१४ साउन, कोहलपुर । बाँकेको बैजनाथ सामाजिक उद्यमी महिला सहकारी संस्थाले आफना सदस्यहरुलाई उद्यमशिल बनाउँदै आएको छ । समुदायमा रहेका विपन्न बर्गका महिलाहरुलाई लघु उद्यम गर्न प्रेरणा र बित्तीय सहयोग गर्दै आएको उक्त सहकारीले बिभिन्न दातृ निकायसँगको समन्वयमा सदस्यहरुलाई उद्यमशिल बनाउने अभियान संचालन गर्दै आईरहेको छ ।
हेफर ईन्टर नेशनल, सेवा नेपाल र उत्पिडत सामुदायिक विकास केन्द्र ओसिडिसिको साझेदारीमा समुदायमा रहेका विपन्न बर्गका महिलाहरुलाई उद्यमी वनाउने उद्धेश्यका साथ बाख्रा उपहार, खोर निर्माण तथा वित्तीय साक्षरताका माध्यमबाट संगठित गरि उनीहरुलाई सहकारीका माध्यमबाट एकत्रित गराई वित्तीय सेवा प्रदान गर्दै आएको सहकारीले गत आर्थिक बर्षमा न्युन ब्याजदरमा (१२ देखि १४ प्रतिशत) कर्जा उपलब्ध गराई स्थानियलाई स्वावलम्बि बनाउने प्रयास गरेको संस्थाका अध्यक्ष कमला बुढा बताउँछिन ।
अन्य बित्तीय संस्थाहरुले कर्जा लगानि गरेको अर्को महिना देखि नै किस्ता माग्ने गरेको परिप्रेक्षमा बैजनाथ सामाजिक उद्यमीले भने कर्जा लिएको ३ देखि ६ महिनामा मात्र किस्ता असुल गर्ने भएकाले पनि अन्य समुह त्यागेर बैजनाथमा आबद्ध भएको सहकारीका सदस्यहरुले बताएका छन ।
“कर्जा लिएर बाख्रा किन्यो मल समेत राम्रोसँग संकलन भएको हुदैन यता किस्ता तिर्न पर्ने कुराले संधै पिरोलिरहन्थ्यो” बाख्राको किस्ता तिर्न अन्नपात देखि सुन धरौटि राख्नुपर्ने आफनो बाध्यता सुनाउदै बैजनाथ १ चिसापानीकी सदस्य कालि कोईला बुढाले बैजनाथ सहकारीबाट लिएको कर्जाको किस्ता बाख्रा ब्याएपछि उपहारसँगै किस्ता तिर्नेगरी पाठा बेच्दा माउ समेत नाफा भएको अनुभव सुनाईन । उनले मागेको बेला सहज र सरल रुपमा अन्य संस्थाको तुलनामा सुलभ ब्याजदरमा कर्जा समेत पाउने गरेको भन्दै नियमित बचत गर्ने हौसला मिलेको बताईन ।
सहकारीले सबै सदस्यहरुलाई ऋणि मात्र हैन सहकारीको मालिक समेत बनाएको छ । स्थापना कालमा प्रति सदस्य १ हजार शेयर लिएर सदस्यता दिएको सहकारीका अहिले प्रति सदस्य औषतमा रु ५ हजारका शेयर धनि समेत भएका छन । कुनै सदस्य समुह त्याग गर्न चाहेमा पनि सहज समुह त्याग गराई उनीहरुको बचत र शेयर समेत फिर्ता गर्ने गरेको सुनाउदै सहजकर्ता गंगा वलिले बाध्यताले बाहेक अन्य अवस्थामा सदस्यले समुह छोड्न नमान्ने अनुभव सुनाउछिन ।
१८ प्रतिशत ब्याज, २ प्रतिशत सेवा शुल्क तिरेर कर्जा लिएको अर्को महिना देखि नै किस्ता तिर्नुपर्ने गरि अन्य संस्थावाट कर्जा लिंदा आफु निकै मारमा परेको अनुभव सुनाउदै बैजनाथ ३ डिगियाकी सरस्वती चौधरीले बैजनाथ सामाजिकबाट आफुले पाएको सेवाबाट सन्तुष्ट भएकाले अन्य वित्तीय संस्थाको सदस्यता त्यागेको बताईन । कतिले त सदस्यता त्याग गर्न नदिने दम्भ देखाएको भएपनि आफुले सबै कारोबार क्लिएर गरेर सदस्यता त्यागेको बताईन ।
लगातार समुदायमा सर्पोट गर्दै आएको हेफर ईनटरनेशनलले सेवा नेपाल र ओसिडिसिको साझेदारीमा समुदायमा बाख्रा उपहार, बाख्रा पैंचो र वित्तीय साक्षरता दिएकै कारण बित्तीय सचेतनामा समेत अभिबृद्धि भएको सेवा नेपालका अधिकृत गोपि पुडासैनि बताउछन । उनले पछिल्लो समय बित्तीय सहयोग नगरेपनि समुदायका सदस्य र सहकारीहरुलाई प्राबिधिक सहयोग भने निरन्तर गर्दै सहकारीलाई स्वसक्षमता र क्षमता अभिबृद्धिलाई भने निरन्तरता दिईरहेको बताए ।
बैजनाथ सामाजीक उद्यमी महिला सहकारी संस्थाले आर्थिक बर्ष ०८०/०८१ मा १ हजार ५ सय पच्पन्न सदस्य मार्फत ७३ लाख बचत परिचालन गर्दै शेयर कारोबार ३० लाखको गरेको छ भने कर्जा लगानि १ करोड २५ लाख गर्दै लगानिमा रहिरहेको कर्जा ९२ लाख पुर्याउन सफल भएको छ । यस अवधिमा सहकारीको खुद नाफा २६ हजार ८४९ रहेको छ भने सहकारीको भाखा नाघेको कर्जा शुन्यमा पुगेको छ ।
चालु वर्षका लागि आफना शेयर सदस्यहरुलाई मुनाफा दिने गरी योजना बनाईरहेको बताउँदै संस्थाका प्रबन्धक प्रमोद रिजालले आफुले बित्तीय क्षेत्रमा बुटुलेका अनुभव र टुल्सहरुको प्रयोग गर्दै सहकारीलाई थप मजबुद पार्ने दावि गरेका छन । उनले सदस्यता बृद्धिलाई स्थिर राख्दै चालु वर्षमा शेयर बिक्रिबाट शेयर पुजिलाई ५० लाख पुर्याउने, बचतलाई बिभिन्न प्रतिफलमा रुपान्तरण गर्ने गरी १ करोड ३० लाख पुर्याउने र उठाउन बाँकि कर्जा २ करोड २५ लाख पुर्याउने महत्वाकांक्षि योजना अघि सारेका छन ।
सहकारीले अघिल्लो आर्थिक वर्षमा अन्य बित्तीय संस्थावाट ५ लाख ७० हजार मात्र कर्जा लिएको भएपनि यस वर्ष अन्य बित्तीय संस्थाबाट रु. ५० लाख सम्म कर्जा सापटी लिई आफना सदस्यहरुलाई सरल र सहज वित्तीय सेवा प्रदान गर्ने योजना रहेको प्रबन्धक रिजालको भनाई छ ।
१४ श्रावण २०८१, सोमबार १९:१९ प्रकाशित