राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को प्रदेश अधिवेशन सम्पन्न भएको छ । आइतबार सातवटै प्रदेशको एकैसाथ सुरु भएको अधिवेशनबाट ७ वटै प्रदेशको नेतृत्व चयन गरिएको छ ।
लुम्बिनी प्रदेशको अध्यक्षमा प्रदीपकुमार उदय विजयी भएका छन । सोमबार भएको निर्वाचनमा बाँकेका ऋषिराज देवकोटालाई पराजित गर्दै रुपन्देहीका उदय विजयी भएका हुन । उदयले २ सय ५६ मत प्राप्त गरे भने देवकोटाले १ सय ९४ मत प्राप्त गरेका थिए ।
अध्यक्षमा पराजित देवकोटाले फेसबुक मार्फत विजयी उदयलाई बधाई ज्ञापन गरेका छन साथै उनले प्रदेश पार्षदहरुप्रति आभार व्यक्त गरेका छन ।
उनले लेखेका छन ‘पार्टीको आन्तरिक प्रतिस्पर्धा प्रजातन्त्रको सौन्दर्य हो । मित्र प्रदिप उदयलाई हार्दिक बधाई तथा प्रदेश अधिबेशनमा उपस्थित नेतागण लगायत मेरा प्यारा आदरणीय प्रदेश पार्षद ज्युहरुप्रति धेरै-धेरै अभारी छु । पार्टीप्रतिको सक्रियतामा अझै उच्च मनोवलका साथ लाग्नेनै छु ।’
त्यसैगरी, प्रदेश १ मा भक्ति सिटौलालाई पराजित गर्दै राम थापा अध्यक्षमा निर्वाचित भएका छन् । यस्तै गण्डकी प्रदेशमा मदन बहादुर कार्कीलाई पराजित गर्दै हेमजङ्ग गुरुङ निर्वाचित भएका छन् भने प्रदेश दुईमा भरत गिरी अध्यक्ष चयन भएका छन् ।
यसैगरी बागमती प्रदेशमा विक्रम बहादुर थापा, कर्णाली प्रदेशमा दीपबहादुर शाही र सुदुर पश्चिम प्रदेशमा धर्मराज जोशी सर्वसम्मत अध्यक्ष चयन भएका छन ।
राप्रपाले आइतबार एकैदिन सातवटै प्रदेशको अधिवेशन आयोजना गरेको थियो । पहिलोपटक सक्रिय सदस्यबाट महाधिवेशन प्रतिनिधि चयन गरेर राप्रपाले मंसिर ११, १२ र १३ गते काठमाडौंमा महाधिवेशन गर्दैछ । कार्तिक ३, ४ र ५ गते राप्रपाका महाधिवेशन प्रतिनिधि छनौट हुने कार्यतालिका रहेको छ ।
२९ कार्तिक २०७८, सोमबार १९:३० प्रकाशित