१४ कात्तिक, कोहलपुर । कोहलपुर नगरपालिका-२ प्रेमनगरको पूर्व-पश्चिम राजमार्ग हुँदै ओम शान्तिसम्मको सडक कालोपत्रे गरिएको छ ।
पूर्व-पश्चिम राजमार्गदेखि ओम शान्तिसम्मको २ सय ३५ मिटर लामो सडक कालोपत्रे गरिएको वडाध्यक्ष हरि कठायतले जानकारी दिए । खुसी बिल्डरले ४२ लाख लागतमा कालोपत्रेको काम सम्पन्न गरेको हो ।
‘दसैँ अगाडि नै निर्माण कम्पनीले कालोपत्रेको काम सम्पन्न गरेको थियो,’ वडाध्यक्ष कठायतले भने, ‘सडक कालोपत्रे भएसँगै स्थानीयहरूले धुलाम्य सडकबाट मुक्ति पाएका छन् ।’
प्रि-मिक्स अस्पाल्ट कालोपत्रे गरिएको खुसी बिल्डरका सञ्चालक उमेश शाहीले जानकारी दिए । उनका अनुसार सडक कालोपत्रेसँगै सोही रकममा १०२ मिटर आरसीसी नाली समेत निर्माण गरिएको थियो ।
दसैँ अगाडि प्रि-मिक्स अस्पाल्ट कालोपत्रे गरिएको सडकको सोमबार गुणस्तर जाँच समेत गरिएको वडाध्यक्ष कठायतले जानकारी दिए ।
कोहलपुर नगरपालिका उपप्रमुख संगीता सुवेदीको नेतृत्वमा गएको प्राविधिकसहितको टोलीले प्रि-मिक्स अस्पाल्ट कालोपत्रे र नालीको गुणस्तर परीक्षण गरेको थियो ।
परीक्षणका क्रममा सडक मापदण्डअनुसार नै कालोपत्रे भएको पाइएको प्राविधिकहरूले बताएको वडाध्यक्ष कठायतले दाबी गरे ।
सडकको अनुगमन तथा गुणस्तर जाँच गर्न प्राविधिकसहित नगर उपप्रमुख सुवेदी, पूर्वाधार समितिका संयोजक तथा सदस्यहरू, वडाध्यक्ष, निर्माण कम्पनीका प्रतिनिधिलगायत पुगेका थिए ।
१४ कार्तिक २०८०, मंगलवार १३:४२ प्रकाशित