दाङ प्रहरीले प्रतिबन्धित बन्यजन्तु (अखेटोपहर) बाघको छालासहित दाङको घोराहीबाट दुई जनालाई नियन्त्रणमा लिएको छ ।
घोराही उपमहानगरपालिका वडा नम्बर १६ गरुवा चोकबाट आइतबार उक्त छालासहित राजपुर गाउँपालिका वडा नम्बर ६ का ३८ बर्षिय सुर्यबहादुर चौधरी र तुलसीपुर उपमहानगरपालिका ५ रानीजरुवाका ३१ बर्षिय महेन्द्र खड्कालाई नियन्त्रणमा लिएको दाङ प्रहरीले जनाएको छ ।
सुर्यबहादुर चौधरीले चलाई ल्याएको रा ३ प २६६ नम्बरको मोटरसाइकललाई शंका लागि रोकेर चेकजाँच गर्ने क्रममा मोटरसाइकलको पछाडि बसेका महेन्द्र खड्काले हातमा समातेको कालो रंगको ब्यागभित्र लुकाई राखेको अबस्थामा प्रतिबन्धित बन्यजन्तु बाघको जस्तो देखिने टाटेपाटे रंगको छालासहित उनिहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
उनिहरुको साथबाट प्रहरीले टाउको देखी पुच्छर सम्म ८ फिट २ ईन्च लम्बाई र १ फिट ८ ईन्च चौडाई भएको बाघको छाला एक थान, सिल्भर रङ्गको रेडमी नोट १ मोबाइल एक थान, सादा मोबाईल एक थान र उनिहरु सवार रा ३ प २६६ नम्बरको मोटरसाइकल नियन्त्रणमा लिएको छ ।
प्रहरीले उनिहरुलाई आइतबार नियन्त्रणमा लिएपनि आज सार्वजनिक गरेको हो । पक्राउ परेकाहरुका बारेमा थप अनुसन्धान गरिरहेको दाङ प्रहरीले जनाएको छ ।
६ मंसिर २०७८, सोमबार २०:०५ प्रकाशित