२१ कात्तिक, काठमाण्डौं । यूएईमा जारीमहिला यू-१९ टी-२० विश्वकपको एसिया छनोटमा नेपालले विजयी सुरुवात गरेको छ । आफ्नो पहिलो खेलमा नेपालले थाइल्यान्डलाई ६७ रनले पराजित गरेको हो।
नेपालले दिएको १०३ रनको लक्ष्य पछ्याएको थाइल्यान्ड ११.४ ओभरमा ३५ रनमा अलआउट भयो । यसअघि पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय २ रन बनाएको थियो । नेपालका लागि कप्तान पुजा महतोले ३५, सोनी पाख्रिन र सिमाना केसीले समान १९ रन बनाए । थाइल्यान्डकी सइमाले २ तथा सुनिसाले १ विकेट लिइन् ।
कात्तिक २९ गतेसम्म चल्ने प्रतियोगितामा नेपाल, घरेलु टोली यूएई, कुवेत र थाइल्याण्डको सहभागिता रहेको छ ।
नेपालले आफ्नो दोस्रो खेलमा भोलि बिहीबार कुवेतसँग खेल्नेछ । नेपालले कार्तिक २४ गते घरेलु टोली यूएई, कार्तिक २५ गते थाइल्यान्ड, कार्तिक २७ गते कुवेतसॅंग र आफ्नो अन्तिम खेलमा कार्तिक २८ गते यूएईसॅंग खेल्नेछ ।
४ टोली सहभागी प्रतियोगिताको शीर्ष टोली विश्वकपका लागि छनोट हुनेछ । विश्वकप अर्को वर्ष मलेसियामा हुनेछ ।
२१ कार्तिक २०८१, बुधबार १८:०३ प्रकाशित