१९ असोज, कोहलपुर । कोहलपुर उद्योग बाणिज्य संघको आगामी कार्तिक ३ गते हुने निर्वाचनमा लोकतान्त्रिक समावेशी व्यवसायीहरूको प्रचारप्रसारले नयाँ आयाम लिएको छ । लोकतान्त्रीक समुहको चुनावी अभियानले कोहलपुरका ब्यापारीहरुमा नयाँ ऊर्जा थपेको छ ।
अध्यक्ष पदका उम्मेदवार प्रदिप भट्टराईले व्यवसायीहरूको आवाजलाई संस्थागत रूपमा उठान गर्न र कोहलपुरको ब्यवसायीक् विकासमा नयाँ अध्याय थप्ने प्रतिवद्धता रहेको बताएका छन् ।
आफुहरुको अभियानले सबै प्रकारका व्यवसायीहरूलाई समेट्ने लक्ष्य राखेको बताउदै भट्टराई नेतृत्वको समुह सबै ब्यवसायीको घरदैलोमा पुगीरहेको छ । “हामी लैंगिक समानता, सामाजिक समावेशिता र सबै प्रकारका व्यवसायलाई समान अवसर प्रदान गर्न प्रतिबद्ध छौं,” भट्टराईले भने “कोहलपुर उद्योग बाणिज्य संघलाई सबै व्यवसायीहरूको साझा थलो बनाउने हाम्रो उद्देश्य हो ।”
पारदर्शिता र जवाफदेहितालाई आफ्नो समुहको मूल मन्त्र रहेको जिकिर गर्दै भट्टराईले भने “संघको कामकारबाहीलाई पारदर्शी बनाउने र हरेक व्यवसायीलाई आफ्नो मतको महत्व बुझाउने गरी अभियान संचालन गरीरहेका छौं ।”
पूर्वाधार विकास, व्यापार प्रवर्द्धन, रोजगारी सृजना र व्यवसायीमैत्री वातावरण निर्माणमा केन्द्रित हुने भन्दै लोकतान्त्रिक समावेशी समुहले कोहलपुरलाई एक आधुनिक र प्रतिस्पर्धी व्यापारिक केन्द्र बनाउने लक्ष्य राखेको जनाएको छ ।
चुवानी अभियानका क्रममा शनिवार कोहलपुर नगरपालिका वडा नं। ११ स्थित एनटिभि रोड, दशबिगाह, पुरानो बसपार्क लगाएत क्षेत्रमा व्यापक प्रचारप्रसार गरीएको लोकतान्त्रिक समावेशी समुहको तर्फबाट वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार चण्डी प्रसाद गैरेले जानकारी दिए ।
प्रचारप्रसारका क्रममा व्यवसायीहरूले लोकतान्त्रिक समावेशी समुहका उम्मेदवारहरूलाई समर्थन जनाएका छन् । उनीहरूले यस समुहले कोहलपुरको व्यापारिक क्षेत्रको विकासका लागि नयाँ आयाम थप्ने विश्वास समेत व्यक्त गरेको गैरेले दावी गरे ।
भट्टराईको नेतृत्वमा उक्त समुहबाट वरिष्ठ उपाध्यक्षमा चन्डी प्रसाद गैरे, उद्योग उपाध्यक्षमा हरिसरण केसी, वस्तुगत उपाध्यक्षमा राकेश विष्ट र महासचिवमा दिपक बहादुर भण्डारीले उम्मेदवारी दिएका छन । त्यसैगरी कोषाध्यक्षमा भूमिराज कडेल र उप-महासचिवको रूपमा राजन कुमार पौडेल तथा सह-कोषाध्यक्षमा देविलाल सुनार चुनावी मैदानमा होमिएका छन् ।
लोकतान्त्रिक समावेशी प्यानलको सदस्यहरूमा अमृत पौडेल, नोखराज रावत, श्रीधर घिमिरे, किरण श्रेष्ठ, अशोक गौडेल, झुपबहादुर भण्डारी, किरण विक, गौरव श्रेष्ठ, र गिरीधारी शर्मा, मान बहादुर बुढाथोकी, राजेन्द्र प्रसाद रिजाल एशोसियट सदस्य रहेका छन् । महिला सदस्यको रूपमा शितल योगी अधिकारी र ममता थापा पनि चुनावी मैदानमा उत्रिएका छन् ।
१९ आश्विन २०८१, शनिबार १७:१३ प्रकाशित