विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीले राप्तीसोनारी गाँउपालिका कार्यालयमा एक घण्टा धर्ना दिएको छ । मंगलबार पार्टीका बाँके जिल्ला संयोजक अनिलको नेतृत्वमा गाँउपालिका कार्यालयको गेटमा एक घण्टा घर्ना गरीएको हो ।
राप्तीसोनारी गाँउपालिका अन्तर्गत पर्ने विभिन्न नदिबाट बवैध रुपमा नदिजन्य सामग्री उत्खनन गर्ने कार्य नरोकीएको भन्दै नेकपाले विरोध स्वरुप धर्नाको कार्यक्रम आयोजना गरेको पार्टीले जनाएको छ । विभिन्न नदिबाट उत्खनन् गरी अबैध रुपमा भण्डारण गरीएका नदीजन्य सामाग्रीको व्यवस्थापनमा सम्बन्धित निकायले कुनै चासो नदेखाएको भन्दै गाउपालिका कार्यालयमा धर्ना दिएको बताईएको छ । नेपाल कम्युनिष्ट पाटी राप्ती सोनारी इकाई कमिटिको आयोजनामा मंगलबार बिहान ११ बजेदेखि अपरान्ह १२ बजेसम्म पालिका कार्यालयमा शान्तिपूर्ण तरिकाले धर्ना दिएर विरोध जनाएको जिल्ला कमिटि सदस्य दिपक बुढाथोकीले जानकारी दिए ।
नेपाल कम्युनिष्ट पार्टीले सम्बन्धित निकायलाई यस विषयमा संवेदनशील बन्न आग्रह गर्दै जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय र राप्ती सोनारी गाउपालिकामा ज्ञापन पत्र बुझाएको लामो समय वितिसक्दा पनि नियामक निकाय मौन देखिएपछि दवाव स्वरुप धर्ना दिएको जिल्ला कमिटि सदस्य बुढाथोकीले बताए । उनका अनुसार यस विषयलाई तत्काल जनताको चाहना बमोजिम सम्बोधन नगरेको खण्डमा जनताहरुको सहयोगमा शान्तिपूर्ण तरिकाले कडा आन्दोलन तथा विरोधका कार्यक्रमहरु गरिनेछ ।
केहीसमयम पहिले नेकपा पार्टीका जिल्ला सेक्रेटरी अनिलले पत्रकारहरुसँगको भेटघाटमा जिल्लाको राप्तीसोनारी अन्र्तगत राप्ती नदी लगाएतका अन्य खोलामा लाभदायी ब्यक्ती तथा उत्खननको ठेक्का पाएका कम्पनीहरुले सम्झौता भन्दा बढि परिमाणमा नदीजन्य सामाग्री उत्खनन गरेर राज्यको सम्पत्तीमाथि चरम दोहन भइरहेको बताएका थिए । सत्ता र शक्तिको बलमा खोला किनार वरिपरी राखिएका ढुङ्गा, गिट्टी, वालुवा अविलम्व जनताको सम्पत्ती घोषणा गर्न राप्ती सोनारी गाउपालिकासँग माग गर्दै नेकपाले यस विषयलाई लिएर जिल्ला प्रशासन कार्यालय बाँके, जिल्ला समन्वय समिति बाँके, वन डिभिजन कार्यालय बाँकेलाई समेत ध्यानाकर्षण गराएको जानकारी दिएका थिए ।
१ भाद्र २०७८, मंगलवार १६:०६ प्रकाशित