बाघले फेरी गर्‍यो आक्रमण: बाघसंगको लडाईमा जित हासिल गरे वकिलले
  • काँचुली खबर

बाँकेमा आइतबार बाघले फेरी एक स्थानीयमाथि आक्रमण गरेको छ । आइतबार दिउँसो १२ बजेको आसपासमा राप्तिसोनारी गाउँपालिका वडा नम्बर ७ झगडियाका एक स्थानीय बासिन्दामाथि बाघले आक्रमण गरेर घाइते बनाएको हो ।

बाघसंगको दोहोरो लडाईमा राप्तिसोनारी गाउँपालिका वडा नम्बर ७ झगडियाका २८ बर्षिय वकिल गद्दीले जित हासिल गरी नयाँ जीवन पाएका छन ।

स्थानीय मन्डफवा सामुदायिक वन उपभोक्ता समुहको जंगलमा दिउँसो १२ बजेतिर घासदाउरा खोज्न गएका बेला बाघले एक्कासी आफूमाथि आक्रमण गरेको घाइते वकिलले बताए ।

उनका अनुसार केही समयसम्म बाघसंग दोहोरो लडाई भयो । तत्पश्चात बाघले उनलाई भुइँमा पल्टायो र घाटीबाट रगत चुस्न थाल्यो । उनि बेहोस भए । घासदाउरा गर्न सङ्सङै गएका अन्य साथिहरुले होहल्ला गरेपछि बाघ त्यहाँबाट भागेको उनले बताए ।

बाघले उनको घाटीको अगाडी र पछाडी दुबैतिर प्वाल पारेको छ । स्थानीयको सहयोगमा अहिले उनको भेरी अस्पताल नेपालगन्जको आकस्मिक कक्षमा उपचार भईरहेको छ । अस्पताल पुगेपछि मात्र उनको होस खुलेको स्थानीयले बताए ।

राप्तिपारीको सो क्षेत्रमा हालसम्म ४ जना र राप्तिवारी १ जना गरी ५ जना स्थानीय बासिन्दाले बाघको आक्रमणबाट ज्यान गुमाइसकेका छन । हिजो मात्रै राप्तिसोनारी गाउँपालिका वडा नम्बर ६, टेपरीका ६० बर्षिय धन बहादुर चलाउनेको बाघको आक्रमणबाट ज्यान गएको थियो ।

गत कार्तिक २७ गते नरैनापुर ४, पण्डितपुरुवाका ४१ बर्षिय लखन गडरिया, पुस २३ गते राप्तिसोनारी ४ का ५२ बर्षिया लिला बिष्ट, २४ गते राप्तिसोनारी ६ का ३० बर्षिया चादनी थारु र केही महिना पहिले राप्तिसोनारी १ राप्तिभेरी होटल गाभरमा काम गर्ने ५१ बर्षिय भारतीय नागरिकको बाघको आक्रमणबाट ज्यान गैसकेको छ भने कैयौं व्यक्तिमाथि सो बाघले आक्रमण गरिसकेको छ ।

केही समय पहिले चितवन राष्ट्रिय निकुञ्जबाट आएको प्राबिधिकसहितको बाघ नियन्त्रण टोलीले दुईवटा हात्तिसहित उक्त जंगल क्षेत्रमा दुईवटा राँगो लगेर राखेर बाघको खोजी गरेपनि सो टोलीले बाघ भेटाएको थिएन ।

शनिबारदेखि फेरी बाँके राष्ट्रिय निकुञ्ज कार्यालय, डिभिजन वन कार्यालय बाँके र राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाको संयुक्त प्राबिधिक टोलीले सो नरभक्षी बाघको खोजि गरिरहेको डिभिजन बन कार्यालय बाँकेले जनाएको छ ।

  • ८ फाल्गुन २०७८, आईतवार १५:१४ प्रकाशित
  • Nabintech