तालिबानले सबै सरकारी अधिकारीहरुलाई आममाफी दिने घोषणा गरेको छ । तालिबानले पूर्ण मनोबलका साथ काममा फर्किन सबैलाई आग्रह पनि गरेको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै तालिबानले यस्तो बताएको हो ।
अन्तर्राष्ट्रिय समाचार एजेन्सी एएफपीले तालिबानलाई उद्धृत गर्दै उल्लेख गरेको छ, ‘सबैका लागि आममाफीको घोषणा गरिएको छ । त्यसैले तपाईँहरुले आफ्नो दैनिक काम पूर्ण मनोबलका साथ सुरु गर्न सक्नुहुन्छ ।’
अफगानिस्तानलाई तालिबानले कब्जामा लिएसँगै अफगानिस्तानका मानिसहरुमा अहिले डर तथा आशंका देखिएको छ । यस्तो अवस्थामा तालिबानले सरकारी अधिकारीलाई आममाफीको घोषणा गरेको हो ।
तालिबानले यसअघि सरकार र पश्चिमा मुलुकको संस्थामा काम गरेका अधिकारीलाई लक्षित गरी आक्रमण गर्न सक्ने आशंका मानिसहरुमा थियो । तालिबानले निकै बर्बर सजाय दिने गरेको र युद्ध अपराध गरेको आरोप लाग्दै आएको छ । यद्यपि तालिबानले भने यसलाई अस्वीकार गर्दै आएको छ ।
१ भाद्र २०७८, मंगलवार १३:१८ प्रकाशित