बढ्दै गएको कोरोना नियन्त्रणका लागि उत्प्रेरित गर्ने उद्धेश्यका साथ बाँके युनेस्को क्लबले खजुराका महिला स्वयंसेविकाहरुलाई अभिमुखिकरण गरेको छ ।
प्लान इन्टरनेसनल नेपालको आर्थिक तथा प्राबिधिक सहयोगमा बाँके युनेस्को क्लबद्धारा संचालित कोभिड १९ रोकथाम तथा पुनस्र्थापना परियोजना अन्तरगत खजुरा गाउँपालिका वडा न. १ र २ का महिला स्वयमसेविकाहरुलाई १ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ ।
कोविड-१९ को तेस्रो लहरको रोकथाम तथा खोप लगाउन गाउँघरमा गएर उत्प्रेरित गर्ने उद्देश्यले अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अली सिद्दिकीले बताए ।
उनले खजुरा गाउँपालिकाको सबै घरधुरीमा महिला स्वयमसेविकाहरुलाई परिचालन गरि घरदैलो कार्यक्रम गरेर कोरोना नियन्त्रण सम्बन्धि सचेतना फैलाउने तथा खोप लगाउन सबैलाई उत्प्रेरित गर्ने उद्देश्य रहेको बताए ।
खजुरा गाउँपालिकामा १८० जना महिला स्वयमसेविकाहरुलाई परिचालन गरि कोविड-१९ को तेस्रो लहरको रोकथाम तथा खोप लगाउन उत्प्रेरित गर्ने, पोस्टर र फ्लायर मार्फत सचेतीकरण गर्ने योजना रहेको छ ।
खजुरा गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख सुदिप पौडेलले अभिमुखिकरणको सहजीकरण गर्दै कोभिड संक्रमण तिव्र गतिमा फैलिरहेकोले स्वास्थ्य मापदण्डको पालना र हरेक नागरिकले आवश्यक सबै खोप लगाउन महिला स्वयंसेविकाको भूमिका अहम हुने बताए ।
सोही योजना अन्तर्गत शुक्रवार पहिलो चरणको अभिमुखीकरण कार्यक्रममा २७ जना महिला स्वयमसेविका, स्वास्थ्य चौकीका इन्चार्ज दिपक ढकाल लगायतको उपस्थिति रहेको बाँके युनेस्को क्लबका परियोजना अधिकृत अनुप बर्माले जानकारी दिए ।
१५ माघ २०७८, शनिबार १०:०२ प्रकाशित