पूर्ण रुपमा संचालनमा आयो जमुनाह नाका
  • काँचुली खबर

फाईल तस्बिर ।

 

पश्चिम नेपालको ठुलो तथा महत्वपूर्ण नाका (जमुनाह) आईतबारदेखी पूर्ण रुपमा संचालनमा आएको छ । कोरोना महामारीका कारण केही समयदेखी बन्द रहेको जमुनाह नाकामा लगाइएको रोक पूर्णरुपमा हटेको हो ।

नाका खुलेसँगै नेपाली नम्बर प्लेटका गाडीहरु रुपैडिया जान र भारतीय नम्वर प्लेटका प्राइभेट सवारी साधन पनि आउन दिइएको जमुनाह प्रहरीले जनाएको छ ।

नाका सुचारु हुँदा दुवै देशका नागरिकहरुले खुसी भएका छन् । सहज तरिकाले आउजाउ गर्न पाइने भएपछि उनीहरु खुसी भएका हुन् ।

कोरोना प्रभावपछि भारतीय सवारी नेपाल प्रवेश र नेपाली सवारी भारत प्रवेशमा रोक लगाउँदै आइएको थियो । विगतमा खाद्यान्न लगायतका सामग्री बोक्ने सवारी साधन निर्वाध रुपमा सञ्चालन भएपनि निजी गाडी नेपाल प्रवेशमा भने रोक लगाइएको थियो ।

नेपालगन्ज भन्सार कार्यालयका प्रमुख जयबहादुर भण्डारीले आजदेखि भन्सार नाका पूर्ववत अवस्थामा सुचारु भएको जानकारी दिए ।

सरकारको निर्णय अनुसार नाका सुचारु भएको उनको भनाइ छ । यसअघि नाकामा पैदलयात्रुलाई आउजाउ गर्न मात्र दिइएको थियो ।

नाका खुलेपनि भारतबाट आउने नागरिकको हटमा भने ७२ घण्टे पीसीआर रिपोर्ट अनिवार्य गरिएको छ ।

गत ११ गते बसेको संघीय मन्त्री परिषद्को बैठकले विभिन्न मापदण्ड पुरा गरेर भारतीय नीजि सवारीलाई नेपाल प्रवेश गर्न दिने निर्णय गरेको थियो । सोही निर्णय अनुसार जमुनाह नाका भएर पनि सवारी साधन संचालनको अनुमति दिने निर्णय भएको हो ।

  • १७ आश्विन २०७८, आईतवार १८:०९ प्रकाशित
  • Nabintech