१८ बैशाख २०८१, मंगलवार
सल्यानलाई बाँकेसँग जोड्न बबईमा मोटरेवल पुल
  • काँचुली खबर

१५ चैत्र, सल्यान । सल्यान जिल्लालाई बाँके जिल्लासँग जोड्नका लागि बबई नदीमा मोटरेवल पुल निर्माण थालिएको छ । कर्णाली प्रदेशलाई लुम्विनी प्रदेशसँग जोड्ने खलंगा-कालीमाटी-चप्परगौडी सडकअन्तर्गत पर्ने बबई नदीमा पुल निर्माण थालिएको हो । सल्यान-कोहलपुर जोड्ने छोटो मार्गका रुपमा रहेको यस सडकको ट्रयाक खोल्ने काम भए पनि स्तरोन्नति र बबई नदीमा पुल नहुँदा समस्या हुँदै आएको छ ।

अहिले भने कालीमाटी गाउँपालिका भएर बग्ने बबई नदीमाथि हात्तीदमार-दमदुवाली र हात्तीढुंगा-घुइयावारी सडकमा पुल निर्माण थालिएको छ । यी दुबै स्थानबाट निर्माण थालिएको पुलले सल्यानलाई बाँके जिल्लासँग जोड्नेछ । वर्षौंदेखिको पहल र प्रयासबाट पुल निर्माण कार्यको थालनी भएको स्थानीय बताउँछन् ।

स्थानीय गीता बुढा मगरले बबई नदीमा मोटरेवल पुल निर्माण थालिएकोमा खुशी व्यक्त गर्दै अब यसको चाँडै निर्माण सम्पन्न गर्नुपर्ने बताईन । ‘पहिला त बबईमा पुल नै थिएन, बर्खामा नदी वारपार गर्न सकिदैनथ्यो, विद्यार्थीहरु चिन्नाको सहयोगमा नदी तर्थे’ उनले भनिन, ‘अहिले पुल निर्माण हुनथालेपछि विकास आएको महसुस भएको छ, तोकिएको समयमा नै पुल निर्माण होस्, पहिले जसरी उर्लदो बबई तर्नु नपरोस् ।’

अर्का स्थानीय नैनी महतराले पुल नहुँदा आफूहरुले सास्ती पाउँदै आएकोमा अब भने सहज हुने बताईन । ‘विद्यार्थीहरु मात्रै होइन्, यहाँका स्थानीयहरुले पनि घाँस दाउरा, मेलापात बबई नदी तरेर गर्नुपर्ने बाध्यता छ’, उनले भनिन, ‘पुल नहुँदा नदी तर्नुको विकल्प छैन, अहिले पुल निर्माण थालिएकाले केही आशा पलाएको छ ।’ पुल नहुँदा वर्षेनि बबई नदी तर्ने क्रममा केहीले ज्यान गुमाएको र केही बेपत्ता भएको उनको भनाइ छ ।

कालीमाटी गाउँपालिका-७ का वडाध्यक्ष मित्रलाल रिजालले बबई नदीमा मोटरेवल पुल निर्माण हुन थालेपछि स्थानीय खुशी भएको बताए । हात्तीढुंगा–घुइयावारी पुलको करिब पाँच वर्ष पहिले शिलान्यास गरिएको भए पनि काम नहुँदा निराश बनेका स्थानीय पुलको डिजाइन परिवर्तन गरेर अहिले कामले गति लिन थालेपछि खुशी भएको उनको भनाइ छ । ‘अब बाह्रै महिना गाडी गुड्नेछन्, स्थानीयले सास्ती भोग्नुपर्दैन’ उनले भने ।

गाउँपालिका अध्यक्ष दानबहादुर केसीले खलंगा-कोहलपुर सडकको वैकल्पिक र महत्वपूर्ण सडकका रुपमा हेरिएको सल्यान-बाँके जोड्ने गरी हात्तीदमार-दमदुवाली र हात्तीढुंगा-घुइयावारी गरेर बबई नदीकै दुई स्थानमा पुल निर्माण थालिएको बताए । यसले पालिकाकै ७ नम्बर वडालाई पालिकाको मुकामसँग जोड्ने उनको भनाइ छ ।

‘दुबै पुलले सल्यानलाई बाँकेसँग जोड्नेछन्, अब निकुञ्जसँग सडक निर्माणको लागि अनुमति माग्ने तयारी छ, यो पुलले पालिकालाई मात्रै नभएर सिंगो जिल्लालाई नै जोड्नेछ’, उनले भने, ‘यो पुललाई पालिकावासीको विकास र समृद्धिसँग जोड्न आवश्यक छ ।’ अध्यक्ष केसीले दुबै मोटरेवल पुलको निर्माण कार्य धमाधम भइरहेको र तोकिएको समयमा नै निर्माण सम्पन्न हुने विश्वास व्यक्त गरे ।

पुल निर्माणको जिम्मा लिएको रसुवा कन्स्ट्रक्सनका साइट इञ्चार्ज महेशचन्द्र गौतमले अहिले पुल निर्माणको काम द्रुत गतिमा भइरहेको बताए । ‘सव स्टक्चरको काम जेठसम्म सम्पन्न हुन्छ, बर्खामा काम हुँदैन, बाँकी काम कार्तिक लागेपछि शुरु गर्छौं, आउँदो चैतमा पुल निर्माण सम्पन्न हुन्छ’ उनले भने । करिब २० करोड लागतमा हात्तीढुंगा-घुइयावारी पुल निर्माण भइरहेको छ ।

  • १५ चैत्र २०७९, बुधबार १३:१३ प्रकाशित
  • Nabintech