कोहलपुर महोत्सवमा राष्ट्रिय कलाकारहरूकाे घुईंचाे
  • काँचुली खबर

१० पुस, काेहलपुर । कोहलपुरमा जारी ‘प्रथम कृषि तथा पर्यटन प्रर्वद्धन व्यापारिक संरक्षण तथा तथा साँस्कृतिक महोत्सव (एस्पो-२०८१)’ मा कलाकारहरुको प्रस्तुति सुरु भएको छ । नेपाल आदीवासी जनजाति महासंघ नगर समन्वय परिषद् कोहलपुर बाँकेको आयोजनामा सुरु भएको महाेत्सवकाे दोस्रो दिन विभिन्न कलाकारले सांगितिक प्रस्तुति दिएका छन ।

दोस्रो दिन लोक तथा दोहोरी गायक श्याम रानामगर, सिर्जना खत्री (हाउडे माया), राज कुश्मी, रेश्मा पुन, प्रेम विवश घर्तीमगर सहित राष्ट्रिय तथा स्थानीय कलाकारहरुले महोत्सवको माहोल तताएका थिए । महोत्सवमा गायक रानाले आफ्ना उत्कृष्ट गीतहरु गाएका थिए । उनको प्रस्तुतिमा दर्शकहरु निकै झुमेका थिए । गायनका साथै हास्यव्यंग्यमा समेत खुबी भएका गायक राना मगरलाई महोत्सव अवलोकन गर्न आएका दर्शकहरुले राम्राे साथ दिएका थिए ।

गायक रानापछि साँझपख कोहलपुर महोत्सवलाई झन मनोरञ्जन प्रदान गरिन्, युवा माझ निकै लोकप्रिय सिर्जना खत्री (हाउडे माया)ले ।  उनले पनि आफ्ना चर्चित गीतहरु प्रस्तुत गरेकी थिइन् । उनले आफ्ना चर्चित गीतहरु मेरो एक्सको छम्मा,शिकारी नारी, नौटंकी माया, डबल माया लगायतका गीत सुनाएकी थिइन् ।  यस्तै गायिक रेश्मा राना, गायक राज कुश्मी लगायतले आफ्ना प्रस्तुति दिएका थिए ।

आदीवासी जनजाति संग्रहालय निर्माण गर्ने उद्देश्यले महोत्सव सञ्चालन गरिएको हो । मेलामा करिब २५० वटा व्यापारिक स्टल तथा २० वटा होटल स्टल रहेका छन् । स्टल तथा प्रयोजक व्यवस्थापन संयोजक हेमन्त पुनका अनुसार स्टलबाट प्रदेशभरका व्यवसायीहरुले मनग्य लाभ लिनेछन् । महोत्सवका मुख्य आकर्षकका रुपमा राजस्थानबाट ल्याइएका दुईवटा उँट, दुई वटा हात्ती र रसियन कलाकारहरु रहेका छन् ।

यस्तै, महोत्सवमा बालउद्यान, कृषि प्रर्दशनी, व्यापारी स्टलहरु,हात्ती सफारी, कराते र उस्सु खेल प्रर्दशनपनि आकर्षणका रुपमा रहेका छन् । साथै मगर खाना परिकार, गुरुङ खाना परिकार, थारु परिकार, नेवार खाना परिकारका साथै अन्य जातीय खाना परिकारहरुको प्रर्दशनी गरिनुका साथै स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरुको वेजोड प्रस्तुति रहने आयोजकले जनाएको छ ।

महाेत्सवमा भोली आउने कलाकारहरु

भावना एम्युजमेन्ट प्रा.लि.ले व्यवस्थापन गरेको महोत्वसमा बिहीबारपनि थुप्रै राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहने सांंस्कृतिक संयोजक इन्द्रबहादुर गुरुङले बताए । उनका अनुसार पछिल्लो निकै चर्चामा रहेको गीत म त ढलढले गीतकी गायिका शान्ता रानी परियार, कृश क्षेत्री, कमल विसी माल्दाई, थारु गायक श्याम भगौरियाको प्रस्तुति रहनेछ ।

स्थानीय कर्णाली कला केन्द्र र मनकामना कला केन्द्रको सांगितिक प्रस्तुति रहेको छ । महोत्सवमा ६७ जना भन्दा धेरै राष्ट्रियस्तरका कलाकारहरुको प्रस्तुति रहने कला सांस्कृतिक समितिका संयोजक ईन्द्रबहादुर गुरुङले जानकारी दिए । महोत्सव यही पुस १७ गतेसम्म सञ्चालन हुनेछ ।

  • १० पुष २०८१, बुधबार २०:०५ प्रकाशित
  • Nabintech