नरैनापुरमा इन्सेफलाइटिस फैलिएकाे आशंका, एक बालिकामा संक्रमण पुष्टि
  • काँचुली खबर

२४ भदाै, नेपालगन्ज । बाँकेको नरैनापुर गाउँपालिकाका एक जना बालिकामा जापानी इन्सेफलाइटिस पुष्टि भएको छ । ज्वरो, टाउको दुख्ने र पेट दुख्ने लगायतको समस्याबाट पालिकामा धेरै जना बिरामी रहेको बेला नरैनापुर गाउँपालिका-१ मतहनिया गाउँकी ९ वर्षीया बालिकामा जापानीस इन्सेफलाइटिस पुष्टि भएपछि सो क्षेत्रमा जापानी इन्सेफलाइटिस पनि फैलिएको हुन सक्ने आशंका बढेको हो ।

स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अङ्गद बहादुर शाहीले भेरी अस्पतालमा भर्ना रहेकी नरैनापुर गाउँपालिका-१ मतहनिया गाउँकी ९ वर्षीया बालिकाको ल्याब परीक्षण गर्दा जापानी इन्सेफलाइटिस पुष्टि भएको बताए । उनले एकजना बालिकामा सो पुष्टि भएपछि नरैनापुरका अन्य बिरामीमा जापानी इन्सेफलाइटिस भएनभएको परीक्षण र अनुसन्धान गर्नुपर्ने अवस्था आएको बताए । अनुसन्धानको व्यवस्था मिलाउन थालिएको पनि स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

भेरी अस्पतालको पेडियाट्रिक वार्डमा उपचारत ती बालिकाको स्वास्थ्यमा सुधार भइरहेको अस्पतालका बालरोग विशेषज्ञ डा. प्रतिमा खड्काले बताईन । उनले दस दिन बढीको उपचारपछि अहिले बालिकाको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको जानकारी दिईन । ती बालिकालाई करिव एक हप्ता आइसीयूमा राखेर उपचार गरिएको थियो ।

ती बालिकालाई जापानीस इन्सेफलाइटिस विरुद्धको खोप लगाईएको नलगाईएको बारे केही पनि थाहा हुन नसकेको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख शाहीको भनाइ छ ।  जापानीस इन्सेफलाइटिसबाट जोगिन जन्मेको १२ देखि २३ महिनाभित्र खोप लगाइनु सक्नु पर्ने हुन्छ ।

तर स्वास्थ्य क्षेत्रको पहुँच निकै कम रहेको र सचेतनाको पनि अभाव रहेको जिल्लाकै विकट मानिने नरैनापुरका अधिकांशले खोप लगाए नलगाएको बारे स्वयं स्वास्थ्यकर्मीहरु समेत जानकार छैनन् ।

चिकित्सकहरुका अनुसार सुँगुर र चराहरुमा जापानीज इन्सेफलाइटिसका भाइरस हुन्छन् । ती जनावरलाई टोकेको क्युलेक्स नाम गरेको लामखुट्टेले मानिसलाई टोकेपछि संक्रमण गराउँछ । यो भाइरसले मुख्यतया मस्तिष्कलाई असर पार्ने गर्छ ।

जापानीज इन्सेफलाइटिस भइसकेपछि ज्वरो आउने, टाउको दुख्ने, जीउ काम्ने र वान्ता लागेको जस्तो लक्षण देखापर्ने भेरी अस्पताल नेपालगन्जका सूचना अधिकारी वरिष्ठ फिजिसियन डा. संकेत कुमार रिसालले बताए । जापानीज इन्सेफलाइटिस लामखुट्टेको टोकाइबाट सर्ने रोग भएकाले लामखुट्टेको टोकाइबाट बच्ने उपाय अपनाएर मात्र यो रोगको जोखिम कम गर्न सकिने उनकाे भनाइ छ ।

  • २४ भाद्र २०८१, सोमबार १३:११ प्रकाशित
  • Nabintech