इन्जिनियरिङ पढेका मिलनको लोभलाग्दो च्याउखेती
  • रासस

१० मंसिर, कोहलपुर । बाँकेको बैजनाथ गाउँपालिका-१ गाभार भ्यालीमा ३१ वर्षीय मिलन बस्नेतले च्याउखेती गर्दै आएका छन् । उनले एक बिघा जग्गामा ६ वर्षदेखि गोब्रे प्रजातिको च्याउखेती गरिरहेका छन् ।

६ करोड लगानीमा निर्माण गरिएको च्याउ फार्ममा दुई भारतीय नागरिकसहित १३ जनाले रोजगारी पाएको बस्नेतले बताए । साथीहरूसँग मिलेर १० कठ्ठा जमिन भाडामा लिएको र बाँकी १० कठ्ठा आफ्नै जमिनमा खेती सुरु गरेको उनको भनाइ छ ।

भारतमा ब्याचलर इन्जिनियरिङको पढाइ पूरा गरेका मिलनले परदेशमा दुःख गरेर कमाएको पैसाले भन्दा आफ्नै माटोमा मेहेनत गरेर फलाएको नतिजाले उनलाई लोभ्याएको छ । ‘उपयुक्त योजना बनाएर कार्यान्वयन गर्न सके आफ्नै देशमा सुन फलाउन सकिने रहेछ,’ उनले भने, ‘अहिले फार्ममा १३ जनाले रोजगारी पाएका छन् । यो सबै योजना र मेहेनतको प्रतिफल हो ।’

जग्गा भाडामा लिएर व्यावसायिक रूपमा गरिएको गोब्रे च्याउखेती थालेका मिलन र उनका साथीहरूलाई स्वदेशमै काम गर्न हौसला दिएको छ । बाह्रैमास च्याउखेती गर्दै आएका मिलनले यस वर्ष मात्रै एक लाख केजी च्याउ फलाएका छन् । उक्त च्याउ सुदूरपश्चिमको धनगढी, बाँकेको नेपालगन्ज र कोहलपुर, सुर्खेत, दैलेख, दाङ र काठमाडौँको कालीमाटीलगायत ठाउँमा पठाउने गरेको उनले जानकारी दिए ।

मिलनका अनुसार च्याउ फलाउनका लागि चार वटा एसी जडान गरिएको कोठा निर्माण गरिएको छ । एउटा कोठामा १० टनको एसी जडान गरिएको उनको भनाइ थियो । च्याउको बीउ छरेर उमार्नलाई १६ डिग्री तापक्रम चाहिने मिलनले बताए । ‘च्याउ उमार्न १६ डिग्रीको तापक्रम चाहिन्छ । च्याउ आफैँमा असाध्यै नै संवेदनशील प्रजातिको भएकाले यसलाई उमार्न तापक्रममा निकै ध्यान दिनुपर्ने हुन्छ,’ उनले भने ।

काठमाडौँको कालीमाटीमा च्याउ पठाउँदा प्रतिकिलो ६० रुपैयाँका दरले जहाजमार्फत पठाउने गरेको मिलनले जानकारी दिए । ‘हामीले यहाँबाट काठमाडौँको कालीमाटीमा पनि च्याउ पठाउने गरेका छौँ,’ उनले भने, ‘प्रतिकेजी ६० रुपैयाँका दरले जहाजमार्फत काठमाडौँ च्याउ जाने गरेको छ ।’ धेरै मेहेनत गर्नु नपर्ने र बजारभाउ पनि राम्रै हुने भएकाले च्याउखेती गर्दा सन्तुष्टि मिलेको उनको भनाइ छ ।

बीउ छरेको लगभग एक महिनामा च्याउ टिप्नलाई तयार हुने मिलनले बताए । च्याउ खेतीमा राम्रो सम्भावना भए पनि भन्सार छली गरेर आयात गरिएका भारतीय च्याउका कारण स्वदेशी च्याउले राम्रो बजार भाउ पाउन नसकेको उनले गुनासो गरे ।

‘हामीले आफ्नो सबै लगानी लगाएर, दुःख र मेहेनतका साथ च्याउ फलाएका हुन्छौँ । बेच्ने बेलामा भारतबाट भन्सार छलेर ल्याइएका च्याउ नेपाली बजारमा सस्तो मूल्यमा आइपुग्छ,’ मिलनले भने, ‘भन्सार छली गरेर ल्याइने भारतीय च्याउमा प्रशासनको ध्यान जानसक्यो र आयातित च्याउ भित्रिन पाएन भने हामीलाई च्याउखेतीमा अगाडि बढ्न सजिलो हुन्छ ।’

उनका अनुसार प्रतिदिन नेपालगन्ज बजारमा २ सयदेखि ५ सय केजी भारतीय च्याउ आउने गर्दछ । प्रतिकेजी साढे ३ सयदेखि ४ सय रुपैयाँमा नेपालमा उत्पादन गरिएको च्याउ बिक्री हुने भन्दै भारतबाट आयात गरिएको च्याउ प्रतिकेजी डेढ सयमा बिक्री हुने गरेको मिलनको भनाइ छ ।
सहायक प्रमुख जिल्ला अधिकारी लालबहादुर गुरुङले भन्सार छली गरी ल्याइने च्याउलगायत अन्य तरकारीका विषयमा सीमा नाकामा अनुगमनलाई कडा गरिएको बताए ।

‘हामीले च्याउमात्र नभई भन्सार छली गरेर ल्याइने अन्य सामान नेपाल भित्रिन नपाओस् भनेर अनुगमनलाई कडाइका साथ पालन गरेका छौँ,’ उनले भने, ‘सीमा नाकामा जाँच कडाइ गर्दागर्दै पनि अन्यत्रको बाटो प्रयोग गरी सामान भित्र्याइन्छ । यसतर्फ प्रशासनले सम्बन्धित निकायसँग समन्वय गरी अनुगमनलाई अगाडि बढाइरहेको छ ।’ रासस

  • १० मंसिर २०८०, आईतवार १६:०२ प्रकाशित
  • Nabintech