चट्याङ लागेर दाङमा एकको मृत्यु, दुई जना घाईते
  • काँचुली खबर

९ असोज, दाङ । दाङमा चट्याङ लागेर घाइते भएका एक जनाको मृत्यु भएको छ। दुई जना घाइते छ‍न्। उनीहरूको उपचार भइरहेको छ। उनीहरू एकै परिवारका हुन्।

चट्याङ लागेर छोराको मृत्यु भएको र आमाछोरीको उपचार जारी रहेको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार घोराही उपमहानगरपालिका वडा नम्बर ११ खुङकोटका ३ वर्षीय समीर साहुको मृत्यु भएको हो।

उपचारका क्रममा उनको बुधबार बिहान तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो।

मंगलबार दिउँसो घरमै बसिरहेका बेला ४२ वर्षीया आमा निमकला साहु, ६ वर्षीया छोरी सविना र ३ वर्षीय छोरा समीर घाइते भएका थिए।

उनीहरूलाई सुरूमा घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगिएको थियो।

बुधबार बिहान प्रतिष्ठानले तुलसीपुरको प्रादेशिक अस्पतालमा रिफर गरिदिएको थियो। अस्पताल पुर्‍याउनासाथ चिकित्सकले ३ वर्षीय समिरलाई मृत घोषणा गरेका थिए।

आमा र छोरीको अवस्था मध्य रहेको चिकित्सकलाई उद्धत गर्दै प्रहरीले जानकारी दिएको छ। चट्याङले उनीहरूको शरीरका विभिन्न भागमा चोट लागेको छ।

  • ९ आश्विन २०८१, बुधबार १४:४७ प्रकाशित
  • Nabintech