२४ असाेज, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेल क्षेत्रको प्रवद्र्धनका लागि आफू सरकार प्रमुखको हैसियतले कुनै कसर बाँकी नराख्ने बताएका छन । आज साँझ सरकारी निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा चीनमा आयोजित १९ औं एसियाली खेलकूदमा विजयी खेलाडीहरुलाई बधाई ज्ञापन गर्दै प्रधानमन्त्रीले आउने दिनमा अझै ठुलो सफलता प्राप्त गर्नेगरी लाग्न शुभकामना दिए । उनले यसपटकको एसियाली खेलकूदमा महिलाहरुको प्रस्तुति नौलो भएको उल्लेख गर्दै आउने दिनमा अझै ठूला सफलता प्राप्त हुने विश्वास व्यक्त गरे ।
प्रधानमन्त्री प्रचण्डले आफु खेलाडीलाई हौसला प्रदान गर्न होङजाओ पुगेर एसियाली गेम्स उद्घाटनमा सहभागी भएको स्मरण गर्दै विजेता खेलाडीलाई उचित पुरस्कार दिने काममा आफू लागेको बताए । उनले भने, ‘केही कानुनी जटिलताले ढिलाइ हुन पुगेको हो, अब त्यसको पनि समाधान भएको छ ।’
उनले खेल क्षेत्रको विकासका लागि सरकारको अंग आफूलाई ठानेर अघि बढ्नुपर्ने बताए । उनले भने, ‘सरकारको अङ्ग म पनि हो भन्ने हामी सबैले ठान्यौं । हामीले केही अन्तर्राष्ट्रिय पदक हासिल गरेका छौं । केही मेडल ल्यायौं ।’
प्रधानमन्त्री प्रचण्डले भने, ‘चीन जाने बेलामा आफूले महिला सहभागिता देखेर बधाई दिएको थिएँ । अहिले महिलाले नै मेडल र रेकर्ड बनाउनुभयो । तपाईंहरूलाई बधाई दिन चाहन्छु । खेलाडीको प्रोत्साहनको लागि मैले रकम दिने घोषणा गरेको थिएँ । नियमावली पास गरेका थियौं । आजको क्याबिनेटमा निकासाका लागि निर्णय भयो र अब एक हप्तामा त्यो आउँछ ।’
नेपालको खेल विश्वले हेरेको बताउँदै क्रिकेटमा अन्तर्राष्ट्रिय रेकर्ड राखेको भन्दै प्रधानमन्त्रीले खुसी व्यक्त गरे । प्रधानमन्त्री प्रचण्डले भने, ‘संयुक्त राष्ट्रसंघ पुगेर आए । यसपालि नेपाललाई विश्वले देखेको छ, सुनेको छ । तपाईंहरूले पनि विश्व रेकर्ड बनाएर नेपालको नाम स्थापित गर्नुभएको छ । तपाईंहरुको प्रस्तुतिले पनि नेपाललाई विश्वले देख्ने र सुन्ने स्थानमा पुर्याएको छ ।’
प्रधानमन्त्रीले नेपाली खेलाडीको एसियाली खेलमा गरेको प्रस्तुतिले आफूलाई खुसी र गर्वको महशुस भएको बताए ।
२४ आश्विन २०८०, बुधबार २०:३३ प्रकाशित