८ साउन, काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले खाद्य तथा कृषि सङ्गठनको मुख्यालय इटालीको रोममा आयोजित ‘युनाइटेड नेसन्स फुड सिस्टम २०२३ स्टकिङ मोमेन्ट’ लाई आज सम्बोधन गरेका छन ।
सम्बोधनमा प्रधानमन्त्री प्रचण्डले नेपालमा लागू गरिएको विद्यालय खाजा कार्यक्रम विद्यार्थीको स्वास्थ्य र समग्र शैक्षिक सुधारमा निकै प्रभावकारी भएको बताए ।
विद्यालय खाजा कार्यक्रम नेपालको एउटा सफल कार्यक्रम हो । यसबाट नेपालमा हरेक दिन ३३ लाख विद्यार्थी लाभान्वित भइरहेका छन्,’’ प्रधानमन्त्रीले भने, ‘‘परिणामस्वरूप विद्यार्थी भर्नामा वृद्धि, नियमित उपस्थिति र शैक्षिक सुधार जस्ता फाइदा देखा परेका छन् ।’’
उनले सन् २०२१ को खाद्य सम्मेलनपछि नेपालले स्थानीयस्तरसम्मको खाद्य प्रणालीका बारेमा छलफल चलाएको र सन् २०२२ देखि २०३० सम्मका लागि खाद्य प्रणाली रूपान्तरण रणनीतिक योजना बनाएको जानकारी गराए ।
प्रधानमन्त्री प्रचण्ड तीन दिने भ्रमणका लागि शनिबार इटाली प्रस्थान गरेका थिए । यही साउन ८ देखि १० गतेसम्म आयोजना हुने संयुक्त राष्ट्रसङ्घीय खाद्य प्रणाली शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री प्रचण्ड इटालीको राजधानी रोम पुगेका हुन ।
प्रधानमन्त्री प्रचण्डले अति कम विकसित मुलुकको अध्यक्षको हैसियतमा सोमबार सम्मेलनमा सम्बोधन गरेका हुन ।
सन् २०१४ पछि हुन लागेको यो महत्त्वपूर्ण भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले इटालीमा रहेका नेपाली समुदायसँग समेत छलफल गर्ने कार्यसूची रहेको छ ।
भ्रमण टोलीमा कृषि तथा पशुपन्छी विकासमन्त्री डा. वेदुराम भुषाल, प्रधानमन्त्रीका छोरी गंगा दाहाल, राष्ट्रिय योजना आयोगका सदस्य डा. जयकान्त राउत तथा नेपाल सरकारका अन्य वरिष्ठ अधिकारीहरुको सहभागिता रहेको छ ।
८ श्रावण २०८०, सोमबार १६:०७ प्रकाशित