छात्राबासमा बसेकी १७ वर्षीया छात्रालाई यौन दुर्ब्यबहार गरी आत्महत्या गर्न बाध्य बनाएको भन्दै बाँकेको एक विद्यालयका प्रिन्सीपलमाथी आत्महत्या दुरुत्साहनको मुद्धा दर्ता भएको छ । बैजनाथ गाउँपालिका चिसापानीस्थित दिप ज्योती सेकेन्डरी स्कुलका प्रिन्सीपल दमन पाण्डेबिरुद्ध ईलाका प्रहरी कार्यालय कोहलपुरमा आत्महत्या दुरुत्साहन मुद्दा दर्ता भएको हो ।
उक्त घटनाको अनुसन्धानका लागि प्रहरीले पाण्डेलाई पक्राउ गरी अदालतबाट म्याद थप गराई सकेको कोहलपुर प्रहरी प्रमुख डिएसपी रबीन्द्र खनालले जानकारी दिए ।
एक साताअघि बैजानाथ गाउँपालिका गाभरकी एलिशा शाह घरमै मृत अवस्थामा भेटिएकी थिईन । १७ वर्षीया शाहको मोबाईलमा प्रिन्सपल पाण्डेले पठाएको अश्लिल एसएमएस भेटिएको छ ।
पाण्डेले आर्थिक प्रलोभनमा पारी नाबालिकालाई यौन दुर्ब्यबहार गरेको आरोप पीडित पक्षको छ । घटनापछि आक्रोशित भएका स्थानीयहरुले शुक्रबार बिद्यालयमै पुगेर दुंगामुढा गरेका थिए ।
पिडित पक्षले ईलाका प्रहरी कार्यालयमा शुक्रबार प्रिन्सीपल पाण्डेबिरुद्ध जाहेरी दिएलगत्तै उनलाई पक्राउ गरी अनुसन्धान अघि बढाईएको डिएसपी खनालले बताए ।
२४ आश्विन २०७८, आईतवार ०९:५३ प्रकाशित