दशैंकाे अवसरमा बाँकेमा दुई कराेड बढिका दुर्गा मुर्ति प्रतिष्ठापन
  • काँचुली खबर

२६ असाेज, नेपालगन्ज । बाँकेमा यस वर्ष दसैंको अवसरमा जिल्लाका विभिन्न स्थानमा दुई करोड रुपियाँ भन्दा बढीका दुर्गा भवानीका मूर्तिहरु प्रतिष्ठापन गरिएका छन् ।

घटस्थापनाको दिन र पछिल्लो दिन गरि जिल्लामा चार सय बढि दुर्गाभवानीका मूर्ति प्रतिष्ठापन गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले बताए । उनले सवैभन्दा धेरै नेपालगन्ज नगरमा मात्रै करिब २५० दुर्गा मूर्ति प्रतिष्ठापन गरिएको जनकारी दिए ।

नेपालगन्जका टोल, गल्ली र चोक तथा सडकमा गरेर २५० भन्दा बढी दुर्गा मूर्ति राखिएको एसपी कार्कीको भनाइ छ । ‘नेपालगन्जको अधिकांश गल्ली र चोकमा ठुलो संख्यामा दुर्गा मूर्ति प्रतिष्ठापन भएको देखिन्छ, सहरमा मात्रै २५० बढी मूर्ति राखिएको छ’ उनले भने ।

बाँकेमा दुई करोड बढि रुपियाँको दुर्गा मूर्ति प्रतिष्ठान गरिएको अनुमान रहेको प्रहरीले जनाएको छ । यहाँ ४० देखि ८० हजार मूल्यका मूर्तिहरु प्रतिष्ठापन गरिएका छन् । एउटा मूर्तिको सरदर ५० हजार रुपियाँमात्र जोड्ने हो भने पनि बाँकेमा दुई करोड भन्दा बढी रुपियाँ मूर्तिमा खर्च भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

जिल्लाको नेपालगन्ज, खजुरा, कोहलपुर र राँझा लगायत गाउँ गाउँमा राखिएका दुर्गा मूर्तिहरु नेपालगन्ज र केहि भारतीय सीमा बजार रुपइडिहाबाट ल्याइएको जनाईएको छ । नेपालमा महंगो पर्ने र राम्रो नहुने भएको भन्दै धेरै ठाउँका स्थानीयबासीले भारतीय बजार पुगेर मूर्ति खरिद गरेर ल्याएको स्थानीय अगुवा नन्दलाल वैश्यले बताए ।

उनले भारतबाट मात्र करिब डेढ सय वटा मूर्ति ल्याईएको जानकारीमा आएको बताए ।

विभिन्न ठाउँमा प्रतिष्ठापन गरिएका दुर्गा मूर्तिको सुरक्षा र शान्तिपूर्वक बिसर्जनका लागि बाँके प्रहरीले विशेष टास्क फोर्स बनाएर सुरक्षालाई कडा पारेको छ । दसैंको भोलिपल्ट दुर्गा मूर्तिहरु नजिकको नदीमा लगेर बिसर्जन गरिने गरिएको छ ।

  • २६ आश्विन २०८१, शनिबार १५:०९ प्रकाशित
  • Nabintech