२५ असोज, कोहलपुर । जिल्ला प्रहरी कार्यालय बाँकेले चाडपर्व लक्षित विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याइएको छ ।
सदरमुकाम नेपालगन्ज अशान्त भएपछि एकसातासम्म जारी भएको कर्फ्यु र निषेधाज्ञा मङ्गलबार बिहानदेखि पूर्णरुपमा हटाइएपछि जिल्ला प्रहरीको ध्यान चाडपर्व लक्षित विशेष सुरक्षा योजना कार्यान्वयनमा केन्द्रित भएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाङ्गीले चाडपर्व लक्षित गरी जिल्लाभर विशेष सुरक्षा योजना लागू गरिएको जानकारी दिए ।
चाडपर्व लक्षित गरी जमुनाह नाका, नेपालगन्ज बसपार्क र कोहलपुरमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ ।
प्रहरी नायब उपरीक्षक डाङ्गीले भने, ‘‘जिल्लाभर शान्ति सुरक्षा कायम गर्नका लागि सादा पोसाकमा पनि प्रहरी टोली परिचालन गरिएको छ ।’’
जिल्ला प्रहरी कार्यालयले माइकिङ र पर्चा पम्पलेट वितरण गरी जनचेतना फैलाउने अभियान समेत चलाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेले चाडपर्वको समयमा हुन सक्ने सम्भावित चोरी, डकैती, अपराध लगायतका घटना तथा दुर्घटनाबाट सर्वसाधारणलाई सुरक्षा प्रदान गर्नका लागि विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याइएको जनाएको छ ।
जिल्लाभित्र कुनैपनि स्थानमा आपराधिक गतिविधि तथा अन्य दुर्घटना लगायत भएमा तत्काल प्रहरी टोली घटनास्थल पुग्ने गरी व्यवस्थापन गरिएको छ । प्रहरीले भारतबाट फर्किने नेपालीको सुरक्षा र सहजतालाई प्राथमिकता दिइएको जनाएको छ ।
गोरखापत्रबाट
२५ आश्विन २०८०, बिहीबार १३:२० प्रकाशित