नदीजन्य पर्दाथको अबैध उत्खनन् रोक्न नेकपा बाँकेको माग
  • काँचुली खबर

विप्लव नेतृत्वको नेपाल कम्प्युनिष्ट पार्टी बाँकेले मापदण्ड विपरित नदिजन्य पदार्थको अबैध उत्खनन् रोक्न माग गरेको छ । बाँकेको राप्ती सोनारी गाउँपालिका अन्तरगत राप्ती खोला किनार वरिपरी मापदण्ड विपरित ढुंगा, गिट्टी र बालुवा उत्खनन भैरहेको प्रति पार्टीको ध्यानाकर्षण भएको भन्दै अवैध रुपमा उत्खनन् रोक्न माग गरेको हो ।

आईतबार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गर्दै नेकपा बाँकेले नदिजन्य सामग्री उत्खनन्को अनुमती लिएका ठेकेदार कम्पनीहरुले सम्झौता बिपरीत कैयौं गुणा बढि परिमाणमा ढुंगा, गिट्टी र बालुवा उत्खनन् गरिरहेको जनाएको हो ।

राज्यको सम्पत्तिमाथि चरम दोहन गरेको तथ्य प्रमाणित भएकाले उक्त नदीजन्य बस्तु जनताको सम्पतिका रुपमा घोषणा गर्न माग गर्दै पार्टीले प्रेस वक्तव्य जारी गरेको नेपाल कम्प्युनिष्ट पार्टी बाँकेका सेक्रेटरी अनिल खड्काले बताए ।

राप्तीसोनारी गाउँपालिका, अन्तर्गतका राप्ती नदी लगायत विभिन्न ठाउमा राखिएका नदीजन्य बस्तु स्थानिय सरकारले आफ्नो स्वामित्वमा लिएर जनता सम्पतिको रक्षा गनुपर्ने बताउँदै खड्काले आफ्नो पार्टीले उठाएको मुद्धाको उचित सुनुवाई नभएर संघर्षमा उत्रने बताए । उनले राप्तीसोनारी गाउँपालिका, जिल्ला प्रसशान कार्यालय बाँके, जिल्ला समन्वय समिति कार्यालय बाँके र डिभिजन बन कार्यालय बाँकेका विरुद्ध थप संघर्षका कार्यक्रमहरु सार्वजनिक गर्ने तयारीमा रहेको समेत जानकारी दिए ।

आफ्ना मागहरु साउन महिना भित्र पुरा नगरे संघर्षका कार्यक्रम गर्न बाध्य हुने वक्तव्यमा उल्लेख गरिएको छ । कोरोनाको भ्याक्सिनसमेत सत्ता र शक्तिको दुरुपयोग गरिएका तथ्यहरु सार्वजनिक भईरहेको बताउँदै देश दुशासनको डरलाग्दो चक्रव्यूहमा फसिरहेको नेकपा बाँके जिल्ला ईञ्चार्ज दिपक चलाउनेले बताए । अग्रगमन सहितको समृद्धि र समृद्धि सहितको शान्ति मात्रै वास्तविक स्थायित्व र विकासको आधार भएकाले जनताको भावनालाई आत्मासाथ गरि काम गर्न सबैलाई सुझाव समेत दिएका छन् । स्थानिय सरकारमा देखिएको घुषखोरी, भ्रष्टाचारका बारेमा समेत आफुहरुले खबरदारी गरीरहेको चलाउनेले बताए ।

  • २५ श्रावण २०७८, सोमबार १७:४८ प्रकाशित
  • Nabintech