२४ मंसिर, काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा लिग चरणका १५ खेल सकिएका छन्। अब लिग चरणका १३ खेल बाँकी रहँदा ‘प्लेअफ’ दौड रोमाञ्चक बनेको छ । लिगले आधा यात्रा तय गर्दा जनकपुर बोल्ट्स एक्लो अपराजित टोलीका रुपमा रहँदा जितविहीन एक्लो टोली बनेको छ लुम्बिनी ।
एनपिएलमा ६ अङ्कका साथ सुदुरपश्चिम र चितवन दोस्रो र तेस्रो स्थानमा रहँदा कर्णाली याक्स ४ अङ्कका साथ तेस्रो स्थानमा छ। यस्तोमा समान १-१ खेल कम खेलेका पोखरा र काठमान्डु २-२ अङ्कका साथ पाँचौ र छैटौं स्थानमा छन्। अङ्क तालिकामा विराटनगरले ४ खेलमा एकमात्र जित निकाल्दै सातौं नम्बरमा रहँदा जितविहीन लुम्बिनी लिग अङ्क तालिकाको पुछारमा छ।
सर्वाधिक रन बनाउने खेलाडी रोहित तर टोली जितविहीन
एनपीएलमा अहिलेसम्मको सर्वाधिक रन बनाउने खेलाडीको शीर्ष स्थानमा लुम्बिनी लायन्सका कप्तान रोहित पौडेल रहेका छन्। रोहितले ४ खेलका ४ इनिङमा कुल १ सय ८१ रन प्रहार गर्दै सर्वाधिक रन बनाउने खेलाडीको शीर्ष स्थानमा छन्। उनले ४५.२५ को औषतमा रन प्रहार गरिरहेका छन्। उनको ब्यक्तिगत उच्च स्कोरका रुपमा पोखरा विरुद्धको ९५ रन रह्यो। उनले ५९ बलमा १० चौका र ४ छक्का प्रहार गरेका थिए। उनको उच्च स्कोरमा टिमले १ सय ७० रन बनाए पनि १० विकेटले हारेको थियो। सर्वाधिक ब्यक्तिगत उच्च रन बनाएर खेलिरहेका कप्तान रोहित टिमलाई जित दिलाउन भने असफल रहेका छन्। लुम्बिनी लायन्सले खेलेका सबै ४ खेल गुमाएको छ।
सर्वाधिक रन बनाउने शीर्ष स्थानमा रोहित रहँदा उनलाई जनकपुर बोल्ट्सका लाहिरु मिलन्थाले पछ्याइरहेका छन्। मिल्नथाले ४ इनिङमा ५६ को औषतमा १ सय ६८ रन बनाएका छन्। त्यस्तै चितवन राइनोजका रभि बोपरा तेस्रो नम्बरमा रहेका छन्। उनले ५२.३३ को औषतमा १ सय ५७ रन बनाएका छन्। चौथो स्थानमा सुदूरपश्चिमका कप्तान दिपेन्द्र सिंह ऐरी रहेका छन्। उनले ७० को औषतमा ४ इनिङमा १ सय ४० रन बनाएका छन्। १ सय ३६ रनका साथ पाँचौ स्थानमा रहेका भारतीय स्टार शिखर धवन भने भारत फर्किसकेका छन्।
तनविरको नाममा सर्वाधिक विकेट
१५ खेल सकिँदा ४ खेल खेलेका चितवन राइनोजका सोहिल तन्विर सर्वाधिक विकेट लिने खेलाडीको शीर्ष स्थानमा छन्। उनले ८६ बल सामना गरेर ६७ रन खर्चिदै ४.६७ को इकोनोमिमा कुल ९ विकेट हात पारेका छन्। उनको सर्वाधिक बेस्ट भनेको काठमाडौंविरुद्ध आफ्नो पहिलो खेलमै २१ रन दिएर ५ विकेट लिनु हो।
त्यस्तै दोस्रो नम्बरमा जनकपुर बोल्ट्सका ललित राजवंशी रहेका छन्। उनले तेस्रो नम्बरमा रहेका आफ्नै टिमका हर्ष थकरलाई समान ८ विकेट भए पनि इकोनोमीमा पछि पारेका छन्। ललितले ९६ बल खेल्दै ८८ रन खर्चिएर ५.५० को औषतमा ८ विकेट लिएका छन्। तेस्रो नम्बरमा रहेका थकरले ९० बल खेल्दै ६.९३ को इकोनोमिमा १०४ रन खर्चिए ८ विकेटनै लिएका छन्। त्यस्तै चौथो नम्बरमा सुदूरपश्चिम रोयल्सका स्कट कुग्लिङ ७ विकेटका साथ चौंथो नम्बरमा रहँदा ६ विकेट लिएका पाँच खेलाडी पाँचौं स्थानको दौडमा छन्।
एकमात्र शतक गौसको नाममा, १६ खेलाडीले प्रहार गरे अर्धशतक
एनपीएलमा पोखराका आन्द्रेस गौसका नाममा रहेको छ। उनले लुम्बिनीविरुद्ध १ सय ४ रनको अविजित शतक प्रहार गरेका थिए, जुन एनपीएलकव एक्लो शतक हो। एनपीएलको १५ खेलको समाप्तीमा कुल १६ खेलाडीले अर्धशतक बनाएका छन्। जसमा रभि बोपराले २ अर्धशतक प्रहार गरेका छन्। अन्य अर्धशतक प्रहार गर्ने खेलाडीमा कर्णालीका विलियम बोसिस्टो, पोखराका आन्द्रेस गौस, पोखराकै दिनेश खरेल, चितवनका हसन एइसाखिल, लुम्बिनीका रोहित पौडेल, लुम्बिनीकै बिबेक यादव, सुदरपश्चिमका दिपेन्द्र सिंह ऐरी, सुदुरपश्चिमका ब्रान्डम म्याकमुलन, सुदूरपश्चिमकै साइफ जैब, कर्णालीका शिखर धवन, बिराटनगरका मार्टिन गुप्टिल, बिराटनगरकै लोकेश बम, जनकपुरका लाहिरु मिलन्था र जनकपुरकै अनिल साहाले समान १-१ अर्धशतक प्रहार गरेका छन्।
सर्वाधिक फराकिलो जित र हार
जारी प्रतियोगितामा रन अन्तरको सर्वाधिक फराकिलो जित सुदूरपश्चिमले विराटनगरविरुद्ध निकालेको छ। उसले ९० रनको जित निकाल्यो। जुन रन अन्तरको सर्वाधिक फराकिलो जित हो। त्यस्तै सर्वाधिक रन अन्तरको साँघुरो जित जनकपुरले लुम्बिनी लायन्स विरुद्ध निकाल्यो। जनकपुरले १ रनको रोमाञ्चक जित हासिल गरेको थियो। त्यस्तै प्रतियोगितामा सर्वाधिक फराकिलो विकेटको जित पोखराले लुम्बिनीविरुद्ध निकाल्यो। पोखराले १० विकेटको जित हासिल गरेको थियो। त्यस्तै बिराटनगरले लुम्बिनी विरुद्ध निकालेको २ विकेटको जित सर्वाधिक साँघुरो विकेट अन्तरको जित हो।
२४ मंसिर २०८१, सोमबार १३:२० प्रकाशित