देउतीबज्यै मन्दिरकी पुजारी मृत अवस्थामा भेटिइन्
  • काँचुली खबर

२८ कात्तिक, सुर्खेत । सुर्खेतको चर्चित धार्मिक शक्तिपीठ देउती बज्यै मन्दिरकी पुजारी मृत भेटिएकी छन् । वीरेन्द्रनगर नगरपालिका-११ बस्ने ५० वर्षीय सरस्वती राजी बुधवार बिहान मृत भेटिएकी हुन् ।

उनी मुख्य मन्दिरको पूर्वी ढोकामा सलको पासो लगाएर झुन्डिएको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए । ‘प्रहरी घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ,’ उनले भने, ‘घटनास्थल सुरक्षित राखेका छौँ । अनुसन्धान भइरहेको छ ।’

उनका अनुसार अहिले प्रहरीले मुचुल्का उठाएर शवलाई पोस्टमार्टमको लागि प्रदेश अस्पताल पठाउने तयारी गरेको छ । प्रारम्भिक अनुसन्धानबाट घटना शंकास्पद नदेखिएको डिएसपी विश्वकर्माले बताए । ‘घटनाको थप अनुसन्धान भइरहेको छ । पोष्टमार्टम रिपोर्ट के आउँछ त्यसअनुसार थप अनुसन्धान अघि बढ्छ,’ उनले भने, ‘अहिलेसम्मको प्रारम्भिक अनुसन्धानले घटना शंकास्पद नरहेको देखिन्छ ।’

देउती बज्यै मन्दिर यहाँको राजी समुदायसँग जोडिएको छ । मन्दिरमा घटना घटेपश्चात् पूजाआजा बन्द गरिएको छ ।

  • २८ कार्तिक २०८१, बुधबार ११:४७ प्रकाशित
  • Nabintech