जेठ १०, काठमाण्डौं । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति सरेको छ । घरेलु खेलकुदको सबैभन्दा ठूलो प्रतियोगिताको नवौं संस्करणको मिति तेस्रोपटक सरेको हो ।
युवा तथा खेलकुद मन्त्रालयको सिफारिसमा मंगलबार बसेको मन्त्रिपरिषद बैठकले असोज २८ देखि कात्तिक ३ गतेसम्म प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले जानकारी दिए ।
गत चैत ३० गतेको मन्त्रिपरिषद वैठकले जेठ २२ देखि २८ गतेसम्म नवौं खेलकुद आयोजना गर्न मिति निर्धारण गरेको थियो । तर आवश्यक तयारीको अभाव र मनशुनका कारण खेलकुद प्रतियोगिता स्थगित गर्नुपरेको मन्त्रालयले जनाएको छ ।
मंगलबार दिउँसो मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री गहतराजले वजेट कार्यान्वयनको समय नपुगेको, प्रदेश खेलकुद परिषदले खेलाडी छनोटका लागि थप समय माग गरेको र माध्यामिक शिक्षा अन्तर्गत कक्षा ११ र १२ को परीक्षा समय परेका कारण खेलकुद सार्नुपरेको जानकारी दिए ।
सरकारले नवौं खेलकुदको मिति सार्वजनिक गरेसँगै राखेपले प्रतियोगिताको वजेट सहितको कार्यविधि तयार गरेको थियो । लोगो, मस्कट र नारा निश्चित गरिसकेको थियो ।
प्रतियोगिता आउन दुई साताभन्दा कम समय बाँकी रहँदा कार्यविधि नआउनु र फाष्ट ट्र्याकमा वजेट कार्यान्वयन गर्न सरकारले स्वीकृति नदिएपछि प्रतियोगिता सारिएको हो ।
२०७६ वैशाख ११ गते नेपालगन्जमा आठौं राष्ट्रिय खेलकुदको समापनको दिन नै गण्डकी प्रदेशमा २०७७ फागुन २१ देखि २७ सम्म प्रतियोगिताको मिति निर्धारण गरिएको थियो । कोरोना महामारीका कारण निर्धारित मितिमा प्रतियोगिता आयोजना हुन नसक्दा एक वर्षका लागि सारिएको थियो । सदस्यसचिव परिवर्तन र अदालती चक्करका कारण सो मितिमा पनि प्रतियोगिता हुन सकेको थिएन ।
१० जेष्ठ २०७९, मंगलवार १७:१५ प्रकाशित