केन्द्रीय सरकारद्वारा बाँकेकालागी चार अर्ब २० करोड बजेट विनियोजन
  • काँचुली खबर

२४ जेठ, नेपालगन्ज । सङ्घीय सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि बाँकेको आठ स्थानीय तहलाई चार अर्ब २० करोड बढी बजेट विनियोजन गरेको छ।

बाँकेका लागि चालु र पुँजीगत गरी चार अर्ब २० करोड २५ लाख रुपियाँको बजेट विनियोजन गरिएको अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार चालु आर्थिक वर्ष २०८०/०८१ भन्दा आगामी आर्थिक वर्षका लागि २७ करोड बढी बजेट विनियोजन गरिएको हो। आर्थिक वर्ष २०८०/०८१ मा जिल्लाका लागि तीन अर्ब ९३ करोड ३५ लाख बजेट विनियोजन गरिएको थियो ।

सरकारले आगामी आर्थिक वर्षमा बाँकेका आठ स्थानीय तहका लागि चालुतर्फ तीन अर्ब ७३ करोड ४९ लाख र पुँजीगत तर्फ ४६ करोड ७८ लाख रुपियाँ विनियोजन गरेको छ।

आठ स्थानीय तहलाई समानीकरण अनुदान तर्फ एक अर्ब २७ करोड ७५ लाख, सशर्त तर्फ दुई अर्ब ७३ करोड २५ लाख, विशेष तर्फ १३ करोड पाँच लाख, समपूरक तर्फ छ करोड २० लाख रुपियाँ विनियोजन गरिएको छ।

आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि सबैभन्दा बढी बजेट नेपालगन्ज उपमहानगरपालिकालाई विनियोजन गरिएको छ। नेपालगन्ज उपमहानगर पालिकाका लागि कुल ९१ करोड ६५ लाख रुपियाँ विनियोजन गरिएको छ। जसमा सशर्त अनुदान ६१ करोड २० लाख, वित्तीय समानीकरण २७ करोड ९५ लाख, विशेष अनुदान एक करोड ५० लाख र समपूरक अनुदान एक करोड रहेको छ।

कोहलपुर नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ५६ करोड ७५ लाख बजेट पाउने भएको छ। जसमध्ये सशर्त अनुदान ३७ करोड २४ लाख, वित्तीय समानीकरण अनुदान १८ करोड ९६ लाख, समपूरक अनुदान ५५ लाख रुपियाँ विनियोजन गरिएको छ।

खजुरा गाउँपालिकाका लागि सरकारले कुल ५१ करोड १३ लाख विनियोजन गरेको छ। जसमा सशर्त अनुदान ३५ करोड ७० लाख, वित्तीय समानीकरण १४ करोड ९३ लाख, विशेष अनुदान ५० लाख रहेको छ। त्यस्तै, बैजनाथ गाउँपालिकालाई ५३ करोड ४९ लाख विनियोजन गरिएको छ। जसमा सशर्त ३६ करोड ७ लाख, वित्तीय समानीकरण १५ करोड ४२ लाख, विशेष अनुदान दुई करोड विनियोजन गरिएको छ।

जानकी गाउँपालिकाले ३३ करोड ६६ लाख रुपियाँ प्राप्त गरेको छ। जानकीले सशर्त तर्फ १९ करोड ७७ लाख, वित्तीय समानीकरण तर्फ ११ करोड ९९ लाख, विशेष तर्फ ९० लाख र समपूरक तर्फ एक करोड रुपियाँ प्राप्त गर्ने छ।

डुडुवा गाउँपालिकाले ३४ करोड ८७ लाख रुपियाँ सङ्घीय सरकारबाट पाउँदैछ। जसमा सशर्त तर्फ २० करोड २३ लाख, वित्तीय तर्फको ११ करोड ६४ लाख विशेष दुई करोड र समपूरक तर्फ एक करोड रुपियाँ रहेको छ।

राप्तीसोनारी गाउँपालिकाका लागि ५६ करोड ३६ लाख रुपियाँ विनियोजन गरिएकोमा सशर्त तर्फको ३६ करोड ४७ लाख वित्तीय समानीकरण १५ करोड ८९ लाख, विशेष अनुदान दुई करोड ८० लाख, समपूरक १ करोड ३० लाख रहेको छ।

त्यस्तै, नरैनापुर गाउँपालिकाका लागि ४२ करोड ३४ लाख रुपियाँ विनियोजन गरिएको छ। नरैनापुरले २६ करोड ५७ लाख सशर्त, ११ करोड सात लाख वित्तीय समानीकरण, विशेष तर्फ तीन करोड ३५ लाख र समपूरक तर्फ एक करोड ३५ लाख रुपियाँ बजेट प्राप्त गर्दैछ।

गाेरखापत्रबाट

  • २४ जेष्ठ २०८१, बिहीबार ०८:४८ प्रकाशित
  • Nabintech