पहिलो हाफमा नेपाललाई ४-० को अग्रता
  • काँचुली खबर

८ कात्तिक, काठमाडौं । साफ वुमन्स च्याम्पियनसिप २०२४ अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकाविरुद्ध पहिलो हाफमा ४-० गोलको अग्रता लिएको छ ।

पहिलो हाफमा नेपालका लागि रेखा पौडेलले दुई तथा सविता राना मगर र सावित्रा भण्डारी साम्बाले एक-एक गोल गरे ।

खेलको आठौं मिनेटमा सबिताले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् । सावित्राले दायाँ साइडबाट उपलब्ध गराएको क्रसमा पेनाल्टी स्पटको ठीक अगाडिबाट सबिताले वान टचमै गोल गरिन् ।

जारी साफमा पहिलो पटक खेलिरहेकी सावित्राले ११औं मिनेटमा उत्कृष्ट गोल गर्दै नेपालको अग्रता दोब्बर पारिन् । प्रीति राईको थ्रो पासमा विमल विकले दिएको पासमा सावित्राले करिब २५ यार्ड टाढाबाट सुन्दर गोल गरेकी थिइन् । यस संस्करणमा पहिलो गोल गरेकी सावित्राले नेपालका लागि गोल संख्या ५४ पुर्‍याइन् ।

त्यसको दुई मिनेटपटि नै रेखाले अमिसा कार्की पासमा गोल गर्दै नेपालको अग्रता ३-० बनाइन् । अघिल्लो खेलमा माल्दिभ्सविरुद्ध एक्लै पाँच गोल गरेकी रेखाको जारी साफमा यो छैटौं गोल हो । रेखा सर्वाधिक गोल गर्नेमा दोस्रो स्थानमा छिन् । श्रीलंकाविरुद्ध पाँच गोल गरेकी भुटानकी फरवार्ड देकी लाजोमले अहिलेसम्म सर्वाधिक ७ गोल गरेकी छन् ।

रेखाले नै ३६औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेपछि नेपालले पहिलो हाफमा ४(० को अग्रता बनायो । सावित्राले श्रीलंकालाई डिफेण्डरलाई छलाउँदै बक्स भित्रबाट हानेको बल रेखालाई लाग्दै गोल भएको हो । यस गोलपछि रेखाले पनि गोल संख्या ७ पुर्‍याइन् ।

पहिलो हाफमै नेपालले गोल गर्ने अरु अवसर पनि पाएको थियो । तर फिनसिङ राम्रो हुन सकेन । समूह बी बाट भुटान यसअघि नै सेमिफाइनल पुगिसकेको छ । नेपाललाई समूह बी को विजेता बन्न श्रीलंकालाई गोलले हराउनुपर्नेछ । ६ भन्दा बढी गोल भएको खण्डमा भने नेपाल पाँच गोल अन्तरले जित हात पारे पनि समूह विजेता बन्नेछ ।

भुटानले तीन खेलबाट ७ अंक जोडेको छ ।

समूह ए बाट डिफेण्डिङ च्याम्पियन बंगलादेश समूह्य विजेता र भारत समूह्य उपविजेता बनेर सेमिफाइनल पुगिसकेका छन् ।

  • ८ कार्तिक २०८१, बिहीबार १८:४१ प्रकाशित
  • Nabintech