बाँकेको नरैनापुर गाउँपालिकाको बजेट ५६ करोड ६१ लाख
  • काँचुली खबर

१४ असार, नेपालगन्ज । बाँकेको नरैनापुर गाउँपालिकाको आर्थिक वर्ष २०८१-०८२ को नीति तथा कार्यक्रम र बजेट पारित भएको छ । गाँउपालिकाले ५६ करोड ६१ लाख ९१ हजार ५०० रुपियाँको बजेट ल्याएको छ ।

गाउँपालिकाको सोमबार बसेको १५औँ गाउँसभामा विपक्षी दल नेपाली काँग्रेसले विरोध गरेपछि आर्थिक विधियेक, नीति तथा कार्यक्रम प्रस्तुत नभएर स्थगित भएको सभा बिहिबार पुन सञ्चालन गरेर नीति तथा कार्यक्रम बजेट प्रस्तुत गरी बहुमतले पारित गरेको हो ।

गाउँपालिकाका अध्यक्ष ईस्तियाक अहमद शाहले शिक्षा, स्वास्थ्य, कृषि, पशु, स्वरोजगार, विपद लगायतको विषयलाई समेटेर प्रस्तुत गरेको नीती तथा कार्यक्रम पारित भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनकलाल चौधरीले बताए ।

गाउँसभाले पारित गरेको नीति तथा कार्यक्रममा “किसान अब न हुवा जाई परिसान” मागमा आधारित कार्यक्रम सञ्चालन गर्ने जनाइएको छ भने “ट्रेकिङ अब कहाँ है दुर चलो नरैनापुर” कार्यक्रममार्फत् पर्यटन प्रवद्र्धन कार्यक्रम संचालन गरिने गाउँपालिकाका अध्यक्ष शाहले बताए । उनले शिक्षा क्षेत्रमा “मदरसा के पढाई हुई पुरी लेकिन, अब भि है पढाई अधुरी” कार्यक्रम संचालन गरी मदरसाको पढाई पश्चात पनि पढाईलाई निरन्तरता दिन जोड दिइने बताए ।

पालिकाले ११ वटा महत्वपूर्ण कार्यक्रमलाई प्राथमिकतामा राखेर बजेट तयार गरेको लेखा अधिकृत भरत बस्नेतले जानकारी दिए । उनले सभामा वार्षिक नीति तथा कार्यक्रम र प्रस्तावित बजेट बहुमतले पारित भएको बताए । गाउँसभा सचिव तथा प्रमुख प्रशासकिय अधिकृत चौधरीले सञ्चालन गरेको सभामा गाउँपालिका उपाध्यक्ष जयन्ती देवी श्रीवास्तव, वडाध्यक्षहरु इसाक जोलाह, मसूद अहमद शाह, अजय मिश्रा, मनोज शर्मा, कृष्ण मौर्य, कार्यपालिका सदस्य लगायतको सहभागिता रहेको थियो ।

  • १४ असार २०८१, शुक्रबार १५:३९ प्रकाशित
  • Nabintech