नो पहिलो सन्तानलाई जन्म दिइन् । नयाँ जीवनलाई संसारमा देखाएलगत्तै उनी स्वयले भने संसारबाट बिदा हुनु परेको छ ।

रुकुमपूर्वको पुथा उत्तरगंगा गाउपालिका-१० तकसेरा वाथीगाउँकी ३२ वर्षीय सरिताको बिहे रुकुम पश्चिमको आठबीस नगरपालिका ३ स्यालखरीका गोपाल ऐरीसँग भएको थियो । सरिता एमाले रुकुम पूर्वका तत्कालीन अध्यक्ष सतमान पुनकी छोरी हुन् । जिल्ला अध्यक्ष रहेकै समयमा कोरोनाकालमा सतमान मृत्यु भएको थियो । आमाको पहिल्यै निधन भइसकेको छ । बुवाको मृत्युपछि राजनीतिक विरासत सरिताले सम्हालेकी थिइन् ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

हिजो साँझ उपचारकै क्रममा काठमाडौंमा उनको निधन भएको हो । लुम्बिनी प्रदेशको हिमाली जिल्ला रुकुमपूर्वबाट प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्यको अप्रत्याशित निधनले जिल्ला शोकमा डुबेको छ । आफन्तहरू सबै काठमाडौं लागेका छन् ।

गर्भवती अवस्थामै सरिताको स्वास्थ्यमा समस्या देखिएपछि एक महिनाअघि उनलाई काठमाडौं लगिएको थियो । उनले शल्यक्रियामार्फत साउन २२ गते छोरी जन्माएकी दिएकी थिइन् । अहिले उनकी छोरी स्वस्थ छिन् । उनको हेरचाह सरिताका नन्द र भाउजूले गरिरहेका छन् ।

६ वर्षदेखि मुटु रोगबाट पीडित थिइन् सरिता । नेकपा एमाले रुकुम पूर्वका अध्यक्ष लीलामणि गौतमले सरिताको शल्यक्रिया गरी बच्चा जन्माएको एक घण्टापछि नै मुटुको अर्को शल्यक्रिया गर्नुपरेकाले समस्या आएको नेपाल प्रेसलाई बताए ।

‘उहाँलाई सानैदेखि मुटुको समस्या थियो । गर्भवती अवस्थामा गाउँमै हुनुहुन्थ्यो । श्वासप्रश्वासमा समस्या देखिएर काठमाडौं लगियो । डाक्टरले मुटुको भल्ब फेर्नुपर्ने भनेपछि डाक्टरले दिएको मितिभन्दा एक महिनाअघि नै अपरेसन गरेर बच्चा निकालियो । गाइनो र मुटुका दुई वटा मेजर अपरेसन उहाँले थेग्न सक्नुभएन,’ उनले भने ।

बच्चा जन्माएपश्चात् सुधार भएर सरितालाई भेन्टिलेटरबाट आइसियु हुँदै वार्डमा सारिएको थियो । तर पुनः समस्या देखिएपछि भेन्टिलेटरमा फर्काइयो । उपचारकै क्रममा निधन भयो ।’

डाक्टरले मुटुको बिरामी भएका कारण बच्चा नजन्माउन सल्लाह दिए पनि उनले आफैँ जोखिम मोलेको आफन्तको भनाइ छ । अपरेसनपछि देखिएको निमोनियाका कारण उनको निधन भएको चिकित्सकको भनाइ छ ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेकपा एमाले संसदीय दलका नेता चेतनारायण आचार्यले असल र क्षमतावान् राजनीतिक व्यक्तिको असामयिक निधनले स्तब्ध बनाएको जनाएका छन् ।

‘उहाँको निधनले प्रदेश मात्र होइन, समग्र नेपाली समाज नै दुःखी बनेको छ, प्रदेश सभा सदस्यको रूपमा पुनले समाज परिवर्तन, सुशासन र जनताका आकांक्षालाई सम्बोधन गर्ने कार्यमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो, लुम्बिनी प्रदेशले एक दूरदर्शी, इमानदार, अनुशासित, विकास प्रेमी र निष्ठावान् जनप्रतिनिधि गुमाएको छ,’ उनले भने ।

नेकपा एमालेका महासचिव शंकर पोखरेलले कम उमेरमै सरितालाई गुमाउनु परेकाले पार्टीलाई अतुलनीय क्षति पुगेको सामाजिक सञ्जालमा लेखेका छन् । सरिताको निधन भएको खबर पाएसँगै जिल्ला तहका विभिन्न राजनीतिक दल, नेता, सामाजिक अभियन्ता, विद्यार्थीलगायतले दु:ख व्यक्त गरेका छन् । आज सरिताको शव च्यासलमा केही समय राखेर आर्यघाटमा अन्तिम संस्कार गरिने एमाले रुकुम पूर्वका अध्यक्ष गौतमले जनाए ।

नेपालप्रेसबाट

  • १५ भाद्र २०८२, आईतवार १३:३९ प्रकाशित
  • Nabintech