समाजवादी प्रेस संगठनका अध्यक्ष सहितका पदाधिकारी प्रेस चौतारीमा प्रवेश
  • काँचुली खबर

४ माघ, काठमाडौं । समाजवादी प्रेस संगठन नेपालका अध्यक्ष विश्वमणि सुवेदीसहित पदाधिकारीको टोली नेकपा एमाले निकट प्रेस चौतारी नेपालमा प्रवेश गरेका छन् ।

एमाले महासचिव शंकर पोखरेल, प्रचार विभाग प्रमुख राजेन्द्र गौतम र चौतारीका अध्यक्ष गणेश बस्नेतले सुवेदीसहितको टीमलाई मूलधारमा स्वागत गरेका हुन् ।

माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को भ्रातृ संगठनका रुपमा रहेको समाजवादी प्रेस संगठनको २०८० जेठमा सम्पन्न महाधिवेशनबाट सुवेदी अध्यक्षमा निर्वाचित भएका थिए ।

२०७७ पुस ५ मा संसद विघटन भएपछि तत्कालीन नेकपा सम्बद्ध प्रेस संगठनमा प्रचण्ड-समूहअन्तर्गत प्रेस चौतारी पृष्ठभूमिका पत्रकारको नेतृत्व सुवेदीले गरेका थिए । पार्टी विभाजन भएपछि प्रेस चौतारीको उक्त समूहले समाजवादी प्रेस संगठन स्थापना गरेका हुन् ।

सुवेदीसँगै संगठनका उपाध्यक्ष सविन शर्मा, महासचिव रामकुमार एलन, सचिव नेपोलियन चेपाङ, कोषाध्यक्ष कृपा भण्डारी, केन्द्रीय सदस्यहरू आशिष गुरागाईं, सौगात मिश्र, नरेन्द्र विष्ट पनि प्रेस चौतारीमा प्रवेश गरेका छन् ।

अध्यक्ष सुवेदीले प्रेस चौतारीमा केन्द्रीय सदस्य, कोषाध्यक्ष र उपाध्यक्षको जिम्मेवारी बहन गरिसकेका छन् । २०५० सालमा छलफल साप्ताहिकबाट पत्रकारिता शुरु गरेका उनले २०५५ सालदेखि गत साउन महिनासम्म जनआस्था साप्ताहिकका विभिन्न जिम्मेवारीमा रहेर काम गरिसकेका छन् ।

  • ४ माघ २०८१, शुक्रबार १५:१८ प्रकाशित
  • Nabintech