२४ मंसिर, काठमाण्डौं । दर्शकको राम्रो उपस्थिति पाएको नेपाल प्रिमिअर लीग (एनपीएल) ले गति लिईरहेको छ । व्यावसायिक स्वरूपको फ्रेन्चाइज क्रिकेटमा सहभागी आठ टोलीहरूमा विदेशी खेलाडीहरू पनि छन् । खेलाडी र टोलीहरूले आफ्नो क्षमता देखाउन थालिसकेका छन् ।
एनपीएल नेपाली क्रिकेटको अहिलेसम्मको ठूलो बजेटको कार्यक्रम बनेको छ । प्रतियोगिता कुल १०० करोड रुपैयाँको हुन सक्ने अनुमान छ ।
एनपीएल कति बजेटको हो अनि आयोजक नेपाल क्रिकेट सङ्घ (क्यान) र त्यसमा सहभागी आठ वटा फ्रेन्चाइज टोलीले कति आम्दानी गर्लान् वा कति खर्च बेहोर्लान् भन्नेमा धेरैको चासो छ ।
क्यानले आधा दर्जनभन्दा बढी स्रोतबाट आम्दानी गर्छ । केही आम्दानी निश्चित भइसकेको छ भने टिकटबाट हुने आयको हिसाब प्रतियोगिता सम्पन्न भइसकेपछि मात्र निश्चित हुने छ ।
आफ्ना निश्चित स्रोतबाट ३० करोड रुपैयाँजति सङ्कलन गर्ने अनुमान क्यानका पदाधिकारीहरूको छ ।
कसरी हुन्छ आम्दानी ?
क्यानले पहिलो आम्दानी फ्रेन्चाइट टीम बिक्री बापत गर्यो । आठ वटा टोली बेच्दा उसले १६ करोड ८८ लाख ९३ हजार २ सय ३१ रुपैयाँ कमायो । त्यस्तै ब्र्यान्ड लजिक कम्पनीलाई ‘कमर्शल राइट्स’ बेचेर ५ करोड ९२ लाख रुपैयाँ प्राप्त गर्यो ।
त्यसबाहेक मैदानमा क्यानले २० प्रतिशत प्रायोजक बोर्ड पनि राखेको छ । क्यानले टिकट बेचेर पनि आय गर्ने छ ।
उद्घाटन भएको दिनदेखि नै रङ्गशालामा उर्लिएका दर्शकको उत्साह हेर्दा आयोजकले टिकटबाट राम्रै आम्दानी गर्ने देखिन्छ । यही क्रममा दर्शक ओइरिए क्यानले टिकटबाट ८ करोड रुपैयाँभन्दा बढी आम्दानी गर्ने अनुमान गरिएको छ ।
त्यसबाहेक क्यानले यूट्यूब, फ्यान कोड र ओटीटीबाट पनि आम्दानी गर्ने छ ।
खर्च कसरी हुन्छ ?
प्रतियोगितालाई भव्य बनाउन क्यानले खर्चमा कन्जुस्याइँ गरेको छैन । एनपीएललाई स्टार स्पोर्टसमा रकम खर्चेर प्रसारण गर्न क्यानले ठूलो बजेट खर्च गरेको बताइएको छ । कीर्तिपुर मैदानभित्र पिच र आउटफील्ड निर्माण गर्न पनि खर्च भयो ।
क्यानका प्रवक्ता छुम्बी लामा भन्छन्, ‘पिच र घाँस बनाउन छ महिनाभन्दा बढी समय लगायौँ ।’
मैदानबाहिर अस्थायी प्यारापिट, ओनर लाउन्ज र भीआइपी अस्थायी प्यारापिट निर्माण गरिएको छ ।
अम्पायर, कमेन्टेटर, म्याच कमिश्नर, एन्टी करप्शन अफिसरजस्ता प्राविधिक टोलीको खर्च पनि क्यानको हो । जिल्ला र प्रदेशका पदाधिकारीहरूलाई पनि निम्तो दिनैपर्यो ।
पुरस्कार राशिजस्तै विजेताहरूको पुरस्कार र हरेक खेलको ‘म्यान अफ द म्याच’को खर्च पनि क्यानकै भागमा पर्छ । यी सबै जोड्दा १५ करोड रुपैयाँभन्दा बढी खर्च हुन आउने क्यान पदाधिकारीहरूको अनुमान छ ।
क्लबको खर्च
एनपीएलको पहिलो संस्करणमा फ्रेन्चाइज टोलीहरूले मन खोलेर खर्च गरेको देखिन्छ ।
पहिलो संस्करण भएकोले टीम खरिदमा टोलीहरूले १ करोड ११ लाखदेखि ३ करोड ५७ लाख रुपैयाँसम्म खर्च गरे । दोस्रो ठूलो खर्च नेपाली र विदेशी खेलाडीको लागि भएको देखिन्छ । त्यसमा ‘मार्की’ अर्थात् मुख्य खेलाडीको मूल्य २० लाख रुपैयाँ छ ।
कर्णाली याक्सले भारतका चर्चित पूर्वखेलाडी शिखर धवनलाई एक खेलको लागि ३०,००० अमेरिकी डलर (४० लाख रुपैयाँभन्दा बढी) खर्चेको बताइएको छ ।
‘ट्यालेन्ट हन्ट’बाट स्थानीय खेलाडी खोज्न पनि फ्रेन्चाइज टोलीले ल्याकतअनुसारको कार्यक्रम राखेका थिए ।
त्यसपछि प्रशिक्षक, सहायक प्रशिक्षक, फिजिओथेरपिस्ट, मेन्टरसहितको प्राविधिक टोलीको खर्च आउँछ ।
खेलाडीलाई पाँचतारे होटेलमा राख्नुपर्ने नियमानुसार सबै टोलीले खेलाडीलाई त्यस्तो सुविधा दिएका छन् । प्रशिक्षण र विशेष आहारका लागि हुने खर्चको रकम पनि ठूलो हुन आउँछ ।
खेलाडीका लागि स्तरीय सामानका लागि थप खर्च हुन्छ । मार्केटिङ टीम र प्रचारप्रसारमा पनि खर्च हुन्छ ।
ठूलो व्यवस्थापन टोली संलग्न हुने हुँदा क्लबको खर्च बढ्ने देखिन्छ ।
यसरी हिसाब गर्दा एउटा टोलीको खर्च ७ करोडदेखि १० करोड रुपैयाँसम्म हुने टीम मालिकहरूले अनुमान गरेका छन् ।
क्लबको आम्दानी
अनुमानित ७ करोड देखि १० करोड रुपैयाँ खर्च गर्ने टोलीले कति आम्दानी गर्लान् त ? फ्रेन्चाइज टोलीको पहिलो आम्दानी भनेको क्यानको आम्दानीको ५० प्रतिशत हो । क्यानले गर्ने आम्दानीको आधा भाग आठ वटा टोलीमा बाँडिन्छ ।
यो वर्ष क्यानले गर्ने आम्दानीको हिसाब गर्दा एउटा टोलीको भागमा एक करोड रुपैयाँसम्म पर्न सक्छ ।
टोलीले प्रायोजकहरूबाट रकम पाउँछ । यद्यपि पहिलो वर्ष भएकाले सोचेजति प्रायोजक र रकम भने पाउन नसकेको अधिकांश टोलीले बताएका छन् । करोड खर्चेका मालिकहरूले लाखमा प्रायोजक पाएको देखिन्छ ।
किट्स मर्चेन्डाइज (जर्सी , टीसर्ट, क्याप) को बिक्रीबाट पनि टोलीहरूले केही कमाउने छन् ।
कर्णाली याक्सले ७,००० वटा जर्सी बिक्री गरिसकेको बताइएको छ ।
यस अर्थमा पहिलो संस्करणमा अधिकांश टोलीको आम्दानीभन्दा खर्च बढी हुने देखिन्छ ।
कर्णाली याक्सका एक मालिक गेहेन्द्र घिमिरे भन्छन्, ‘तीन वर्षसम्म कमाउने हामीले हिसाब लगाएका छैनौँ । यो लगानीको समय हो । तर हामीसँग नाफा कमाउने हिसाबकिताब छ ।’
ब्रान्ड भ्याल्यू
एनपीएलले जसरी चर्चा पाएको छ, त्यसले टोलीको मूल्य धेरैमाथि पुगिसकेको छ । गेहेन्द्र घिमिरे फ्रेन्चाइजको ‘ब्र्यान्ड भ्याल्यू’ निकै हुने बताउँछन् ।
‘एनपीएलमा अब टोलीको सङ्ख्या थपिने छैन । टोलीको भ्यालू त बढिसक्यो । यो हिसाबमा हामी अहिले नै नाफामा गइसक्यौँ । अहिले एनपीएल आईसीसीको क्यालेन्डरमा छैन । त्यसमा परेपछि त यसको ब्र्यान्ड भ्यालू झन् बढ्ने निश्चित छ’, घिमिरे भन्छन् ।
नेपाल क्रिकेट सङ्घका सचिव पारस खड्काले एनपीएलमा लगानी गर्न विदेशी क्लबहरूले पहिलेदेखि नै चासो दिएको बताएका थिए ।
त्यो हिसाबमा अर्को संस्करणमा विदेशका ठूला फ्रेन्चाइज टोलीले एनपीएलमा जोडिन चाहे यी आठ टोलीसँग सहकार्य गर्नुपर्ने छ । त्यसबाट क्लबको ‘ब्र्यान्ड भ्यालू’ झन् माथि पुग्ने छ ।
बीबीसीबाट
२४ मंसिर २०८१, सोमबार १२:४४ प्रकाशित