तिहारको मुख्य दिन, भाइटिका । हिन्दु नेपालीहरुले आज हर्षोल्लासपूर्वक आफ्ना दिदीबहिनीका हातबाट सप्तरंगी टीका लगाउँदैछन । दिदीबहिनी नहुनेले काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा पुगेर टीका लगाउँछन ।
यमपञ्चकको पाँचौंँ दिन भाइटीकामा दिदीबहिनीले दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाकासाथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परानुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाइदिन्छन । दिदीबहिनीले दाजुभाइलाई सप्तरंगी टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टिका लगाइदिने परम्परा छ ।
दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता छ । आज भाइटीका लगाइदिनेले पूर्व र टीका ग्रहण गर्नेले पश्चिम फर्किएर लगाउँदा शुभ हुने शास्त्रीय मान्यता छ । भाइटीकाको टीका आज दिनभर लगाउन कुनै बाधा नभए पनि उत्तम साईत बिहान ११ बजेर २ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य सचिव सूर्यप्रसाद ढुंगानाले जानकारी दिए ।
लक्ष्मीपूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी मूल थालीमा लेखिएको अष्टदलमा मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्टचिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराज, गणपत्यादि वनस्पत्यन्त देवताको समेत पूजाराधना गरी दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्परा अनुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री वा गोदावरीलगायतका फूलका माला लगाइदिने परम्परा छ ।
टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला एवं सेलरोटी लगायतका खानेकुरा दिने र दाजुभाइले पनि दिदिबहिनीलाई गच्छे अनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक एवं सामाजिक परम्परा रहि आएको छ ।
२० कार्तिक २०७८, शनिबार ०६:४८ प्रकाशित