क्यानले बढायो राष्ट्रिय क्रिकेटरको पारिश्रमिक
  • काँचुली खबर

जेठ ११ , काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले पुरुष र महिला राष्ट्रिय क्रिकेट टोलीका खेलाडीको पारिश्रमिक बृद्धि गरेको छ ।

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले बिभिन्न समयमा क्यानका पदाधिकारीहरुसँग भएको छलफलमा खेलाडीहरुको पारिश्रमिक बढाउने विषयमा जोड दिदैं आएका थिए । सोही अनुसार मंगलबार बसेको क्यान कार्यसमितिको बैठकले पुरुष राष्ट्रिय टोलीमा रहेका तीनै ग्रेडका खेलाडीको पारिश्रमिक मासिक १० हजारका दरले बढाउने निर्णय गरेको हो ।

सन् २०१७ देखि क्यानले राष्ट्रिय टोलीका खेलाडीलाई तीन समूहमा वर्गीकरण गरी केन्द्रीय अनुबन्धनको व्यवस्था सुरु गरेको थियो । सुरुमा ‘ए’, ‘बी’ र ‘सी’ ग्रेडका खेलाडीले क्रमश: २५, १५ र १० हजार पारिश्रमिक दिइएको थियो ।

समयअनुसार पारिश्रमिक बढाउँदै लगेको क्यानको पछिल्लो निर्णयपछि नेपाली टोलीका ए ग्रेडका खेलाडीको पारिश्रमिक ६० हजार पुगेको छ । बी र सी ग्रेडका खेलाडीले क्रमश: ५० र ४० हजार रुपैयाँ पाउँछन् ।

यस्तै महिला क्रिकेट टोलीका खेलाडीको पनि पारिश्रमिक बढाइएको छ । ए र बी ग्रेडका खेलाडीको पारिश्रमिक मासिक ६ हजारका दरले बृद्धि गरिएको छ । सी ग्रेडका खेलाडीको ५ हजारका दरले बढेको छ ।

नयाँ पारिश्रमिकअनुसार ए ग्रेडका महिला खेलाडीले मासिक २१ हजार, बी र सी ग्रेडका खेलाडीले क्रमश: १८ र १५ हजार रुपैयाँ पारिश्रमिक पाउँछन् ।

क्यानले क्यालेन्डर वर्षमा गरेको प्रदर्शनका आधारमा खेलाडीको वर्गीकरण गरी पारिश्रमिक उपलब्ध गराउँदै आएको छ ।

अघिल्लो वर्ष क्यानको खेलाडी वर्गीकरणमा असन्तुष्टि जनाएका चारजना खेलाडीलाई अनुशासनको कारबाही गरिएको थियो ।

क्यानले क्रिकेट मैदान कर्मचारीको पारिश्रमिक मासिक ३ हजारका दरले बढाएको छ । मैदान कार्यालय सहयोगी र मैदान पीच क्यूरेटरको पारिश्रमिक पनि क्रमश: ५ र ६ हजारका दरले बृद्धि गरेको छ ।

  • ११ जेष्ठ २०७९, बुधबार १२:५२ प्रकाशित
  • Nabintech