नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आज आह्वान गरेको नेपाल बन्दका क्रममा बाँकेका विभिन्न स्थानबाट प्रहरीले नियन्त्रणमा लिएका ४ जना बन्दकर्तालाई बेलुका रिहा गरेको छ ।
बन्दको अवज्ञा गरेको भन्दै सडकमा गुडिरहेका ई-रिक्सा र मोटरसाइकलका साँचोहरु जबर्जस्ति थुतिरहेको अवस्थामा बिहान बाँकेको नेपालगन्जबाट एकजना र दिउँसो कोहलपुरबाट तीनजना बन्दकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
नियन्त्रणमा लिएकाहरुलाई दिनभर राखेर बेलुका सबै चारैजनालाई रिहा गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक खिमबहादुर घर्तीले जानकारी दिए ।
बन्दकर्ताहरुले दिउँसो नेपालगन्जमा मूल्य वृद्धिको बिरोध गर्दै र बन्दलाई सफल पार्न आव्हान गर्दै सरकार बिरोधि चर्को नारा जुलुस निकालेका थिए ।
बन्दका क्रममा जिल्लामा कुनै पनि अप्रिय घटना नघटेको प्रहरीले जनाएको छ । भारतबाट नेपाल भित्रीएका पेट्रोलियम पदार्थ बोकेका दर्जनौं ट्यांकरहरुलाई प्रहरीले स्कटिङ गरेर सम्बन्धित ठाउँसम्म पुर्याएको थियो ।
बन्दका क्रममा बाँकेका विभिन्न स्थानका बजारहरु आंशिक रुपमा खुलेका थिए । लामो दुरी र छिटो दुरीका सार्वजनिक सवारी साधनहरु ठप्प थिए भने निजी सवारी साधनहरु छिट्फुट रुपमा चलेका थिए । ई-रिक्सा र मोटरसाइकलहरु पनि कमै मात्रामा चलेका थिए । त्यसैगरी, बिद्यालय पुर्ण रुपमा बन्द रहे भने उद्योग कलकारखाना केही मात्रामा चलेका थिए ।
३० कार्तिक २०७८, मंगलवार १९:३४ प्रकाशित