प्युठानमा एमाले र कांग्रेसका सयौं कार्यकर्ताहरु पार्टी परित्याग गरेर माओवादी केन्द्रमा प्रवेश गरेका छन ।
प्युठानको माण्डवी गाउँपालिकाका २ सयबढी एमाले र कांग्रेसका कार्यकर्ताहरु शनिबार माओवादी केन्द्रमा प्रवेश गरेको माओवादी पालिका अध्यक्ष बलबहादुर केसीले जानकारी दिए ।
केसीका अनुसार, एमालेबाट माण्डवी गाउँ कार्यपालिकाको सदस्यमा मनोनित टेकबहादुर कामी, २०७४ को स्थानीय निर्वाचनमा एमालेबाट सदस्य पदका उम्मेदवार सुशिला घर्ती लगायतका युवाहरु माओवादी प्रवेश गरेका छन ।
माओवादीमा प्रवेश गरेकाहरुलाई लुम्बिनी प्रदेश आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले अबिर माला लगाएर स्वागत गरेका थिए ।
त्यसैगरी, सम्मेलनकै अवसरमा गौमुखी गाउँपालिकामा पनि एमाले र कांग्रेसका कार्यकर्ताहरु माओवादी प्रवेश गरेको पालिका इन्चार्ज महावीर रानाले जानकारी दिए ।
हरी केसीको नेतृत्वमा एमालेबाट र खगेश्वर गिरीको नेतृत्वमा कांग्रेस पार्टी परित्याग गरेर ३१ जना माओवादीमा प्रवेश गरेका छन । नवप्रवेशीहरुलाई माओवादी जिल्ला इन्चार्ज नारायण अधिकारीले स्वागत गरेका थिए ।
माओवादी केन्द्रको पालिका सम्मेलनको अवसरमा उनिहरु पार्टी प्रवेश गरेका हुन ।