‘माओवादी लुम्बिनी अध्यक्ष अझै कोहि बनेको छैन’ – आइपी खरेल
  • काँचुली खबर

नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश अध्यक्ष अझैसम्म कोहि नबनेको माओवादी केन्द्र बाँके संयोजक तथा लुम्बिनी प्रदेश सभा सदस्य आइपी खरेलले जानकारी दिएका छन ।
माओवादीले प्रदेश अध्यक्ष बनाइसकेको भनेर विभिन्न मिडियामा आएका समाचारहरु निराधार र प्रायोजित भएको उनले बताएका छन ।
काँचुलीखबरसंग कुरा गर्दै उनले माओवादीको प्रदेश अध्यक्ष अझै कोहि नबकेको जानकारी गराएका हुन । ‘प्रदेश समितिको बैठक बसेको छैन, प्रक्रियामा गएको छैन । बैठक नै नभई कोही अध्यक्ष भयो भनेर केही मिडियामा आएका कुरा फर्जी र प्रायोजित हुन ।’ उनले भने ।
‘ज्येष्ठ सदस्यको अध्यक्षतामा समितिको पहिलो बैठक बसी नेतृत्व र पदाधिकारी टुंगो लगाइन्छ तर बैठक नै नबसी प्रक्रियामै नपुगी कोहि पनि अध्यक्ष हुदैन, यी हल्ला मात्र हुन ।’ खरेलले भने ।
माओवादीले गत मङ्सिर २५ र २६ गते दाङको भालुबाङमा पहिलो प्रदेश अधिवेशन सम्पन्न गरेको थियो । अधिवेशनले २ सय १७ सदस्यीय समिति निर्विरोध निर्वाचित गरेको थियो । उक्त समितिमा खरेल पनि रहेका छन ।
प्रदेश समितिको बैठकले पदाधिकारी टुंगो लगाउने बताइएको छ । अध्यक्ष एक, उपाध्यक्ष तीन, सचिब एक, उपसचिव ३ र कोषाध्यक्ष १ गरी ९ सदस्यीय पदाधिकारी बन्नेछ ।

  • २ पुष २०७८, शुक्रबार ०९:५३ प्रकाशित
  • Nabintech