२७ कात्तिक, कोहलपुर । बाँकेको नेपालगन्जमा रहेको यातायात व्यवस्था कार्यालयको सेवा कार्यालय कोहलपुरमा सार्ने विषयले अहिले नेपालगन्ज तरंगित भएको छ । सेवा कार्यालय सार्ने (निर्णय भईनसकेको) विषयलाई लिएर सामाजिक संजालमा विभिन्न टिकाटिप्पणी भईरहेका छन ।
विशेषगरी नेपालगन्ज क्षेत्रका अगुवाहरुले विशेष चासोकासाथ यस विषयलाई सतहमा ल्याएका छन । कतिपयले सामाजिक सन्जाल मार्फत बिरोध जनाएका छन भने कातिपयले सकारात्मक कदमका रुपमा स्वागत गरेका छन ।
यातायात कार्यालय नेपालगन्जमै हुनुपर्ने भन्दै नेपालगन्जमा सक्रिय चार राजनितिक दलले संयुक्त रुपमा ध्यानार्षण पत्र समेत सार्वजनिक गरेका छन । नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र राप्रपाका नगर अध्यक्षहरुले संयुक्त रुपमा प्रमुख जिल्ला अधिकारी मार्फत लुम्बिनी प्रदेशका मुख्यमन्त्रीलाई धानाकर्षण गराएका छन ।
त्यसैगरी नेपालगन्ज उद्योग वाणिज्य सङ्घले यातायात व्यवस्था कार्यालय कोहलपुर स्थानान्तरण गर्ने कार्य अघि नबढाउन माग गर्दै जिल्ला प्रशासन कार्यालय बाँके मार्फत लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेलाई ज्ञापनपत्र बुझाएको छ ।
संस्थागत बाहेक ब्यक्तिगत रुपमा समेत कतिपयले सामाजिक संजाल मार्फत यातायात कार्यालय नेपालगन्जमै हुनुपर्ने धारणा रार्वजनिक गरीरहेका छन ।
यातायात व्यवस्था कार्यालय, नेपालगन्ज हाल बाँके गाउँमा भाडाको घरमा रहेको छ । नेपालगन्ज उप-महानगरपालिकाले कार्यालयका लागि जग्गा उपलब्ध गराउने प्रतिबद्धता जनाए पनि गग्गा उपलब्ध गराउन नसक्दा कार्यालय भाडाको घरमा बस्न बाध्य छ । यता, कोहलपुरमा भने यातायात कार्यालयको नाममा आफ्नै जग्गा छ ।
हाल नेपालगन्जमा यातायात कार्यालय रहेपनि सवारी चालक अनुमति पत्रका लागि प्रयोगात्मक परीक्षा कोहलपुरमा हुँदै आएको छ ।
लुम्बिनी प्रदेश सरकारले नयाँ सवारी अनुमतिपत्रका लागि ट्रायल हुँदै आएको कोहलपुरमा सहजताका लागि बायोमेट्रिक र लिखितको काम समेत हुने गरी सेवा कार्यालय स्थापनाको तयारी गरेको छ । तर यसको आधिकारीक निर्णय भने भईसकेको छैन ।
प्रदेशको उद्योग, पर्यटन तथा यातायात मन्त्रालय स्रोतका अनुसार सेवा कार्यालयकालागी प्रक्रिया अगाडी बढाईए पनि तत्काल नेपालगन्जबाट कोहलपुर कार्यालय स्थानान्तरण गर्ने कुनै योजना नरहेको जनाएको छ ।
मुख्य कार्यालय नेपालगन्जमै रहने गरी सेवा कार्यालय कोहलपुरमा स्थापना गर्दा जिल्लाका तिन पालीका (बैजनाथ, राप्तीसोनारी र कोहलपुर) का सेवाग्राहीलाई सहज हुने भन्दै कोहलपुरका स्थानियले भने उक्त विषय स्वागतयोग्य भएको प्रतिक्रिया दिएका छन । यद्यपी नेपालगन्जले संघियताको मर्म बिपरीत सेवा कार्यालय स्थापनाका विषयमा भ्रम छर्न खोजेको भन्दै कतिपय स्थानियले आक्रोश समेत ब्यक्त गरेका छन ।
२७ कार्तिक २०८१, मंगलवार १६:५४ प्रकाशित