सोमबारदेखि एक हप्तासम्म सरकारी खाता रोक्का
  • काँचुली खबर

२३ असार, काठमाडौं । असार २४ गते सोमबार मध्यरातदेखि सबै सरकारी खाता एक हप्ताका लागि बन्द हुने भएका छन् । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३० को व्यवस्थाअनुसार महालेखा नियन्त्रक कार्यालय, प्रदेश लेखा नियन्त्रक कार्यालय र सबै जिल्लाका कोष तथा लेखा नियन्त्रक कार्यालयले सञ्चालन गर्ने खाता बन्द गर्न लागिएको हो ।

कानुनमै उल्लेख भएको विषय भएकाले कार्यालयले यस वर्ष खाता बन्द गर्न मातहतका कार्यालयलाई परिपत्र नगरिए पनि सोमबार रातीदेखि बजेट भुक्तानी नहुने महालेखा नियन्त्रण कार्यालयका प्रवक्ता ओमप्रसाद रिजालले जानकारी दिए ।

उनले भने, ‘सोमबार रातिदेखि स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र), एकल खाता कोष प्रणाली (टीएसए) र कम्प्युटरकृत सरकारी लेखा प्रणाली (सिगास) एक हप्ताका लागि बन्द हुनेछन् ।’

संघ, प्रदेश तथा स्थानीय तहको बजेट भुक्तानी निकासाका लागि प्रयोग हुँदै आएका सबै खाता एक हप्ताका लागि बन्द भएकाले सोमबारसम्ममा चालु आर्थिक वर्ष २०८०/८१ को बजेट भुक्तानी दायित्व फरफारक गरिसक्नुपर्ने प्रवक्ता रिजालले बताए ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावलीको नियम ३० मा आर्थिक वर्ष समाप्त हुन एक साता अघि भुक्तानी निकासा बन्द गर्नुपर्ने व्यवस्था छ ।

विनियोजन ऐनले ‘फ्रिज’ नहुने भनी तोकेको शीर्षकको बाहेक अन्य रकम भुक्तानी गर्न पाइँदैन । यद्यपि, अत्यावश्यक प्रयोजनमा भएको खर्चका लागि भने महालेखा नियन्त्रक कार्यालयको सहमतिमा भुक्तानी गर्न सकिने व्यवस्था नियमावलीमा छ ।

  • २३ असार २०८१, आईतवार १९:०१ प्रकाशित
  • Nabintech